काठमाडौं- रियल मड्रिडमा ९ बर्ष बिताएका पूर्व फरवाडर क्रिष्टियानो रोनाल्डोले युभेन्टसमा जान पाएकोमा खुसी व्यक्त गरेका छन्। ३३ बर्षिया पोर्चुगली स्टार रोनाल्डोले सन् २००९ बाट रियलमा खेल्दै आएका थिए।
उनी २००९ मा म्यान्चेस्टर युनाईटेडबाट रियलमा आबद्ध भएका हुन। युभेन्टसमा खेलाडीको रुपमा सार्वजनिक गरिने कार्यक्रममा उनले भने, ‘यो क्लबमा करिअरको यो अवस्थामा आउन पाउँदा खुसी लागेको छ।’ उनले थपे, ‘आशा छ च्याम्पियन्स लिगमा इटालियन क्लबका तर्फबाट लक्कि स्टार बन्न सकुँ।’
‘मैले अरु कुनै प्रस्ताव स्वीकारेको छैन', उनले थपे। रोनाल्डोले रियल मड्रिडका लागि ४५० गोल गरे भने ४ पटक च्याम्पियन्स लिग र २ पटक ला-लीगा जिताएका छन्। ५ पटकको बलोन डि ओर विजेता रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरोकप समेत जिताएका थिए।
उनले भनेका छन् ‘म जित्न चाहन्छु, म उत्कृष्ट बन्न चाहन्छु। कसलाई थाहा छ र हुन सक्छ म अझै पनि बलोन डि’ओरबाट पुरस्कृत हुन सक्छु तर, सबैचिज प्राकृतिक रुपमा हुन्छ। यो जित्न म्यान्चेस्टर युनाइटेड र रियल मड्रिडमा कठिन थियो।’
युभेन्टस इटालियन फुटबल क्लबमध्ये सफल क्लब हो। उसले सिरिज ए ३४ पटक जितेको छ भने कोपा इटालियन १३ पटक जितेको छ। तरपनि, सन् १९९६ यता युभेन्टसले च्याम्पियन्स लिग जित्न सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४