शनिबार, जेठ ५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र राजधानीका लागि मतदानमा जानुपर्ने निष्कर्ष [विशेष समितिको प्रतिवेदनसहित]

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ।
 |  आइतबार, माघ २, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, माघ २, २०७८

जनकपुरधाम– प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ। नाम र राजधानीका  लागि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले ६ बुँदे निष्कर्षसहित प्रदेशसभामा प्रतिवेदन पेश गरेको हो।

triton college

प्रतिवेदनमा माघको पहिलो हप्तामै मतदानमा जान प्रदेशसभालाई अनुरोध गरिएको छ। गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, श्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउन भनिएको छ। मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षँगै रहेको कक्षमा गर्न भनिएको छ ।

विशेष समितिले नाम र राजधानीका लागि आएका विभिन्न प्रस्तावहरुमा सहमति जुटाउने प्रयास गरिएको थियो। समितिका अनुसार नामका लागि मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेशमा मतदान गर्न सुझाव दिइएको छ।  

त्यस्तै स्थायी राजधानीका लागि आएको ६ वटा प्रस्ताव ३ वटा प्रस्तावमा झार्न सफल भएको छ। राजधानीका लागि जनकपुरधाम (उत्तरमा ढल्केबरस्थित पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमा परिक्रमा सडक र दक्षिण नेपालको सीमा) पहिलो प्रस्ताव राखिएको छ। यो प्रस्तावमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको जनाइएको छ।

त्यस्तै वीरगञ्ज (पोखरीया नगरपालिका, सखुवा प्रसौनी गाउँपालिका, पर्सागढी नगरपालिका र जितपुर सिमरा निजगढ हुँदै सिमरौनगढसम्म) राख्ने पनि प्रस्ताव समेत गरिएको छ। वीरगञ्ज महानगरपालिकालाई राजधानीको रुपमा समेत प्रस्ताव गरिएको छ। भोलि सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नाम र राजधानीमाथिको छलफल जारी नै रहने छ । यद्यपि सोमबार नै मतदान प्रक्रिया अगाडि बढाउनका लागि तयारी समेत गरिँदैछ।

corrent noodles
Metro Mart

छलफलमा दलहरुको मतैक्यता देखिएन

विशेष समितिको प्रतिवेदन प्रदेशसभामा पेश भए लगत्तै प्रदेशसभा सदस्यहरुलाई सो प्रतिवेदनमाथिको छलफलमा सहभागी गराइयो। छलफलमा प्रदेशसभा सदस्यहरुबीच मतैक्यता देखिएन। प्रदेशसभा सदस्यहरुले आ–आफ्नो दलहरुको प्रस्तावमा बल पुग्ने गरी मन्तव्य दिएका थिए।

प्रदेशको स्थायी राजधानी जनकपुरधामलाई तोक्न दलहरुबीच मतैक्यता रहे पनि केही प्रदेशसभा सदस्यहरु भने राजधानी वीरगञ्ज हुनुपर्ने अडान लिँदै आइरहेका छन्। नाममा त दलैपिच्छे प्रदेशसभा सदस्यहरुको अलग अलग राय देखिएको छ। जसपा र माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम मधेश हुनुपर्ने वकालत गरेका थिए भने नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले मिथिला भोजपुरा र नेकपा एमाले तथा नेकपा (एस)का प्रदेशसभा सदस्यहरुले प्रदेशको नाम जानकी हुनुपर्ने अडान दोहोर्याएका थिए । केही प्रदेशसभा सदस्यहरुले भने मध्यमधेश हुनुपर्नेमा जोड दिएका थिए। यस हिसाबले प्रदेशसभामा नामको सवालमा कुनै पनि प्रस्तावको पक्षमा २ तिहाई बहुमत नपुग्ने देखिएको छ।

प्रदेश २ को नाम र स्थायी राजधानीको विषयमा विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदानमा जाने निष्कर्षसहित समितिले आफ्नो प्रतिवेदन सदनमा प्रस्तुत गरेको छ। 

प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ। प्रदेश २ प्रदेशसभामा सभामुखसहित १०४ जना छन्। दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७० प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ।

मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ प्रदेशसभा सदस्यहरु छन्। सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउँछन्। सभामुखलाई छोडेर मधेश प्रस्तावको पक्षमा ६२ जना प्रदेशसभा सदस्यहरु रहेका छन् । एक सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीले मधेसमै समर्थन गरेकाले त्यो मत जोड्दा मधेसको पक्षमा ६३ मत पुग्छ, जुन दुई तिहाई भन्दा ७ मतले कम छ।

मुख्यमन्त्री गम्भिर नरहेको आरोप

आइतबार प्रदेश २ को प्रदेशसभा बैठकमा नाम र राजधानीको विषयमा छलफल चलिरहेको थियो। तर सो छलफल चलिरहँदा अधिकांश प्रदेशसभा सदस्यहरु गयल रहेको देखियो। जसपाका अधिकांश प्रदेशसभा सदस्यहरु पार्टीको कार्यक्रममा सहभागी भएका थिए। सोही फेहरिस्तमा प्रदेश २को मुख्यमन्त्री लालबाबु राउत समेत थिए। मुख्यमन्त्री राउत दलबल सहित धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी भए तर प्रदेशको नाम र राजधानीका लागि प्रदेशसभामा चलिरहेको छलफलमा सहभागी भएनन्।

प्रदेशसभाको छलफलको क्रममा प्रदेशसभा सदस्य रानीकुमारी शर्माले मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशको नाम र राजधानीको निर्क्योल लगाउने विषयमा गम्भिर नरहेको आरोप लगाएकी छिन्। ‘मुख्यमन्त्री राउतका लागि प्रदेशको नामको विषयमा निष्कर्ष लगाउने लगाउनका लागि चलिरहेको छलफलमा सहभागी हुनका लागि समय छैन,’ प्रदेशसभा सदस्य शर्माले भनिन् ‘मुख्यमन्त्रीका लागि प्रदेशको नाम पाउने विषय महत्वपूर्ण होइन, पार्टीको प्रवेश कार्यक्रम महत्वपूर्ण छ।’  

असंवेदनशील सांसद

प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नाम र राजधानीको विषयमा छलफल चलिरहँदा कैयौँ प्रदेशसभा सदस्यहरुको असंवेदनशिलता देखिएको थियो। रोष्ट्रमबाट बोलिरहेकै क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले फोन उठाएर आफ्नो असंवेदनशिलता दर्शाए। प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा उनको मोबाइलमा फोन आउँदा उनले बीचमै फोन उठाएका थिए। फोन उठाएर उनले ‘ए भाइ’ भन्दै काटेका थिए। प्रदेशसभा सदस्य यादवले फोन काटेर गोजीमा राखेलगत्तै प्रदेशसभा सदस्यहरुबीच हाँसोको माहोल बनेको थियो। 

त्यसपछि नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य यादवले फोन आउँदा उठाउनैपर्यो भन्दै सांसदहरुलाई नहाँस्न आग्रह समेत गरे। यसका साथै प्रदेशसभा सदस्यहरु प्रल्हाद गिरी, करिमा बेगम लगायतका प्रदेशसभा सदस्यहरुले समेत आफ्नो मन्तव्यमा असंवेदनशिलता देखाएका थिए। उनीहरुले प्रदेशसभाको रोष्ट्रमबाटै जनकपुरधामका स्थानीयमा शिष्टता नरहेको भन्ने आशयको मन्तव्य दिएका थिए।

यस्तो छ प्रतिवेदन


प्रकाशित: Jan 16, 2022| 18:05 आइतबार, माघ २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।