मंगलबार, कात्तिक ३, २०८३

कापुचे कलायात्रा : कुचि चोप्‍न नभ्याउँदै आइस बन्थ्यो पानी

प्रकृतिको अनुपम उपहारमध्येको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

काठमाडौं-  प्रकृतिको अनुपम उपहारमध्येको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्।

धेरैजसो समय काठमाडौं र यस आसपासका प्राकृतिक, पुरातात्विक र ऐतिहासिक विषयलाई क्यान्भासमा कैद गर्ने कलाकार पुण्यराम माताङ र लक्ष्मीप्रसाद खोतेजाले यसपालि कापुचेले तानेर त्यहाँ पुर्‍याएको बताए। यसअघि उनीहरुले मार्दीमा पुगेर त्यहाँका हिमशृङ्खला समेटेर चित्र बनाएकाे वर्ष नबित्दै अर्काे महत्वपूर्ण यात्रा तय गरे।

कापुचे ताललाई समुन्द्र सतहबाट सबैभन्दा तल्लो ठाउँमा रहेको हिमतालका रुपमा चिनिन्छ। ‘उक्त ताल र वरपरका दृश्यलाई क्यान्भासमा उन्दा नौलौ अनूभूति मिलेको छ’, उनले भने, ‘रङमा कुचि चोप्न नभ्याउँदै आइस बन्थ्यो पानी, क्यान्भासमा दुरुस्त रङ भर्न हम्मेहम्मे भयो, त्यो क्षणको अनुभूति शब्दमा भन्न सकिँदैन, स्वर्गको टुक्रामा बसेर कला सिर्जना गरेको महसुस भयो।’

आइतबार बिहान पुग्दा ताल बरफमा परिणत भएको थियो। घामका किरणको स्पर्शपछि बिस्तारै फैलिन थाल्थ्यो। कलाकारले बोतलमा आइस हालेर पानी बनाई कला सिर्जना गरेको उनीहरुले सुनाए।

कापुचे ताल उदीयमान पर्यटकीय गन्तव्य र नयाँ पदमार्गका रुपमा विकास भएको क्षेत्र हो। कास्की जिल्लाको उत्तर–पूर्वमा पर्ने यो ताल पोखराबाट प्रकृतिसँग रम्दै छोटो समयमा पुग्न सकिने रमणीय क्षेत्र हो। समुन्द्र सतहबाट दुई हजार ५४६ मिटरको उचाइमा रहेको कापुचे पर्यटकीय क्षेत्र सिक्लेसबाट ६ घन्टाको पैदल यात्रामा पुगिन्छ। त्यहाँ पुग्दा लाग्ने थकान दृश्यावलोकनपछि सबै मेटिन्छ।

त्यस वरपरका दृश्यले निकै लोभ्याउने कलाकार माताङले बताए। ‘अनि त्यसैको काखमा बसेर क्यान्भासमा दृश्य उतार्न कम्ता मजा भएन’, उनले भने।

कापुचेको अर्थ झरेको बरफ हो। नामअनुसारको दृश्य पनि सजिलै देख्न सकिन्छ यहाँ। हिउँले ढाकिएको पहाडको बीचमा पर्ने यो तालमा बेलाबेलामा हिमपहिराेले आकर्षण थप्छ। यसपालि शनिबारीय चित्रकला कार्यशालाका सक्रिय सदस्य यी दुई कलाकार कापुचे कलायात्रा पूरा गरेर फर्किएका हुन्। शनिबार र आइतबार दुई दिनको यात्रामा सिक्लेसबाट उनीहरुले अन्नपूर्ण दोस्रोको सुनौलो दृश्यलाई पनि क्यान्भासमा उतारेका छन्।

कलाकारका अनुसार जानलाई केही चुनौती भयो। साँघुरो बाटो, भिर, पाखाका बुट्यान समाउँदै पुगिने त्यहाँका झरना, खोलालगायत पहाडी र हिमाली प्राकृतिक सौन्दर्यले बाटोको थकान सबै मेटिएको उनीहरुले सुनाए। ‘बेलाबेलामा हिउँ खस्ने र त्यसबाट मेघ गर्जे झैँ निस्कने रहेछ, राति त्यस्तै आवाज आयो, ल पानी पर्ने भयो, चित्र सिर्जना गर्न नपाइने भयो भन्ने चिन्ता थियो आखिर त्यो मेघ नभएर हिउँ खसेको आवाज रहेछ, हामीलाई समयले पनि साथ दियो, अभियान सफल बनाएर आयौँ’, माताङले भने।

गएको शुक्रबार काठमाडौँबाट हिँडेको दुई सदस्यीय कलाकार टोली शनिबार र आइतबार त्यहाँको दृश्य क्यान्भासमा कैद गरेर सोमबार काठमाडौँ आइपुगे। अन्य बाँकी कलाकारले काठमाडौँकै विभिन्न क्षेत्रमा चित्र सिर्जना गरेका थिए। विगत तीन वर्षदेखि शनिबारीय चित्रकला कार्यशाला अभियानका संयोजक दिवेश प्रधानले सुन्दर तर चुनौतीका बीच कार्यशालामा सहभागी भएर आएकाले दुवैलाई सम्मानसमेत गरेको बताए। कापुचे पुगेका दुईसहित चन्द्रा श्रेष्ठलाई ललितकला मञ्च नेपालले शुक्रबार सम्मान गरेको थियो।

प्रधानको संयोजकत्वमा शनिबारीय कला कार्यशाला जारी छ। सोही अभियानअन्तर्गत दुई कलाकार प्रकृतिसँग रमाउँदै खुला आकासभित्रका दृश्यलाई क्यान्भासमा कैद गर्न पोखराको विकट तर रमणीय क्षेत्र कापुचे पुगेका हुन्।

संयोजक प्रधानका अनुसार अभियानकै क्रममा अब प्लेन एयर कन्भेन्सन, प्रतिस्पर्धात्मक चित्रकला कार्यशाला, प्लेन एयर टकलगायतका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ। उनले यस अभियानअन्तर्गत कालापत्थरमा पुगेर चित्रकला कार्यशाला गर्ने योजना रहेको पनि बताए।

‘कलामा समाजवाद ल्याउने हाम्रो उद्देश्य हो, अहिले एउटा कला प्रदर्शनी गर्दा कम्तीमा रु एक लाख खर्च हुन्छ, त्यसलाई हामी खर्चै नगरी सामान्य कलाकारले पनि सिर्जना गर्न र प्रदर्शनी गर्न सकोस् भनेर अघि बढिरहेका छौँ’, उनले भने।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ समाजवादीका अध्यक्ष कृपाराम धमलाले कलाकार सबैको साझा गहना भएकाले यस्ता कलाकारलाई राज्यले नै सम्मान गर्नुपर्ने बताउँछन्। ‘आस्था आफ्नो ठाउँमा होला तर पार्टीले मेरो र तेरो नभनी कलाकारलाई उत्तिकै सम्मान दिनु जरुरी छ’, उनले भने। -रासस


प्रकाशित: Jan 22, 2022| 16:20 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।