काठमाडौं- गत हिउँदको पुस २ गते मध्यान्ह चाबहिल बुलबुले क्षेत्रमा रहेको गीतकार भैरवनाथ रिमाल ‘कदम’को निवास पुगेको थिएँ। पुस सुरु भइसके पनि त्यो दिन खुलेर घाम लागेको थियो। यसैले ८६ वर्षीय रिमाललाई छतमा घाम ताप्न राखिएको थियो।
छतको सुकुलमा बसेर हिउँदे–घाम तापिरहेका उनी स्वस्थ हुन्थे भने हामीसँग लेखेर कुरा गर्ने मुडमा रहन्थे। तर, आठ महिनादेखि उनी अस्वस्थ थिए। अल्जाइमर्सले गर्दा पुराना कुरा बिर्सने अनि कलम समाएर लेख्न नसक्ने भएका थिए। त्यही बेलादेखि घर वरपर हिँडडुल गर्न छाडेका थिए।
मैले आफू पत्रकार रहेको परिचय लेखेर बताएँ। उनले बुझेको जसरी सोधे, ‘तपाई पोखराबाट आउनुभएको हो?’
मैले दोहोर्याएर भने, ‘होइन म बनेपाको हुँ।’
तर, रिमालले बुझेनन्। केही छिनपछि मैले ठूलो अक्षरले कापीमा ‘नाम लेख्नुहोस्’ भनेर अनुरोध गरेँ। तर, उनी मानेनन्।
रिमालका छोरा अभिषेकले ‘बुबा नाम लेख्नुहोस् त’ भनेर हात समाइदिएपछि ‘हुन्छ नि’ भन्दै आफ्नो नाम खुसीसाथ कापीमा लेखेर मुस्कुराए।
उनले लेखेका थिए– नाम : भैरवनाथ रिमाल ‘कदम’
उनी लेख्न सक्ने रहेछन् भन्ने लागेर फेरि लेखेँ, ‘गीत लेख्नुभएको छैन ?’
केहीबेर घोरिएर उनले जवाफ लेखे– ‘क्यैक्यै लेख्ये छैन...’
यता, हजुरबुबाले कापीमा लेखेको देखेर कदमकी सानी नातिनीले छक्क पर्दै भनिन्, ‘मैले त बुबाले लेख्न सक्नुहुँदैन भनिठानेको थिएँ। अझै लेख्नुहुँदोरहेछ।’
०००
म हस्ताक्षर बोकेर रिमालको अवस्थाबारे फिचर लेख्न घर फर्किएँ। केही साता यतिकै बिते। विडम्बना, पुस २५ गते दिउँसो २:३० बजे ८६ वर्षको उमेरमा भैरवनाथ रिमालको निधन भएको खबर आयो। निधनको दिनअघि चिरायु अस्पताल लगेर उपचार उनलाई निवासमै ल्याइएको थियो।
जीवनभरि गीत, कविता, चिठीपत्र र साथीभाइका जवाफ लेखिरहेका रिमाललाई कलमले ठिकसँग कापीमा लेख्न नसक्दा निकै पीडा भएको उनका छोरा अभिषेक रिमाल बताउँछन्। मृत्युभन्दा २३ दिनअघि हामीलाई लेखेको हस्ताक्षर नै रिमालको अन्तिम अक्षर बन्न पुग्यो। २०१० सालदेखि नै कान सुन्न छाडेका रिमालले कोही मानिससँग कुरा गर्नुपर्दा लेखेर प्रश्न गर्न लगाउँथे।
जीवनभरि गीत, कविता, चिठीपत्र र साथीभाइका जवाफ लेखिरहेका रिमाललाई कलमले ठिकसँग कापीमा लेख्न नसक्दा निकै पीडा भएको उनका छोरा अभिषेक रिमाल बताउँछन्।
जीवनभरि गीत, कविता, मुक्तक र भजन लेखिरहने रिमालको कलम अब सधैंका लागि रोकिएको छ। १९९३ माघ २ गते ठमेल गल्कोपाखामा जन्मिएका रिमाल गीतकार र कविका रूपमा प्रसिद्ध छन्। तर, आफूले लेखेर श्रोताको मनमा बसेका गीत, कविता रिमाल आफैंले भने सुन्न पाउँदैनथे।
२०१० सालको एक दिन महाराजगन्जमा साइकलबाट कतै जाँदै गर्दा तीनवटा सवारी साधन, दाउरा बोकेर हिँडेको भरिया र रिमालको साइकल एक-आपसमा जुधे। दाउराको भारी र वाहनमुनि रिमाल थिचिए। त्यसक्रममा साइकलले ब्रेक रिमालको कानमा पसेर उनी गम्भीर घाइते भए।
केही महिनाको उपचारमा अन्य चोट त ठिक भयो। तर, उनको कानले बिस्तारै सुन्न छोड्यो। केही वर्ष अलिअलि सुन्थ्यो तर पछि केही पनि नसुन्ने भयो।
दुर्घटनापछि रिमालको जीवनले अर्को मोड लियो। उनी आफू बोल्न त सक्थे तर अरूले बोलेको नसुन्ने हुँदा लेखेर बोल्न लगाउँथे। यसपछि रिमालका एकपछि अर्का दुःख र वेदना मिश्रित गीतहरू आए। उनले राष्ट्रिय गीत तथा भजन पनि नलेखेका होइनन्। तर, स्रोताले उनका अवसादका गीत नै रुचाइरहे। रिमालले पनि जीवनको गीत सृजना गर्न कहिले कलम रोकेनन्।
सिद्धहस्त गीतकार
