काठमाडौं- गायिका समीक्षा अधिकारीले पल शाहसँग भएको प्रेम सम्बन्ध नकारेको स्टाटस कोट गर्दै चाँडै यथार्थ खुलाउने बताएकी छन्। बिहीबार फेसबुकमा पुरानो स्टाटसलाई कोट गर्दै उनले लेखेकी छन्, 'अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।'
पछिल्ला केही दिनयता फेसबुक स्टाटसमा गायिका अधिकारीले पलसँग सम्बन्धमा रहिरहेको अनुमान गर्न सकिने संकेत गर्दै आएकी थिइन्। तीन दिनअघि उनले नारीलाई कमजोर नठान्न आग्रह गर्दै स्टाटस पोस्ट गरेकी थिइन्।
‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ,' बिहीबार पोस्ट भएको समीक्षाको स्टाटसमा लेखिएको छ, 'अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’
केही महिनायता समीक्षाको नाम पलसँग जोडिँदै आएको छ। पलले आफूलाई अभिभावकका रूपमा माया गर्ने समीक्षाको पुरानो स्टाटसको दाबी थियो। तर त्यसलाई नै कोट गर्दै उनले यथार्थ खुलाउने भनेपछि कलाबजारमा यसले फेरि चर्चा लिन थालेको छ।