काठमाडौं- आज सन् २०२२ जनवरी २१। यहाँ हामीले विश्व इतिहामा आज दिन भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
कनकोर्डको पहिलो व्यवसायिक उडान
सन् १९७६ जनवरी २१ मा बेलायत र फ्रान्स सरकारको संयुक्त लगानीमा निर्माण गरिएको कनकोर्डको पहिलो व्यवसायिक उडान गरिएको थियो। सोनिक बुमको सुपर सोनिक गतीमा रहेको यस उडानको पहिलो यात्रा लन्डनदेखि बहराइन गरिएको थियो।
अमेरिकी गल्फ खेलाडी ज्याक निकलाउसको जन्म
अमेरिकी गल्फ खेलाडी ज्याक निकलाउसको जन्म सन् १९४९ जनवरी २१ मा भएको थियो। सन् १९६० देखि ८० को दशकमा गल्फ क्षेत्रमा एकछत्र राज गरेका ज्याकले सन् १९५९ मा अमेरिकी अमेचुअर च्याम्पियनसिप र सन् १९६१ मा यूएस ओपनमा जित हात पारेका थिए।
लैंगिक समानताका लागि वुमन मार्च
सन् २०१७ जनवरी २१ मा लैंगिक समानताका लागि वुमन मार्च (महिला मार्च) सुरु गरेका थिए। नागरिक अधिकार र महिला समानता र डोनाल्ड ट्रम्प प्रशासनबाट सामना गर्नसक्ने चुनौतीविरुद्ध महिला मार्च गरिएको थियो। यो अमेरिकी इतिहासमा एक दिनमा भएको सबैभन्दा बृहत आन्दोलन रहेको बताइएको छ।
रुसी क्रान्तिको नेतृत्वकर्ता भलादिमिरको निधन
रुसी क्रान्ति सन् १९१७ को नेतृत्व गरेका भलादिमिर लेनिनको सन् १९२४ को जनवरी २१ मा निधन भएको थियो। उनी सोभियत स्टेटका पहिलो प्रमुख थिए। उनले सन् १९१७ देखि १९२४ सम्म सोभियत स्टेटको प्रमुखको जिम्मेवारी सम्हालेका थिए।
लुई १६ औं को बर्खास्ती
फ्रान्स क्रान्तिका समयमा फ्रान्सको बोउबोनका राजा लुई १६ औंलाई सन् १७९३ जनवरी २१ बर्खास्त गरिएको थियो। क्रान्तिविरुद्ध लागेको आरोपमा पछि लुई १६ औं र उनकी महारानीलाई घाँटी रेटेर हत्या गरिएको थियो।
पोपलाई सुरक्षा दिन पहिलो पटक स्विस गार्ड
पोपलाई सुरक्षा दिनका लागि पहिलो पटक स्विस गार्ड भ्याटिकन सिटी पुगेका थिए। सन् १५०६ जनवरी २१ मा रोमन क्याथोलिक चर्चमा स्विस गार्ड पठाइएको हो। त्यसअघि त्यहाँ गार्ड गर्ने परम्परा थिएन।