नातामा महाकवि देवकोटा कदमको सानोबुबा पर्थे। दश वर्षको उमेरदेखि नै देवकोटाको संगत गर्न पाएका रिमालले आफूले कविता लेख्न त्यहीँ सिकेको बताउँदै आएका थिए। १८ वर्षको उमेरसम्म आइपुग्दा उनी नाम चलेको कवि भइसकेका थिए।
सात दशक लामो साहित्यिक जीवनमा रिमालका एक दर्जन कवितासंग्रह, आधा दर्जन गीत र भजन सिडीहरू प्रकाशित भएका छन्।
गोरखापत्रमा ‘राष्ट्रिय दिवस आज’ शीर्षकको कविता २००८ फागुनमा प्रकाशित गरेयता रिमालको कलम रोकिएको थिएन। २००९ सालमै रेडियो नेपालमा उनले लेखेको गीत बज्न थालिसकेको थियो। आफ्ना गीत बज्न थाल्दा रिमालको उमेर मात्र १७ वर्षको थियो। गोविन्दलाल नेपालीको संगीत र किशोरीदेवीको आवाजमा रेडियोमा बज्न थालेको त्यो गीतको थियो–
रुन्छु म राति एक्लो दिलको चिता बनाई
सुनसान यो जगमा राँको ठूलो जगाई
बग्दै थियो नि आँसु ती आँखा दुवै रसाई
गाला र च्यापु धोइ बाटो कतै नपाई।
२००९ देखि गीत लेख्दै आएका रिमालले दुई हजारभन्दा बढी गीत लेखिसकेका छन्। रेडियो नेपालमा मात्र उनका ८ सय गीत रेकर्ड भएको तथ्यांक छ। पछि विभिन्न गायक–गायिकाले फुटकर रूपमा कदमले लेखेका गीत गाए। ती गीत कुन कता छ स्वयं कदमलाई पनि थाहा थिएन।
दुई वर्षअघि आफ्ना सबै गीत म्युजिक नेपाललाई दिएको बताएका थिए। यसबारे म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मासँग कुरा गर्दा कदमले सबै गीतको स्वामित्व म्युजिक नेपाललाई दिइएको बताए। शर्माले भने, ‘उहाँको निधनसँगै म्युजिक नेपालले भैरवनाथ रिमालको ज्युकबक्स बनाएर गीत अपलोड गर्ने तयारी गरेको छ।’
०००
रिमालको जीवनमा नातिकाजी र नारायणगोपाल प्रमुख संगीतकारको रूपमा देखा परेका छन्। नारायणगोपालको स्वरमा बज्ने ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाको स्वरमा बज्ने ‘उदास मेरो जीवन कथा, फत्तेमानको स्वरमा बज्ने ‘जिन्दगीको पानाभरि’ तथा ‘शान्तिको धारा सदैव कलकल’जस्ता दर्जनौं गीत लाखौं स्रोताले मन पराएका छन्। यसबाहेक नयाँ पुस्ताका संगीतकारले पनि उनको शब्दमा संगीत र आवाज दिएका छन्। उदितनारायण झा, रामकृष्ण ढकाल, प्रवेशमान शाक्य, दीप श्रेष्ठले कदमको गीतमा कालजयी आवाज दिएका छन्।
कैलाश भण्डारीसँगको अन्तर्वार्तामा पुरस्कार र मान–सम्मानभन्दा श्रोताको माया नै ठूलो ठानेको बताएका छन्। कदमले भनेका छन्, ‘मैले लेखेका गीत र कवितामा तपाईंले आफ्नो जीवन भेट्नुभयो भने त्यही नै मेरो सफलता हो।’
संगीतकार शुभबहादुर सुनाम कदमलाई उच्च कोटीको गीतकार मान्छन्।
सात दशक लामो साहित्यिक जीवनमा रिमालका एक दर्जन कवितासंग्रह, आधा दर्जन गीत र भजन सिडीहरू प्रकाशित भएका छन्। भैचम्पा (खण्डकाव्य) वि. सं. २०११ उनको पहिलो पुस्तक हो भने, ‘भुँइको धुलो’, ‘मेरो देश अनि म’ (खण्डकाव्य) ‘ढुङ्गाको मूर्ति’, ‘हिमालको झर्ना’, ‘माटो रम्छ’, ‘शैलजा’, ‘पत्थर हृदय’लगायत तीन दर्जन पुस्तक रिमालको नाममा प्रकाशित छ।
संगीतकार शुभबहादुर सुनाम कदमलाई उच्च कोटीको गीतकार मान्छन्। शुभबहादुर भन्छन्, ‘शब्दलाई गीतको माध्यमले मानिसको भित्री हृदय छुन सक्ने सर्जक हुन् गीतकार कदम। उहाँलाई नेपाली संगीत र साहित्यले बिर्सन सक्दैन।’
वरिष्ठ संगीतकार भूपेन्द्र रायमाझीका अनुसार सबै विधाका गीत लेख्न सक्ने खुबी रिमालमा थियो। रिमालका आधा दर्जन गीतमा संगीत गरेका रायमाझी भन्छन्, ‘कदम लय र संगीतलाई सुललित बान्की मिलाएर गीत लेख्ने स्रष्टा हुनुहुन्छ। आधुनिक, लोक, भजन सबै विधामा उहाँ सिद्धहस्त हुनुहुन्छ।’
यता गायक दीप श्रेष्ठ पनि कदमलाई जिन्दगीका सुख–दुःख सशक्त लेख्न सक्ने कवि मान्छन्। नेपाली संगीतलाई विशिष्ट शब्दको माध्यमद्वारा उचाइ प्रदान गर्ने सर्जकको संज्ञा दिन्छन्।