काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अनलाइनमार्फत युरोप–अमेरिकामा जुवा खेलाउने गरेको आरोपमा १२ जना पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरको नगाउँबाट उनीहरुलाई बुधबार पक्राउ गरेको जनाइएको छ। महाशाखाका अनुसार कीर्तिपुर नगाउँ बाघभैरवस्थित विभिन्न घरहरु खानतलासी गर्दा अनलाइन जुवा खेलाउने गरेको प्रमाणसहित उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–६ चोभारका ३३ वर्षीय सुजेन्द्र थापा, सोही ठाउँका १७ वर्षीय मनिष थापा, १७ वर्षकै समिर थापा, २७ वर्षीया कविता थापा, ३० वर्षीय रविन खड्का, कीर्तिपुर–१० का ४५ वर्षीय बुद्ध महर्जन र कीर्तिपुर–८ पाँगा का २० वर्षकी रोजा महर्जन छन्।
त्यसैगरी कीर्तिपुरकै १९ वर्षीय साहिल महर्जन, कीर्तिपुर–१० का १९ वर्षीया हनिशा महर्जन, कीर्तिपुर–९ नगाँउ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारसिउ गाउँपालिका–५ घर भइ कीर्तिपुर बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ घर भइ कीर्तिपुर बस्ने १७ वर्षीया रमादेवी श्रेष्ठ छन्।
जुवा खेलाउने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले
उनीहरुको साथबाट १७ थान मोबाइल, १४ थान ल्यापटप, २ थान सीपीयु, २ थान कम्पुटर, गेमिङ विवरण लेखिएका रजिष्टरहरु र ह्वाइट बोर्ड बरामद गरिएको छ।
पक्राउ परेका मध्ये सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्द महर्जनले अनलाइन जुवा खेलाउन सम्पूर्ण व्यवस्था मिलाएर ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइजरुपमा जुवा खेलाउन कर्मचारीहरुसमेत राखेको खुलेको छ।
त्यसरी खटिएका कर्मचारीले फेसबुक आइडीमार्फत् युरोप-अमेरिकाका नागरिकलाई साथी बनाएर जुवा, फायर किरिङ, रिभर स्वीप्स, रिभर मोन्सटर, भेगास–एक्स लगायतका अनलाइन जुवा खेल्न लिंकहरु शेयर गर्ने गरेको पाइएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।