सर्लाही- सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन्। हरिवन नगरपालिका-८ पुरानो बजारस्थित भित्री सडकमा पाँच किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
वागमती नगरपालिका-१२ का ३८ वर्षीय रुद्रबहादुर अधिकारी र उनकी श्रीमती ३० वर्षीया ऋचा अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा कालो प्लास्टिकको झोलाभित्र गाँजा बोकी पश्चिमबाट पूर्वतर्फ ल्याइरहेको अवस्थामा अधिकारी दम्पतिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
इलाका प्रहरी कार्यालयय हरिवनबाट नियमित गस्तीमा खटिने मोबाइल टोलीलाई राति शंका लागेको आधारमा मोटरसाइकल चेकजाँच गर्दा ऋचाको हातमा रहेको झोलाबाट गाँजा बरामद भएको हो। गाँजासहित पक्राउ परेका अधिकारी दम्पतीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।