काठमाडौं- रसियामा जारी विश्वकप फुटबल प्रतियोगितको बहुप्रतिक्षित उपाधी भिडन्तका लागि आइतबार फ्रान्स र क्रोयशिया मैदानमा उत्रिदैछन् । रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि खेल सुरु हुनेछ ।
यो खेलले सन् १९९८ को एउटा सेमिफाइनल खेलको सम्झना दिलाउनेछ । २० वर्षअघि घरैमा भएको विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएशियालाई हराउँदै फाइनलमा पुगेको थियो । सोहि वर्ष उसले विश्वकपको ट्रफी चुमेको थियो । २० वर्षअघि फाइनलमा पुग्न रोकेको फ्रान्ससंग आज क्रोएशियालाई बदला लिने मौका मिलेको छ ।
फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ । १९९८ मा विश्वकपको उपाधि जितेको उसले दोस्रो पटक उपाधि उचाल्दै अर्जेन्टिना र उरुग्वेको हाराहारीमा दुई तारा झुन्डाउने लक्ष्यमा छ । पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएशिया भन उपाधी उचाल्दै सुनौलो इतिहास रच्ने दाउमा छ ।
सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै क्रोएसियाले विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पाइला टेकेको हो । विश्वकप फुटबलको उपाधी क्रोएसियाले जितेमा आफ्नो फुटबल इतिहासमा ऐतिहासिक सफलता हात पार्नेछ । अहिलेसम्म क्रोएसियाले विश्वकप फुटबलमा फाइनलसम्मको यात्रा तय गर्न सकेको थिएन ।
यता, फ्रान्सले भने सेमिफाइनलमा बेल्जियमलाई १–० गोलले पराजित गर्दै १२ वर्षपछि फाइनलमा स्थान बनाएको थियो । फ्रान्सको विश्वकप फुटबलमा तेस्रो फाइनल प्रवेश हो । यसअघि सन् १९९८ मा भएको विश्वकप फुटबलको उपाधि फ्रान्सले पहिलो पटक उचालेको थियो । त्यस्तै, सन् २००६ मा फ्रान्स फाइनलमा पुग्दै उपविजेता बनेको थियो ।
क्रोएसिया र फ्रान्सबीच अहिलेसम्म ५ खेलमा भेट भएको छ । जुन खेलमा फ्रान्सले ३ पटक जित हात पारेको छ । क्रोएसियाले भने फ्रान्सलाई अहिलेसम्म पराजित गर्न सकेको छैन । फ्रान्स र क्रोएसियाले २ खेलमा भने बराबरी खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४