काठमाडौं- करिब एक महिनाअघि काठमाडौंको गोंगबुमा भएको 'सामूहिक बलात्कार'को घटनामा 'पीडित' महिला र आरोपित व्यक्तिहरूबीच आर्थिक लेनदेन नमिल्दा घटना प्रहरीसम्म पुगेको पाइएको छ।
घटनामा ९ जना आरोपितलाई पक्राउ गरिएको थियो। पीडित महिलाले पूर्वसहमतिअनुसार आफूलाई दिनुपर्ने रकम नदिएपछि प्रहरीमा उजुरी गरेको विषय सार्वजनिक भएको हो।
पूर्वसहमतिअनुसार रकम आरोपितहरूले नदिएपछि उजुरी आएको प्रहरीले बताएको छ।
पुस १२ गते साँझदेखि भोलिपल्ट साँझसम्म ९ जना युवाले गोंगबु नयाँ बसपार्कस्थित होटलमा लगेर एक महिलासँग यौन सम्बन्ध राखेका थिए। बलात्कारका आरोपीमध्ये मुगुको एकै नगरपालिकाका ७ जना छन्।
'पीडित' महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो।
उनीहरूले गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको पीडितको आरोप छ।
पक्राउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका–१० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, रोभाका १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बढुवाल, वडा– ११ का २४ वर्षीय चन्द्र साउद, २५/२६ वर्षीय हस्त नेपाली रहेका छन्। त्यस्तै, सोही नपा–६ लिउडीका २१ वर्षीय शुरेश सेज्वाल र अर्घाखाँचीको सितगंगा नगरपालिका–१२ घर भई कपिलवस्तु बुद्धभूमि बस्ने ४३ वर्षीय गोपालकुमार शिरिष रहेका छन्।
उनीहरु वैदेशिक रोजगारीका लागि काठमाडौंमा बसिरहेका थिए। उनीहरुमध्ये केहीको भिसा लागिसकेको बताइएको छ।
यो मुद्दामा शुक्रबारदेखि अदालतमा प्रतिवादीको बयान सुरु हुने बताइएको छ। १८ वर्ष वा सोभन्दा बढी उमेरका महिलालाई बलात्कार गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय र बलात्कार सामूहिक भए थप ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।