काठमाडौं- नेपालमा अर्को न्यूनचापीय प्रणाली प्रवेश गर्ने क्रममा रहँदा मौसम थप बदली हुने भएको छ। यस प्रणालीका कारण हवाइ क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायतका दैनिक जीवनमा असर पर्ने पूर्वानुमान गरिएको छ।
अर्को न्यूनचापीय प्रणाली सक्रिय रहने भएकाले यस अवधिमा तापक्रम घट्ने हुँदा चिसोबाट उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हाल कायम रहेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर अवस्थामा रहेको छ तर शनिबार बिहानदेखि पश्चिम नेपालबाट थप अर्को प्रणाली प्रवेश गर्न लागेकाले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हालको प्रणाली शनिबारदेखि बाहिरिने भनिए पनि थपिएको जलवाष्पका कारण अझ बलियो बन्न पुगेको महाशाखाले जनाएको छ। जसका कारण शनिबार, आइतबार र सोमबारसम्म नै यस प्रणालीले देशव्यापी प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले विशेष बुलेटिन जारी गरी जनाएको छ।
यस प्रणालीको बढी प्रभाव देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा हुँदा पूर्ण बदली रहने र अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ। बढी प्रभाव पर्ने स्थानका उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुनेछ।
ती प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ। बागमती, प्रदेश १, मधेस प्रदेशका पहाडी र तराई भेगका केही स्थानमा पनि हल्का वर्षा हुने अनुमान गरिएको छ।
मंगलबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै क्रमिक सुधार हुने महाशाखाले उल्लेख गरेको छ।