गत शनिबार भारतकै लोकप्रिय बघिनी कलरवालीको १६ वर्षको उमेरमा मृत्यु भयो। भारतको मध्य प्रदेशस्थित 'पेन्च टाइगर रिजर्भ'मा बस्दै आएकी उसले उक्त आरक्षको भाग्य बदल्न ठूलो भूमिका खेलेकी थिई।
सन् २००८ मा उसको शरीरमा पहिलोपटक रेडियो कलर जडान गरिएपछि उसले नयाँ नाम पाएकी थिई- कलरवाली। ८ बेतसम्म सन्तान उत्पादन गरेकी उसले आफ्नो जीवनकालमा २९ डमरुलाई जन्म दिई। विज्ञहरूका अनुसार यसरी एकै बघिनीले २९ डमरु उत्पादन गर्नु एकदमे 'दुर्लभ र उत्पादनशील' मानिन्छ।
बीबीसीले दुई वर्ष लगाएर ४ वटा डमरुबारे तयार पारेको वन्यजन्तुसम्बन्धी डकुमेन्ट्री 'स्पाई इन द जंगल'मा कभर भएपछि भारतमा सबैभन्दा बढी चिनिएकी बघिनी बनी कलरवाली।
'डकुमेन्ट्री सार्वजनिक भएपछि पार्क (कलरवाली बसेको आरक्षण क्षेत्र) पुग्नेको संख्या ह्वात्तै बढ्यो। उनीहरुमध्ये धेरैले कलरवाली र उसकी आमाका विषयमा जान्न चाहन्थे,' सन् २००४ देखि पेन्चसँग जोडिएका प्रकृति संरक्षक प्रावीर पाटिलले भने।
बुढ्यौलीले निम्त्याएका समस्याका कारण कलरवालीको शनिबार मृत्यु भएको हो।
प्रकृति संरक्षणवादी, वन अधिकारी र वन्यजन्तु फोटोग्राफरहरू उतिबेला आरक्षणमा बढ्दै गरेकी कलरवालीका विषयमा कर्णप्रिय कुराकानी गर्छन्। यो जंगल त्यही जंगल मानिन्छ जसबाट प्रेरित भएर रुडयार्ड किप्लिङले 'द जंगल बुक' लेखेका थिए।
कलरवाली सन् २००५ मा जन्मिएकी थिई। उसकी आमाको नाम टी-१५ दिइएको थियो। 'बडीमाता' पनि भनिने कलरवालीकी आमाले पनि प्रसिद्धि कमाएकी थिई। कलरवालीको बाबुलाई चाहिँ टी-१ नाम दिइएको थियो।

टी-१५ र टी-१ बाट जन्मिएकी बघिनीलाई कलरवाली भन्ने नाम भने पछि दिइएको हो। बाघको अध्ययनका लागि पेन्च आरक्षणका बाघमा पहिलोपटक रेडियोकलर जडान भएसँगै उसले कलरवाली नाम पाएकी हो। उक्त रेडियो कलरका आधारमा उसमाथि अध्ययन गर्न सहज भएको थियो। वन्यजन्तुको क्षेत्रमा काम गर्नेहरूले उसलाई 'माताराम' अर्थात् 'सम्मानित आमा'को उपनाम पनि दिएका छन्।
'कलरवाली जन्मिनुभन्दा पहिले पेन्चमा बाघका दृश्य अवलोकन गर्नु दुर्लभ थियो। तर जन्मेको केही समयमा नै ऊ सबैभन्दा बढी देखिएकी बघिनी बनी,' पाटिलले भने।
संरक्षणविद् विवेक मेनन कलरवालीलाई 'पेन्चको मुहार' भन्न रुचाउँछन्। कलरवालीको असाधारण प्रकृतिका कारण ऊ, उसका बच्चा र बाघसम्बन्धी डकुमेन्ट बनाउन धेरै मानिस र फोटोग्राफरले पाएका कारण मेननले यस्तो उपनाम दिएका हुन्।
'अवलोकनकर्तालाई कलरवालीले सायदै निराश बनाउँथी,' आरक्षण छेउमै हुर्किएका प्राकृतिक संरक्षणविद् मोहम्मद राफिक शेखले भने।
'कुनै पर्यटकका सवारीसाधनका छेउमा कुनै डर बिना नै आउने कलरवाली एकदमै फ्रेन्ड्ली थिई,' आरक्षणमा सयौँ पर्यटकलाई पथप्रदर्शन गरेका शेखले भने।