काठमाडौं- आज सन् २०२२ जनवरी २०। हामीले यहाँ आजका दिन विश्व इतिहामा भएका महत्वपूर्ण घटनाहरुलाई समेट्ने गरेका छौं।
अमेरिकाको ४४ औं राष्ट्रपतिको रुपमा ओबामाको शपथ
अमेरिकाको ४४ औं राष्ट्रपतिको रुपमा बाराक ओबामाले सन् २००९ जनवरी २० मा पहिलो पटक शपथ ग्रहण गरेका थिए। उनी अमेरिकाको पहिलो अफ्रो-अमेरिकी राष्ट्रपति पनि हुन्। उनले अन्तर्राष्ट्रिय कूटनीति र सहकार्यलाई बृहतरुपमा अघि बढाएको भन्दै नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए। उनी सन् २०१३ मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए। त्यसैगरी सन् २०१७ को जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेका थिए।
भ्रष्टाचार प्रकरणमा फिलिपिन्सका राष्ट्रपतिद्वारा राजीनामा
सन् २००१ जनवरी २० मा फिलिपिन्सका राष्ट्रपति जोसेफ इस्ट्राडाले पदबाट राजीनामा दिएका थिए। मुलुकभर उनले भ्रष्टाचार गरेको भन्दै बृहत आन्दोलनहरु हुन थालेपछि उनले पदबाट राजीनामा दिएका हुन्। सन् २००७ मा अदालतबाट उनी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए। पछि उनको जेल सजाय भने माफ गरिएको थियो।
इरान बन्धक संकटको अन्त्य
सन् १९८१ मा जनवरी २० मा इरानले नियन्त्रणमा लिएका ६६ अमेरिकीहरुलाई रिहा गरेपछि इरानको संकट समाधान भएको थियो। इरानले तेहरानस्थित अमेरिकी दूतावासका ६६ जनालाई बन्धक बनाएको थियो। उनीहरुमध्ये ५२ जनालाई १५ महिनासम्म बन्धक बनाइएको थियो। इरानले उनीहरुलाई बन्धक बनाएपछि अमेरिकाले इररानविरुद्ध प्रतिबन्ध लगाएको थियो। जसका कारण इरानमा संकट सिर्जना भएको थियो। पछि अयोतोल्लाह रुहोल्लाह खोमेनीले उनीहरुलाई जनवरी २० मा रिहा गरेको थियो।
बेलयातको हुलाक प्रणाली पुन: सञ्चालन
सन् १९७१ जनवरी २० मा देशभर बन्द गरिएको हुलाक प्रणाली पुन: सञ्चालनमा ल्याइएको थियो। यो बेलायतको एक अर्ध सरकारी निकाय हो। जुन हाल पनि सञ्चालनमा छ।
जोन एफ केनेडीको सम्बोधन
सन् १९६१ जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पहिलो सम्बोन गरेका थिए। उनले सम्बोधन गर्दै भनेका थिए, 'अमेरिकी साथीहरु, तपाईंलाई तपाईंको मुलुकले के दिन्छ भनेर नसोध्नुस्, तपाईंले तपाईंको मुलुकलाई के दिनुहुन्छ भनेर सोध्नुस्।' सन् १९६३ सम्म उनले अमेरिकाको राष्ट्रपतिकोरुपमा जिम्मेवारी सम्हालेका थिए।
बेलायती अन्वेषक जेम्स कुक पहिलो पटक हवाइमा अवतरण
सन् १७७८ जनवरी २० मा बेलायती अन्वेषक जेम्स कुक पहिलो पटक हवाइमा अवतरण गरेका थिए। उनी अमेरिकी राज्य हवाइमा अवतरण गर्ने पहिलो युरोपियन पनि हुन्। उनी कवाइ टापुको वाइमियामा अवतरण गरेका थिए।