काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पाँच वर्षअघि सुरु गरेको प्रधानमन्त्री कप क्रिकेट यसअघि एकदिवसीय शैलीमा भइरहेको थियो। तर, यो वर्ष नेपाल क्रिकेट संघ –क्यान)ले टी–२० को शैलीमा पहिलो पटक आयोजना गरेको हो।
नेपालले आउँदो अन्तर्राष्ट्रिय प्रतियोगिता टी २० स्वरुपमा खेल्ने भएकाले पीएम कपलाई खेलाडी छनोटको एक हिस्सा बनाएर आयोजना गरिएको थियो। त्यसका लागि क्यानले राखेपबाट टी २० को रुपमा आयोजना गर्न स्वीकृति लिएको थियो।
त्यसैले यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे। युवा खेलाडीको प्रदर्शनदेखि सबैभन्दा ठूलो लक्ष्य (टार्गेट) पनि पीएम कपमा बन्यो। खेलाडीले बलिङ र ब्याटिङमै जमेर प्रदर्शन गरे।
यो प्रतियोगितामा युवा खेलाडीको ब्याटिङको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु पर्दैन। छक्का प्रहार भएका कतिपय बल त मैदानको पर्खाल नाघेर बाहिर पुगेका छन्। त्यसले नेपाली खेलाडीमा ब्याटिङको कति भोक छ भन्ने पनि देखाएको छ। यसलाई सघाउ पुग्ने गरी एपीएफका कप्तान शरद भेषावकरले भनेका छन्, ‘अहिले युवा खेलाडीहरु भयरहित भएर खेलिरहेका छन्। पहिले त्यस्तो थिएन।’ साथै प्रतियोगिता कोभिड–१९ का कारण प्रभावित पनि भयो। लामो प्रतीक्षापछि एपीएफले उपाधि जित्यो। र, पाँच लाख पुरस्कार पायो।
सबैभन्दा ठूलो लक्ष्य
यस वर्षको पीएम कपमा एउटा खेल विशेष रह्यो। प्रतियोगिताको १३ औं खेल थियो, समूह ए अन्तर्गत कर्णाली र नेपाल पुलिस क्लबको। प्रतियोगिताको कमजोरमध्ये रहेको कर्णालीविरुद्ध पुलिसले कीर्तिपुर मैदानमा कीर्तिमानी रन बनायो। टस जितेर ब्याटिङ रोजेको पुलिसले २० ओभरमा ६ विकेट गुमाउँदै २४४ रन बनाएर २४५ रनको लक्ष्य दियो। त्यो नेपाली घरेलु क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्यसमेत हो।
लक्ष्य पूरा गर्ने क्रममा कर्णाली प्रदेशले १५५ रनमात्र बनायो र पुलिसले ८९ रनले खेल जित्यो। नेपालले अहिलेसम्म अन्तर्राष्ट्रिय खेलमा पनि सबैभन्दा बढी २३८ रन बनाएको छ। ९ महिनाअघि (अप्रिल ९ मा) नेपालले कीर्तिपुर र मैदानमा त्यो कीर्तिमान बनाएको थियो।
युवा खेलाडीको आक्रामक प्रदर्शन
यो सिजनमा नयाँ तथा युवा खेलाडीले प्रतियोगितामा आफ्नो छाप छोडे। क्रमशः पुस्तान्तरणमा पुगेको नेपाली क्रिकेटका लागि यो निकै महत्वपूर्ण पनि रह्यो। नयाँ खेलाडीलाई लिएर आफू उत्साहित भएको नेपाली टिमका मुख्य प्रशिक्षक पुवुदु दाशानायकेले बताएका छन्। ‘धेरै युवा ट्यालेन्ट देखिएकाले म धेरै उत्साहि भएको छु। यसअघि देखेको भन्दा धेरै नयाँ खेलाडी देखेको छु। युवाहरु निकै नै प्रतिभावान देखिएका छन्,’ प्रतियोगिता सकिएपछि दाशानायकेले भने, ‘केही खेलाडीलाई धेरै समय चाहिन्छ भने कति खेलाडी त राष्ट्रिय टिमसँग पुग्न तयार भइसकेका रहेछन्।’
यसअघि मंसिरमा भएको यू १९ एकदिवसीय राष्ट्रिय टि २० क्रिकेटमा चम्किएका खेलाडी सिनियरको प्रतियोगितामा पनि अब्बल सावित भए। उनले प्रतियोगितामा दुई अर्धसतकसहित १५२ रन बनाए। उनले सेमिफाइनल खेलमा त १८ बलमा ६६ रन बनाएका थिए।
यू १९ को त्यो प्रतियोगितामा राम्रो गरे पनि लोकेश बम नेपाली यू १९ टिममा थिएनन्। त्यो टिममा नपर्दाको इख पनि यो प्रतियोगितामा देखिएको हो ? भन्ने प्रश्नको जवाफमा लोकेश भन्छन्, ‘त्यस्तो त होइन। सबै खेलमा नै हिटिङ मेन्टालिटीका साथ आइरहेको हुन्छु। पहिले ब्याटमा बल आइरहेको हुँदैन थियो। यो सिजनमा त्यो भइरहेको छ। त्यसका लागि विकेटले पनि भूमिका खेलेको छ। म ग्राउन्ड स्टाफलाई धन्यवाद भन्न चाहन्छु।’
यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे।
पीएम कपमा गण्डकी प्रदेशका अनिल खरेलले लिग चरणमा ११ विकेट गिराएका छन्। उनी प्रतियोगिताको उत्कृष्ट बलरसमेत बने। लुम्बिनीका देव खनालले पनि यो प्रतियोगिताको उत्कृष्ट प्रदर्शन गरे। यू १९ टोलीको कप्तानी सम्हालिसकेका खनालले बागमतीविरुद्ध ५, प्रदेश २ विरुद्ध ५४, एपीएफविरुद्ध ४३ र गण्डकीविरुद्ध ५६ रन बनाएर दुई अर्धसतक पूरा गरेका थिए।
पीएम कपमा राम्रो गर्नेमा बसिर अहमद, अर्जुन साउद, विवेक यादव पनि छन्। बसिरले प्रतियोगिताका चार खेलमा ५१ रन जोडे भने पाँच विकेट गिराए। अलराउन्डमा उनको राम्रो प्रदर्शन हो यो। त्यस्तै, सुदूरपश्चिमका अर्जुनले ७४ रन बनाएका छन्।
पछिल्लो पीएम कपबाटै चम्किएका प्रदेश दुईका विवेक यादव यो वर्ष सम्झनलायक प्रदर्शन गरे। उनले प्रतियोगिताको चार खेलमा ८७ रन बनाए। यता एपीएफका आशिफ शेखले चाहिँ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बनेर ३० हजार पुरस्कार पनि जिते। गएको वैशाखमा राष्ट्रिय टिममै चम्किएका उनले यो प्रतियोगितामा २२७ रन बनाएका छन्। एपीएफलाई उपाधि दिलाउन उनले निकै महत्वपूर्ण भूमिका खेले।
प्रतियोगिता सकिएपछि प्रशिक्षक दाशानायकेले भने, ‘यो टी २० सजिलो थिएन। धेरै अनुभवी खेलाडी थिए। त्यसको प्रदर्शनको आधारमा हामी अब अनुभवी र युवा खेलाडीको मिश्रित टिम निर्माण गरिरहेका छौं। अहिले समग्रमा नेपाली क्रिकेट राम्रो आकृतिमा छ।’
अब उनले बन्द प्रशिक्षणमा खेलाडी थप गर्ने भएका छन्। ‘नयाँ खेलाडी थपिने पक्का हो। आजै भरे वा भोलिसम्ममा नामावली सार्वजनिक हुन्छ। त्यसमा केही खेलाडी थपिनेछन्,’ उनले भने।
एपीएफलाई प्रतिक्षित उपाधि
एपीएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको हो। चार वर्षअघि उपाधि जित्दा एकदिवसीय क्रिकेटको उपाधि जितेको एपीएफले अहिले टी २० फर्म्याटमा पनि उपाधि जितेको हो। टी २० को प्रधानमन्त्री कप जित्ने पहिलो क्लब पनि एपीएफ नै बन्यो।
‘आज केही गाह्रो विकेट पनि थियो, बिहान गाह्रो नै हुनेगर्छ। बिहान गाह्रो भयो, तर १० नम्बरसम्मको ब्याटरले राम्रो योगदान दिएर उपाधि जितियो,’ उपाधि जितेपछि एपीएफका कप्तान शरद भेषावकरले भने, ‘प्रतियोगिता सुरु हुँदादेखि नै प्रदिप र आशिफले धेरै राम्रो प्रदर्शन गरे। त्यसले जित्न थप सहज भयो। हामीले फाइनलसम्मको यात्रा गर्न सहज भयो। फाइनल खेलमा पावर प्लेमै पाँच विकेट गुमाएको थियो एपीएफले। त्यसपछि मैले पार्टनरसिप बनाउनमा जोड दिएपछि विकेट झर्ने समस्य केही हदसम्म टरेको थियो। विकेट गइरहँदा पार्टनरसिप बनाउनु जरुरी थियो। हाम्रो गेम प्लान चाहिँ १६ ओभरसम्म नर्मल खेल्ने र अन्तिममा चाहिँ अट्याक गर्ने थियो। त्यसमा भुवन र अमर रौटेलाले जसरी ब्याटिङ गरे, त्यसले टिमलाई राम्रो फिनिसिङ दियो।’
अन्तिम दुई ओभर अघिसम्म पुलिस जितको नजिक पुगिसकेको थियो। त्यसैले एपीएफलाई त्यो जित खोस्नै थियो। ‘त्यो दुई ओभर निकै महत्त्वपूर्ण रह्यो। डेथ बलिङमा योर्कर र एक्जिक्युसन सानदार भयो। किशोर र अभिनाशलाई त्यसको लागि क्रेडिट दिनुपर्छ,’ भेषावकरले भने।
फाइनल खेलमा म्यान अफ दि म्याचसमेत बनेका थिए किशोर। उनले किफायती बलिङ गर्दै पुलिसको तीन विकेट गिराएका थिए। यता पुलिसका प्रशिक्षक मञ्जत श्रेष्ठले खेलको अन्तिममा मोमेन्टम पाए पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताएका छन्। ‘टिममा राष्ट्रिय टिमका खेलाडी नै छन्। तर खेलाडीले राम्रो गर्न सकेनन्। दिलिप नाथ र अनिल पनि राम्रो छन्,’ उनले भने।
विश्वकपको ग्लोबल छनोटलाई के फाइदा?
अब यो प्रतियोगितापछि नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोट खेल्दैछ। त्यहाँ नेपाल समूहमा शीर्षस्थानमा रहन सके नेपालले अष्ट्रेलियामा हुने विश्वकप खेल्नेछ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।
ओमनमा फेब्रुअरी १७ देखि २४ सम्म हुने ग्लोबल क्वालिफायरमा नेपालको समूहमा आठ टिम रहेका छन्। जर्मनी, आयरल्यान्ड, फिलिपिन्स, युनाइटेड अरब इमिरेट्स, बहराइन, क्यानाडा र ओमन सम्मिलित प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहनु पर्नेछ। त्यसो भयो भने नेपालले टी २० विश्वकप खेल्ने अवसर फेरि पाउनेछ। त्यो प्रतियोगिताका लागि खेलाडी छनोटको हिसाबले पनि यो पीएम कप महत्वपूर्ण रहेको प्रशिक्षक पुबुदु दाशानायकेको कुराबाट पनि थाहा हुन्छ।
अन्तिम दुई ओभर अघिसम्म पुलिस जितको नजिक पुगिसकेको थियो। त्यसैले एपीएफलाई त्यो जित खोस्नै थियो।
पीएम कप विजेता टिम एपीएफका कप्तान भेषावकरको पनि त्यस्तै मत छ। भन्छन्, ‘अहिले युवा खेलाडीले फेयरलेस (भयरहित) क्रिकेट खेलिरहेका छन्। यो पहिले ट्रेन्ड नै थिएन अहिले सुरु भएको छ, त्यो ठूलो परिवर्तन हो। आउँदो प्रतियोगिताको लागि टप अर्डर निक्रै राम्रो देखिएको छ। बलिङ राम्रो गर्न सकियो भने त्यो छनोट पनि फलदायी हुनेछ।’
त्यसो त नयाँ खेलाडी देखिनु पनि नेपाली टिमका लागि फाइदाको नै कुरा हो। त्यसमाथि यो सिजनमा राष्ट्रिय टिममा भएका खेलाडी धेरै चल्न सकेनन्। कुशल र आशिफ बाहेक नयाँ खेलाडीले नै पीएकप कपमा जमेर प्रदर्शन गरे।
प्रतियोगितामा कोभिडको असर
प्रतियोगिताको कोभिड–१९ को पनि असर पर्यो। कोभिडको संक्रमणका कारण पुलिस र प्रदेश १ बीचको खेल नै सार्नुपर्यो। खेलाडीमा कोभिड पुष्टि भएपछि कतिपय खेलाडीले त खेल्नै पाएनन्। प्रतियोगितामै कतिपय खलाडी मास्क लगाएर खेलिरहेका थिए। दिपेन्द्र सिंह ऐरीले प्रतियोगिताभर १३ विकेट लिँदा सात विकेटमा मास्क लगाएका थिए।
कतिपय खेलाडीलाई कोभिड भए पनि टेस्ट नगराएका कारण थाहा नै नभएको पुलिसका कप्तान मन्जित श्रेष्ठ बताउँछन्। ‘टेस्ट गरेको भए अझै धेरै खेलाडीमा देखिन्थ्यो होला। दुई जनालाई त टेस्ट गरेको हो, देखियो। त्यसले असर त गर्यो नै,’ श्रेष्ठले भने। यता शरद भेषावकरले भने कोभिडका कारण फाइनलमा दुवै टिमका खेलाडीले खेल्न नपाएको बताएका छन्। यद्यपि प्रतियोगितामा समयमै सकिएकाले उनले त्यो राम्रो भएको बताए।
‘कोभिडको कारण दुवै टिमका खेलाडीले खेल्न पाएनन्। विश्वभरी नै अन्तर्राष्ट्रिय क्रिकेटमा पनि यस्तै भइरहेको छ। म्यानेज गरेर खेल्ने हो, बरु प्रतियोगिता चाहिँ सरेन, त्यो नै खुसीको कुरा हो,’ एपीएफका कप्तान भेषावकरले भने।