बिहीबार, भदौ ४, २०८३

ड्रायर मेशिन भित्रिएपछि कृषक उत्साहित

धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन्।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

झापा- धान सुकाउने ड्रायर मेशिन भित्रिएपछि झापा गौरादहका चैते धान खेती गर्ने कृषक उत्साहित बनेका छन्। ड्रायर मेशिन भित्रिएपछि चैते धान सुकाएर भण्डार गर्न र राम्रो मूल्य पाइने भएपछि यहाँका कृषक उत्साहित बनेका हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत लागत सहभागितामा गौरादह नगरपालिका–५ स्थित नमूना एकीकृत कृषि सहकारी खेतीलाई एउटा ‘मुभेबल’ ड्रायर मेशिन प्रदान गरिएको छ।

संस्थाका अध्यक्ष वेदनिधि चापागाईंले ड्रायर मेशिन पाएपछि धान सुकाउन सहज भएको बताए। ‘चैते धान नबिक्ने र मूल्य नपाउने समस्या छ’,उनले भने, ‘यो पटक धानको भाउ घटेर प्रतिमत रु ५०० मा प्रतिमन बेच्नुपर्ने अवस्था आयो, धान सुकाएर राख्दा दुई-तीन महिनापछि एक हजार सहजै पाउन सकिन्छ।’

झापामा चैते धानका लागि ड्रायर मेशिनको धेरै आवश्यक रहेको उनले बताए। समूहअन्तर्गत यहाँका किसानले ८० बिघामा चैते धान खेती गर्दै आएका छन् । ‘कृषिमा व्यावसायिकीकरण गर्ने उद्देश्यले पनि हामीले सामूहिक खेती सुरु गरेका हौँ’, उनले भने, ‘जग्गाअनुसार धान दिने र काम गर्ने कृषकले ज्यालासमेत पाउने छन्।’ गत वर्ष चार हजार मन धान उत्पादन गरिएको अध्यक्ष चापागाईं बताए।

गौरादह–५ कै कृषक अर्जुन खतिवडा वर्षा–झरीका बेला चैते धान भित्र्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको बताउछन्। धानको संरक्षण र भण्डारण गर्न नसक्दा बजार भाउ नपाइने उनले बताउछन्। उनले भने, ‘धान सुकाएर राख्दा ३० देखि ४० प्रतिशत मूल्य बढी पाइन्छ, यसले चैते धान लगाउने कृषकलाई प्रत्यक्ष र ठूलो राहत मिल्नेछ।’

चैते धानमा चिस्यान धेरै हुने भएकाले भण्डारण गर्न सकिँदैन त्यसैले सस्तो–महँगो जति भए पनि धान बेच्नुपर्ने बाध्यता रहेको कृषक बताउँछन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ झापाका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले नमूना एकीकृत कृषि सहकारी खेतीलाई ड्रायर मेशिनमा ५० प्रतिशत र पोष्टहार्वेस्ट निर्माणका लागि ८५ प्रतिशत अनुदान दिइएको जानकारी दिए। 

परियोजना कार्यान्वयन एकाइले ड्रायर मेशिनका लागि  २० लाख, पोष्टहार्वेस्ट निर्माणका लागि  २० लाख अनुदान दिएको हो। उक्त ड्रायर मेशिनबाट धानका साथै मकै पनि सुकाउन मिल्छ।

‘मेशिनको सफलता हेर्न बाँकी छ’, वरिष्ठ कृषि अधिकृत सुवेदीले भने, ‘राम्रो भयो भने कृषकले लाभ पाउनाका साथै चैते धान खेती विस्तारमा समेत सहयोग पुग्छ।’ उनका अनुसार चैते धानमा ३०/३५ प्रतिशत चिस्यान हुन्छ, धान भण्डारण गर्न १८ प्रतिशतभन्दा कम र बीउका लागि १२ प्रतिशतसम्म चिस्यान हुनुपर्छ। उनले भने, ‘ड्रायर मेशिनले धान सुकाएर दुई-चार महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ, कृषकले पर्खेर राम्रो मूल्यमा बेच्न पनि सक्छन्।’ यस पटक पनि झापाको गौरादहबाट चैते धानले उचित मूल्य नपाएको गुनासो आएको उनले  बताए।

झापामा सुपरजोनअन्तर्गत चैते धानको क्षेत्र एक हजार ५०० बिघाबाट बढेर दुई हजार १०० बिघा पुगेको परियोजना कार्यान्वयन एकाइले जनाएको छ।

प्रकाशित: Aug 06, 2021| 08:45 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।