काठमाडौं- कोरोना बढेसँगै काठमाडौं जिल्ला प्रशासनले कडाइ गरेको छ। काठमाडौंमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा मास्क नलगाउनेलाई प्रशासनले जरिवाना तिराउन थालेको छ।
जारी निर्देशनलाई अवज्ञा गरेको भन्दै प्रशासनले नागरिकमाथिको निगरानी बढाएको हो। सार्वजनिक स्थलमा मास्क नलगाई हिँड्नेलाई कारबाही स्वरूप एक सय रुपियाँ जरिवाना लिन थालेको छ।
काठमाडौं प्रशासनले बुधबार सुनधारा, कलंकीलगायतका क्षेत्रमा अनुगमन गरी मास्क नलगाई हिँड्नेलाई कारबाही गरेको हो। सार्वजनिक सडकमा मास्क नलगाई ओहोरदोहोर गर्नेलाई एक सयका दरले जरिवाना गराइएको छ।
प्रशासनको टोलीले सुन्धाराको सीटीसी मल, कलंकीको भाटभटेनी सुपर मार्केटको अनुगमन गरेर मास्क नलगाउनेलाई जरिवाना गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताएका छन्।
प्रशासनको निर्देशन अटेर गरे स्थानीय प्रशासन ऐन २०५६ अनुरूप कारबाही गर्ने उनले बताएका छन्।