काठमाडौं- अहमद दुल्लाह ३० वर्षका भए । अग्ला र चिम्सा आँखा भएका उनी मुसलमान समुदायका सदस्यजस्ता देखिँदैनन्, मंगोलियन अनुहार अर्थात् राई, लिम्बूजस्तै लाग्छन् ।
परिवारले नचाहेको काम गरे, आफैं कामदार आफैं मालिक । उनको कामबाट परिवारका सदस्यहरू अझै खुशी छैनन् ।
निक्कै व्यस्त छन्, दुल्लाह । 'टीएफटी दी फ्याक्ट्री टिम'मा जुत्ता प्याक गर्दै गरेको अवस्थामा भेटिए, उनी । डिजाइनमै नेपाली युवा-युवतीको रोजाइ ख्याल गर्छन् ।
कुमारी हल र सिटीसेन्टरको बीचमा सात वर्षअघि 'टीएफटी दी फ्याक्ट्री टिम' जन्माए । यसबीचमा उनको परिचय पनि 'सेलिब्रेटी सु मेकर'को बन्यो । र, जुत्ता जिन्दगीलाई 'हाई-प्रोफाइल' रूप दिए ।
उनी सानोमा साह्रै भुलक्कड थिए । पढेका कुरा पटक्कै याद नहुने । एउटै कक्षामा तीन वर्षसम्म 'फेल' भए । साथीहरूले हेप्थे, चिताएजस्तो छोरो नबनेकामा बाबु-आमा चिन्तित थिए ।
पढाइ सुधार्ने अपेक्षामा बाबु-आमाले दार्जिलिङ पठाए । त्यहीं मुस्किलले कक्षा-१० उत्तीर्ण गरे । प्लस टु पढ्न परिवारबाट दबाब तीव्र थियो । सँगै पढेका साथीहरू इन्जिनियरिङ र साइन्सको कक्षा लिन थाले, उनी भने मानविकीमा भर्ना भए ।
काठमाडौंबाट देशव्यापी र त्यसपछि अन्तर्राष्ट्रिय बजारमा जुत्ता निर्यात गर्ने योजनामा अहमद दुल्लाह ।
जुत्ता नै जीवन
जिन्दगी कसरी अगाडि बढाउने ? चिन्ता त उनमा पनि थियो । गुगलमा जिन्दगीको गन्तव्य पत्ता लगाउन जुटे ।
सानैदेखि जुत्ताका रंग र साइजले उनलाई लोभ्याउँथे । र, राम्रा जुत्ता लगाउने सोख पनि थियो । त्यही सोखलाई पेसामा बदल्ने विचार गरे । भन्छन्, 'जुत्ता खोज्दै दिनरात गुगलमा हराउँथें र फुटपाथमा हिँड्ने मान्छेका गोडा हेर्दै गल्ली चहार्थें ।'
गुगलमा फेला पारे, 'फुटवेयर टेक्नोलोजी' । त्यही उनका लागि शैक्षिक केन्द्र बन्यो । ८० प्रतिशत अभ्यास र २० प्रतिशत सैद्धान्तिक विषय थियो त्यो । उनी चाहन्थे नै, पढेरभन्दा काम गरेर रमाउन । आखिर एक दिन उनको सपनाले गोरेटो फेला पार्यो ।
उनले अनलाइन फर्म भरे । भारत सरकार मातहतको फुटवेयर डिजाइन एन्ड डेभेलपमेन्ट इन्स्टिच्युट (एफडीडीआई)ले ६० जनाका लागि आवेदन खुलाएको थियो । उनी छनोट भए र दुई लाख खर्चेर दिल्ली पुगे ।
'कतै बुवाको पैसा त्यसै जान्छ कि भन्नेमा खुब डराएको थिएँ,' उनी भन्छन् ।
उनको परिवारमा जुत्ता कसैले बनाएको थिएन । तथापि, समाजले के सोच्ला भन्ने फिक्री गरेनन् ।
