काडमाडौं- चिसो बढेसँगै बुटवलको तिनाउ नदी किनारमा जाडो छल्न आगो तापेर बसिरहेका दुई जनाको ज्यान गएको छ। आगो तापिरहेका बेला नदी किनारको ढिस्को खसेर दुई जनाको ज्यान गएको हो।
बुटवलको देवीनगरस्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिएर स्थानीय ३२ वर्षीय गणेश थापा र १७ वर्षीय शिव थापाको ज्यान गएको प्रहरीले जनाएको छ। ढिस्को खसेर पाँच जना पुरिएकोमा दुईजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको हो।
तीनजना घाइते भएका छन्। घाइते हुनेमा २३ वर्षीय केशव पुरी, ३२ वर्षीय अशोक गाहा र ३३ वर्षका सलिम अली घाइते रहेका छन्।
ढिस्कोले पुरिएकाहरूलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए।
स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ नदी किनारमा जनताको तटबन्ध निर्माणको क्रममा बनेको ढिस्कोमाथि आगो तापेर बसेको समयमा उक्त घटना घटेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिएका छन्।