काठमाडौं- नेपालका मोहम्मद उमर खान र धनमाया सिन्जालीले दक्षिण कोरियामा भएको १२ औं विश्व तेक्वान्दो कल्चरल एक्सो तथा च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। उमरले फाइटिङको ४८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेतर्फ भने कास्यमै सीमित भए।
धनमायाले महिला फाइटिङकै ६३ केजीमुनि तौलसमूहमा स्वर्ण जित्न सफल भएकी थिइन्। रोशन खानको नेतृत्वमा कोरियामा प्रतिस्पर्धा गरेको नेपाली टोलीले ५ स्वर्ण, ५ रजत र १० कांस्य गरी कुल २० पदक जित्न सफल भएको सिनियर खेलाडी दीपेन्द्र नेपालीले जानकारी दिए।
नेपालका लागि सहवीरजंग रावल, उज्वल श्रेष्ठ र रेखमाया गुरुङले फाइटिङमा स्वर्ण जिते। सहवीरले ४० केजी तौलमा स्वर्ण जित्दा पुम्सेमा रजत पदकमै चित्त बुझाए। उज्वलले पनि ६८ केजी तौलसमूहमा स्वर्ण जित्दा पुम्सेमा कांस्य पदकमै सीमित भए। रेखमायाले ६७ केजीमा स्वर्ण जितीन। पुरुष फाइटिङको ६३ केजी तौलसमूहमा फाइनलमा पुगेका दिपेन्द्र बहादुर नेपालीले उत्कृष्ट प्रतिस्पर्धा गरे पनि चोट बोकेपछि रजत पदकमै चित्त बुझाउन बाध्य भए। दीपेन्द्रले पुम्सेतर्पm भने कांस्य पदक जितेका थिए।
कोरियाको मुजु सहरमा आगामी १७ जुलाईसम्म हुने च्याम्पियनसिपको फाइटतर्फ पुरुष ४५ केजीमा सागर बराल र ४८ केजीमा रोनिस पौडेलले रजत पदक जिते। दुवैले पुम्सेतर्फ कांस्य जितेका थिए। पुरुष फाइटिङकै ५४ केजीमा कांस्य जितेका अब्बास खानले पुम्सेमा पनि कास्य पदकमै सीमित भए। महिलाको ५३ केजी तौलसमूहको फाइटिङमा मेलिना गुरुङले कास्य पदक जित्न सफल भए। आयोजकले नेपालका हेड अफ टिम खानलाई नगद १ लाख र प्रसंशापत्रबाट सम्मान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४