काठमाडौं- फुटबल विश्वमा हेरिनेमध्येको एक प्रतियोगिता अफ्रिका कप अफ नेसन्स पनि हो। त्यहाँ खेल्ने धेरै खेलाडी युरोपियन क्लबमा खेल्ने भएकाले अन्तर्राष्ट्रिय मिडियाले पनि अफ्रिका अप अफ नेसन्समा ध्यान दिइरहेका हुन्छन्।
युरोपकै प्रतिष्ठित लिभरपुल, आर्सनल, म्यानचेस्टर सिटी, एसी मिलान, आयाक्स लगायत क्लबका खेलाडी अहिले विभिन्न देशबाट यो प्रतियोगिता खेलिरहेका छन्। अफ्रिकाको सबैभन्दा ठूलो फुटबल अफ्रिका कप अफ नेसन्स अहिले क्यामरुनमा आयोजन भइरहेको छ।
सन् १९५७ मा तीन देशहरू मात्र सहभागी बनेको प्रतियोगितामा सहभागी बन्नकालागि अहिले निकै पेचिलो छनोट पार गरेर मात्र पुग्न सकिन्छ।
कुल २४ टिम सम्मिलित प्रतियोगिता दुई संस्करणको विजेता अल्जेरियाका लागि भने सुखद रहेन। विश्वकै स्टार खेलाडी रियाद महरेजले नेतृत्व गरेको अल्जेरियाले समूह चरणबाटै घर फर्कनुपर्ने भयो।
प्रतियोगिताभर उसले एक गोल मात्र गर्न सक्यो। तीन खेलबाट एक अंक मात्र जोड्न सक्यो भने एक गोल गरेर चार गोल बोहोर्यो।
त्यसो त अल्जेरियाले प्रतियोगिताको खराब सुरुआत गरेको होइन। उनले पहिलो खेलमा नै रियरा लियोनसँग गोलरहित बराबरी खेल्यो। नतिजाका हिसाबले ठिक देखिए पनि उसले कमजोर टिमसँग नै बराबरी गर्यो।
त्यसपछि उसलाई खेल्नु थियो आइभोरी कोस्ट र इक्वेटोरियल गिनीसँग। अफ्रिकामा आइभोरी कोस्ट निकै बलियो टिमका रूपमा गनिन्छ भने इक्वेटोरियल गिनी भने औसत टिमका रूपमा हेरिन्छ।
तर उसले आफ्नो दोस्रो खेलमै गिनीसँग १–० गोलको हार बेहोर्यो। पहिलो हाफ बराबरीमा रोके पनि दोस्रो हाफमा गोल खाँदै अल्जेलियाले पहिलो हार बेहोर्यो। उसको अन्तिम खेल र त्यो हार खासै अप्रत्यासित थिएन।
आइभोरी कोस्टसँग पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोलको सामना गर्यो। खेलको ७३औं मिनेटमा गोल फर्काए पनि जितका लागि पर्याप्त भएन। त्यो ३–१ गोलको हारले अहिले अल्जेरिया कायल छ।
प्रतियोगिता सुरु हुनुअघि त्यहाँ उसको चार्म नै फरक र विशेष किसिमको थियो। साबिक विजेता थियो अल्जेरिया। तीन वर्षअघि उसले इजिप्टमा आयोजित कपको फाइनलमा सेनेगललाई हराएर उपाधि जितेको इतिहास पुरानो भइसकेको छैन। अफ्रिकन विजेता त्यही टिमको कप्तानी गरिरहेका महरेज प्रिमियर क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी थिए।
उनलाई हेनका लागि मात्र हजारौं फुटबल समर्थक मैदानबाहिर उपस्थित भएका छन्। रियादको नाम लिएरा हजरौं समर्थक चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका थिए।
त्यो भिडियोलाई ट्वीटर प्रोफाइलमा सेयर गर्दै रियादले आशीर्वाद पाएको महसुस गरेको प्रतिक्रिया दिएका थिए। यसरी महरेजको जारी प्रतियोगिता सुर भएको थियो।
जब अल्जेरियाको फुटबल टिम एउटा सपना लिएर क्यामरुन जाँदै थियो– त्यतिबेला उसले ३४ खेलको खेलकै अपराजित यात्रा गरेको थियो। र, यात्रा सकिएको थिएन। सर्वाधिक विजेता इटालीले राखेको ३७ जितको कीर्तिमानभन्दा केही पछि थियो अल्जेरिया। जारी अफ्रिका कपबाट उसलाई त्यो रेकर्ड भत्काउने अवसर थियो।
त्यसका लागि प्रशिक्षक जमल बोलमन्डीले आफ्नो टिमलाई चुस्त दुरुस्त राखेका थिए। तर पाएका अवसरको पनि टिमले सदुपयोग गरिरहेको थिएन। बेलमन्डी त्यसै अचम्मित परिरहेका थिए।
तर तीन पटक फाइनल र थप चार पटक सेमिफाइनल खेलिरहेको अल्जेलियाले प्रतियोगिताको अन्तिम खेलमा एक गोल गर्नुबाहेक अन्य खेलमा गोल गरेन। त्यसमाथि उसले आफ्नो वरियताभन्दा ८५औं स्थान पछाडि रहेको गिनीसँग गोलको सामना मात्र होइन हार नै बेहोर्नुपर्यो।
यो खेलले त कुनै टिमलाई पनि सानो सम्झन नहुने उदाहरण दिएको छ। त्यो किनभने केप भडे, मलावी, कोमुरज जस्तो टिम नकआउटमा पुग्दा अलजेरिया बाहिरिएको छ।