मंगलबार, असार ३०, २०८३

'सेलिब्रेटी सु-मेकर'को जुत्ता जिन्दगी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अहमद दुल्लाह ३० वर्षका भए । अग्ला र चिम्सा आँखा भएका उनी मुसलमान समुदायका सदस्यजस्ता देखिँदैनन्, मंगोलियन अनुहार अर्थात् राई, लिम्बूजस्तै लाग्छन् । 

परिवारले नचाहेको काम गरे, आफैं कामदार आफैं मालिक । उनको कामबाट परिवारका सदस्यहरू अझै खुशी छैनन् । 

निक्कै व्यस्त छन्, दुल्लाह । 'टीएफटी दी फ्याक्ट्री टिम'मा जुत्ता प्याक गर्दै गरेको अवस्थामा भेटिए, उनी । डिजाइनमै नेपाली युवा-युवतीको रोजाइ ख्याल गर्छन् । 

कुमारी हल र सिटीसेन्टरको बीचमा सात वर्षअघि 'टीएफटी दी फ्याक्ट्री टिम' जन्माए । यसबीचमा उनको परिचय पनि 'सेलिब्रेटी सु मेकर'को बन्यो । र, जुत्ता जिन्दगीलाई 'हाई-प्रोफाइल' रूप दिए । 

उनी सानोमा साह्रै भुलक्कड थिए । पढेका कुरा पटक्कै याद नहुने । एउटै कक्षामा तीन वर्षसम्म 'फेल' भए । साथीहरूले हेप्थे, चिताएजस्तो छोरो नबनेकामा बाबु-आमा चिन्तित थिए । 

पढाइ सुधार्ने अपेक्षामा बाबु-आमाले दार्जिलिङ पठाए । त्यहीं मुस्किलले कक्षा-१० उत्तीर्ण गरे । प्लस टु पढ्न परिवारबाट दबाब तीव्र थियो । सँगै पढेका साथीहरू इन्जिनियरिङ र साइन्सको कक्षा लिन थाले, उनी भने मानविकीमा भर्ना भए । 

 
काठमाडौंबाट देशव्यापी र त्यसपछि अन्तर्राष्ट्रिय बजारमा जुत्ता निर्यात गर्ने योजनामा अहमद दुल्लाह ।

जुत्ता नै जीवन

जिन्दगी कसरी अगाडि बढाउने ? चिन्ता त उनमा पनि थियो । गुगलमा जिन्दगीको गन्तव्य पत्ता लगाउन जुटे । 

सानैदेखि जुत्ताका रंग र साइजले उनलाई लोभ्याउँथे । र, राम्रा जुत्ता लगाउने सोख पनि थियो । त्यही सोखलाई पेसामा बदल्ने विचार गरे । भन्छन्, 'जुत्ता खोज्दै दिनरात गुगलमा हराउँथें र फुटपाथमा हिँड्ने मान्छेका गोडा हेर्दै गल्ली चहार्थें ।'

गुगलमा फेला पारे, 'फुटवेयर टेक्नोलोजी' । त्यही उनका लागि शैक्षिक केन्द्र बन्यो । ८० प्रतिशत अभ्यास र २० प्रतिशत सैद्धान्तिक विषय थियो त्यो । उनी चाहन्थे नै, पढेरभन्दा काम गरेर रमाउन । आखिर एक दिन उनको सपनाले गोरेटो फेला पार्‍यो ।

उनले अनलाइन फर्म भरे । भारत सरकार मातहतको फुटवेयर डिजाइन एन्ड डेभेलपमेन्ट इन्स्टिच्युट (एफडीडीआई)ले ६० जनाका लागि आवेदन खुलाएको थियो । उनी छनोट भए र दुई लाख खर्चेर दिल्ली पुगे । 

'कतै बुवाको पैसा त्यसै जान्छ कि भन्नेमा खुब डराएको थिएँ,' उनी भन्छन् । 

उनको परिवारमा जुत्ता कसैले बनाएको थिएन । तथापि, समाजले के सोच्ला भन्ने फिक्री गरेनन् । 

दिल्लीमा तीन वर्ष बिताए । छालाका जुत्ता बनाउने ज्ञान आर्जन गरे । छाला छाँट्ने, मेसिन चलाउने, डिजाइन तथा सोल-इनसोल र उत्पादन गर्ने । त्यसपछि सिके, छालाको गुणस्तर चिन्न । सफ्तरगञ्ज बस्थे, नोयडामा हुन्थ्यो पढाइ । दैनिक २० किलोमिटर आउजाउ गर्थे । 

दिल्लीपछि उनी मुम्बई पुगे, जहाँ युरोपेली ब्रान्डमा काम गर्ने मौका पाए । 'जिसो' नामक कम्पनीमा उनले जुत्तालाई 'ब्रान्डिङ' गर्न सिके । त्यही सिकाइले उनलाई नेपाली उपभोक्ताको रोजाइ पत्ता लगाउन मद्दत गर्‍यो । 

मुम्बईबाट ६ महिनापछि नेपालमा आए । र, राजधानीका गल्ली-गल्लीमा मान्छेको खुट्टादेखि र्‍याकमा सजाएर राखेका जुत्तासमेत हेर्न थाले । बजारमा देखिएका जुत्ताहरूमा उनको मन भुलेन । 



लक्ष्य मध्यम वर्ग

र, आफूले सिकेको जुत्ता बजारलाई देखाउनुपर्छ भन्ने सोचे । तर, शुरु कहाँबाट गर्ने ? उनी भन्छन्, 'आफूले बनाउन चाहेको जुत्ताको सपना पहिलोपटक राजधानीका युवतीहरूका खुट्टामा देखें ।' 

युवतीहरूले पछ्याउँदै आएको फेसन 'क्यास' गर्न लेडिज जुत्ताको डिजाइनमा लागे । तर, उनीहरूका लागि तयार भएका जुत्ता बिक्री भएनन् । भन्छन्, 'मलाई लेडिज जुत्ता बेच्नै आएन ।'

महँगो जुत्ता हाई-प्रोफाइल परिवारले नै खरिद गर्छन् भन्ने उनलाई लाग्थ्यो । व्यवसायमा 'पहिलो गाँसमै ढुंगा' लागेपछि मात्र थाहा पाए, काठमाडौंमा त उच्च घराना नभई मध्यम वर्गीय परिवार पो फेसनमा रूचि राख्दो रहेछ । 

अनि, उनले 'गेम चेन्ज' गरे । शहरिया युवतीको भावना बुझे, उनीहरूले पकेट मनी बचाएर सपिङ गर्दा रहेछन् ।

र, पकेट मनीबाट बचेको पैसाले खरिद गर्न सकिने जुत्ता बनाउन थाले । तीन वर्ष आफैं जुत्ता मात्र बनाएनन्, ग्राहकसम्म आफैंले 'डेलिभरी' पनि दिए । त्यसबाट ग्राहकको भावना बुझ्न सजिलो भयो । 

गोदामबाट शुरु भएको जुत्ताको 'सफर' अहिले 'सुज फ्याक्ट्री'सम्म पुगेको छ । उनले बनाएका जुत्ता काठमाडौं उपत्यकाको घेरा नाघेर पोखरासम्म पुग्न थालेका छन् । विस्तारै देशव्यापी बनाउने योजनामा छन् । 

भन्छन्, 'अहिले भने मेरा जुत्ताको माउथ पब्लिसिटी मात्र भइरहेको छ ।' 

विवाहको सिजनमा उनका जुत्ता बढी बिक्री हुन्छन् । केटाहरूको जुत्ता बिक्री गरेर पनि नाफा नै बटुलिरहेका छन् । 

 
'पूर्ण अनलाइन व्यापार चलाउँछु । मालिक पनि मै, कालिगड पनि मै ।'


डिजाइन क्रममा उनी 'समर' र 'विन्टर'लाई ख्याल राख्छन् । एक पटकमा सय-सय जोडी उत्पादन गर्छन् । र, तिनलाई ६ महिनामा बिक्री गरिसक्छन् । 

छालाको रंग आफ्नै अनुभवका आधारमा छनोट गर्छन् । कुनै-कुनै रंग यस्ता पर्छन्, जुन बजारमा पठाउन अलि अन्कनाउँछन् । तर, पछि त्यही रंग बजारले बढी माग गर्छ । 

'ग्याम्लिङ हो यो पेसा,' उनी भन्छन् । हरेक काममा चुनौती हुन्छ नै तर लगावका साथ काम गर्दा सफलता धेरै टाढा देख्दैनन् । 

अहिले 'ब्ल्याक' र 'ब्राउन' रंगका जुत्ता बिक्री गर्दै आएका छन् । 'लाइट ब्ल्याक', 'चकलेट ब्राउन', 'कफी ब्राउन' र 'लाइट ब्राउन' ।

उनको फ्याक्ट्रीमा उत्पादित जुत्ताको शुरुवाती मूल्य पाँच सय रुपैयाँ थियो । अहिले त्यही जुत्ताको मूल्य सातदेखि आठ हजार रुपैयाँ पर्छ । 

विस्तारै उनको ध्यान ब्याग, जुत्ता, बेबी सुज, लेडिज सुज र लेदर ज्याकेटतिर पनि मोडिँदैछ । उनको फ्याक्ट्रीमा उत्पादित एउटा ब्यागको मूल्य १२ हजार रुपैयाँसम्म पर्छ । 

जुत्तामा आउनले समस्या 'रि-सोलुसन' गर्छन् । चार वर्ष पुरानो जुत्ता फ्याक्ट्रीमा रंग लगाउन ल्याउने गरेका छन्, उपभोक्ताले । 

छाला भारतबाट मगाउँछन् । 'बब छाला'को प्रयोग बढी गर्छन् । भन्छन्, 'जुत्ता बेच्न मैले पसल खोलिरहनु पर्दैन, सोखिन ग्राहक यहीं आउँछन् ।'

कामलाई उनले कहिल्यै सानो या ठूलो मानेनन् । परिवारबाट भने त्यो आफूहरूको पेसा नभएको भन्दै निरन्तर दबाब नआएको होइन । तर, उनी आफ्नो पेसामा अझ दृढ हुँदै आए । त्यही आत्मविश्वास थियो, १८ वर्षको उमेरमा उनलाई दिल्ली पुर्‍याउने । 

अढाइ लाखमा शुरु भएको व्यवसाय अहिले करिब तीन करोडको भएको छ । अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने उनको योजना छ । र, तयारी पनि थालेका छन् । 

अन्य कम्पनीले उनलाई मासिक दुई लाख रुपैयाँको तलबमा काम गर्न बोलाइरहेका छन् । तर, उनको मन जुत्तामै बसेको छ, जागिर खाने मनस्थितिमा छैनन् । 

स्कुल र कलेजमा 'मोटिभेसन क्लास' दिन भने उनी सहजै तयार हुन्छन् । किनभने, पढाइमा 'लास्ट बेन्च'का विद्यार्थी उनी आफैं व्यापारी बनेका छन् । त्यस्ता क्लासमा उनी आफ्नो 'ट्यालेन्ट'मा विश्वास गर्न विद्यार्थीहरूलाई सुझाउँछन् । 

ठूला उद्योगी र व्यापारीहरू उनीसँग सहकार्यका लागि लालायित देखिन थालेका छन् । तर, उनी एक्लै आफ्नो व्यवसायलाई उचाइ दिन लागिपरेका छन् । 

बजार र चोकमा स्टल राख्ने या सटर भाडामा लिएर जुत्ता सजाउने उनको मनसाय छैन । भन्छन्, 'पूर्ण अनलाइन व्यापार चलाउँछु ।' ग्राहकको रोजाइमा आधा घण्टामै हातमा पुर्‍याउने उनको सोच छ । भन्छन्, 'मालिक पनि मै, कालिगड पनि मै ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।