दिल्लीमा तीन वर्ष बिताए । छालाका जुत्ता बनाउने ज्ञान आर्जन गरे । छाला छाँट्ने, मेसिन चलाउने, डिजाइन तथा सोल-इनसोल र उत्पादन गर्ने । त्यसपछि सिके, छालाको गुणस्तर चिन्न । सफ्तरगञ्ज बस्थे, नोयडामा हुन्थ्यो पढाइ । दैनिक २० किलोमिटर आउजाउ गर्थे ।
दिल्लीपछि उनी मुम्बई पुगे, जहाँ युरोपेली ब्रान्डमा काम गर्ने मौका पाए । 'जिसो' नामक कम्पनीमा उनले जुत्तालाई 'ब्रान्डिङ' गर्न सिके । त्यही सिकाइले उनलाई नेपाली उपभोक्ताको रोजाइ पत्ता लगाउन मद्दत गर्यो ।
मुम्बईबाट ६ महिनापछि नेपालमा आए । र, राजधानीका गल्ली-गल्लीमा मान्छेको खुट्टादेखि र्याकमा सजाएर राखेका जुत्तासमेत हेर्न थाले । बजारमा देखिएका जुत्ताहरूमा उनको मन भुलेन ।
लक्ष्य मध्यम वर्ग
र, आफूले सिकेको जुत्ता बजारलाई देखाउनुपर्छ भन्ने सोचे । तर, शुरु कहाँबाट गर्ने ? उनी भन्छन्, 'आफूले बनाउन चाहेको जुत्ताको सपना पहिलोपटक राजधानीका युवतीहरूका खुट्टामा देखें ।'
युवतीहरूले पछ्याउँदै आएको फेसन 'क्यास' गर्न लेडिज जुत्ताको डिजाइनमा लागे । तर, उनीहरूका लागि तयार भएका जुत्ता बिक्री भएनन् । भन्छन्, 'मलाई लेडिज जुत्ता बेच्नै आएन ।'
महँगो जुत्ता हाई-प्रोफाइल परिवारले नै खरिद गर्छन् भन्ने उनलाई लाग्थ्यो । व्यवसायमा 'पहिलो गाँसमै ढुंगा' लागेपछि मात्र थाहा पाए, काठमाडौंमा त उच्च घराना नभई मध्यम वर्गीय परिवार पो फेसनमा रूचि राख्दो रहेछ ।
अनि, उनले 'गेम चेन्ज' गरे । शहरिया युवतीको भावना बुझे, उनीहरूले पकेट मनी बचाएर सपिङ गर्दा रहेछन् ।
र, पकेट मनीबाट बचेको पैसाले खरिद गर्न सकिने जुत्ता बनाउन थाले । तीन वर्ष आफैं जुत्ता मात्र बनाएनन्, ग्राहकसम्म आफैंले 'डेलिभरी' पनि दिए । त्यसबाट ग्राहकको भावना बुझ्न सजिलो भयो ।
गोदामबाट शुरु भएको जुत्ताको 'सफर' अहिले 'सुज फ्याक्ट्री'सम्म पुगेको छ । उनले बनाएका जुत्ता काठमाडौं उपत्यकाको घेरा नाघेर पोखरासम्म पुग्न थालेका छन् । विस्तारै देशव्यापी बनाउने योजनामा छन् ।
भन्छन्, 'अहिले भने मेरा जुत्ताको माउथ पब्लिसिटी मात्र भइरहेको छ ।'
विवाहको सिजनमा उनका जुत्ता बढी बिक्री हुन्छन् । केटाहरूको जुत्ता बिक्री गरेर पनि नाफा नै बटुलिरहेका छन् ।
'पूर्ण अनलाइन व्यापार चलाउँछु । मालिक पनि मै, कालिगड पनि मै ।'
डिजाइन क्रममा उनी 'समर' र 'विन्टर'लाई ख्याल राख्छन् । एक पटकमा सय-सय जोडी उत्पादन गर्छन् । र, तिनलाई ६ महिनामा बिक्री गरिसक्छन् ।
