काठमाडौं- पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानबिन गरी दोषीलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले माग गरेको छ। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोली शुक्रबार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको हो।
टीभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो। उपचारका लागि निजामती कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तले निजामती कर्मचारीलाई दोष लगाएका छन्।
‘सिभिल हस्पिटलको लापरबाहीको कारणले र थोरै पैसा मध्य राति बुझाउन नसकेको कारणले पनि पत्रकार विश्वकर्माको समयमा उपचार नभएर मृत्यु भयो भन्ने विषयमा कुरा उठेको हुनाले यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छौँ। अस्पतालको लापरबाही विषय मिडियामा आएको छ, त्यसमा छानबिन होस्। दोषिमाथि कारबाही होस्। र पीडितलाई क्षतिपूर्ति पनि दिलाउनको लागि हामी प्रेस काउन्सिल नेपालले प्रशासनमा कुरा राखेको छ। केही दिन हेर्छौं।'
अछामको रामारोशन गाउँपालिका-५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए।