काठमाडौं- जिल्ला प्रशासन काठमाडौंले मास्क नलगाइ हिँड्नेहरुलाई कारबाही गरेको छ। जिल्ला प्रशासनले काठमाडौंले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले जरीवानासहित कारबाही गरेको जनाएको छ।
त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सीटीसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ।
अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले सार्वजनिक क्षेत्रमा हिँड्डुल गर्ने आम सर्वसाधारणहरुलाई पनि सरकारले जारी गरेको कोरोना सम्बन्धी स्वास्थ्यका मापदण्डको बारेमा सचेत गराइएको बताए।
उनले मल र सुपरमार्केटलाई सरकारले जारी गरेको निर्देशिकाअनुसार २५ जना बढी भेला हुन नपाइने विषयमा सचेत गराइएको र स्वास्थ्यका मापदण्ड पालना नगर्ने आम सर्वसाधारणहरुलाई १०० रुपैयाँको कारबाही गरिएको बताए।
उनले भने, ‘आज जिल्ला प्रशासन कार्यालयबाट नेपालभर फैलिएको कोभिड १९ को सन्दर्भमा नेपाल सरकारले जारी गरेका निर्देशिका, गृह मन्त्रायले जारी गरेका निर्देशिका बमोजिम विभिन्न मलहरु, अन्य बजार एरियाका पसलहरुमा जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गरियो।'
यस्ता प्रकारका अनुगमनभन्दा पनि नागरिक आफैँ सचेत हुनुपर्ने उनले बताए। उनले थपे, 'सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमनकर्ता भनेको नै नागरिक हो। सबै सचेत हुनुपर्छ, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ। सबै व्यवसायी, निजी क्षेत्र, अन्तर्राष्ट्रिय संघसंस्था र सबै सर्वसाधारण नागरिकहरुले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी निर्देशिका पालना गर्नुपर्छ।’