छालाको रंग आफ्नै अनुभवका आधारमा छनोट गर्छन् । कुनै-कुनै रंग यस्ता पर्छन्, जुन बजारमा पठाउन अलि अन्कनाउँछन् । तर, पछि त्यही रंग बजारले बढी माग गर्छ ।
'ग्याम्लिङ हो यो पेसा,' उनी भन्छन् । हरेक काममा चुनौती हुन्छ नै तर लगावका साथ काम गर्दा सफलता धेरै टाढा देख्दैनन् ।
अहिले 'ब्ल्याक' र 'ब्राउन' रंगका जुत्ता बिक्री गर्दै आएका छन् । 'लाइट ब्ल्याक', 'चकलेट ब्राउन', 'कफी ब्राउन' र 'लाइट ब्राउन' ।
उनको फ्याक्ट्रीमा उत्पादित जुत्ताको शुरुवाती मूल्य पाँच सय रुपैयाँ थियो । अहिले त्यही जुत्ताको मूल्य सातदेखि आठ हजार रुपैयाँ पर्छ ।
विस्तारै उनको ध्यान ब्याग, जुत्ता, बेबी सुज, लेडिज सुज र लेदर ज्याकेटतिर पनि मोडिँदैछ । उनको फ्याक्ट्रीमा उत्पादित एउटा ब्यागको मूल्य १२ हजार रुपैयाँसम्म पर्छ ।
जुत्तामा आउनले समस्या 'रि-सोलुसन' गर्छन् । चार वर्ष पुरानो जुत्ता फ्याक्ट्रीमा रंग लगाउन ल्याउने गरेका छन्, उपभोक्ताले ।
छाला भारतबाट मगाउँछन् । 'बब छाला'को प्रयोग बढी गर्छन् । भन्छन्, 'जुत्ता बेच्न मैले पसल खोलिरहनु पर्दैन, सोखिन ग्राहक यहीं आउँछन् ।'
कामलाई उनले कहिल्यै सानो या ठूलो मानेनन् । परिवारबाट भने त्यो आफूहरूको पेसा नभएको भन्दै निरन्तर दबाब नआएको होइन । तर, उनी आफ्नो पेसामा अझ दृढ हुँदै आए । त्यही आत्मविश्वास थियो, १८ वर्षको उमेरमा उनलाई दिल्ली पुर्याउने ।
अढाइ लाखमा शुरु भएको व्यवसाय अहिले करिब तीन करोडको भएको छ । अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने उनको योजना छ । र, तयारी पनि थालेका छन् ।
अन्य कम्पनीले उनलाई मासिक दुई लाख रुपैयाँको तलबमा काम गर्न बोलाइरहेका छन् । तर, उनको मन जुत्तामै बसेको छ, जागिर खाने मनस्थितिमा छैनन् ।
स्कुल र कलेजमा 'मोटिभेसन क्लास' दिन भने उनी सहजै तयार हुन्छन् । किनभने, पढाइमा 'लास्ट बेन्च'का विद्यार्थी उनी आफैं व्यापारी बनेका छन् । त्यस्ता क्लासमा उनी आफ्नो 'ट्यालेन्ट'मा विश्वास गर्न विद्यार्थीहरूलाई सुझाउँछन् ।
ठूला उद्योगी र व्यापारीहरू उनीसँग सहकार्यका लागि लालायित देखिन थालेका छन् । तर, उनी एक्लै आफ्नो व्यवसायलाई उचाइ दिन लागिपरेका छन् ।
बजार र चोकमा स्टल राख्ने या सटर भाडामा लिएर जुत्ता सजाउने उनको मनसाय छैन । भन्छन्, 'पूर्ण अनलाइन व्यापार चलाउँछु ।' ग्राहकको रोजाइमा आधा घण्टामै हातमा पुर्याउने उनको सोच छ । भन्छन्, 'मालिक पनि मै, कालिगड पनि मै ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४