भक्तपुर– भक्तपुरको गाम्चामा निसासिएर तीन महिने शिशुको मृत्यु भएको छ।
सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको हो।
हिजो शनिबार बेलुका खाना खाएर आगो तापी सुतेकोमा बिहान अबेरसम्म पनि नउठेकोले स्थानीय र प्रहरीले झ्यालबाट हेर्दा अचेत अवस्थामा अभिषेकसहित उनकी श्रीमती पसुना तामाङ र शिशु अचेत अवस्थामा फेला परेका थिए।
उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। अभिषेक र उनकी श्रीमतीको उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ।