मंगलबार, असार ३०, २०८३

माओवादी युद्धमा हात गुमाए तर रमेशले हरेश खाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १३ पुस ०५७ को साँझ स्याँठिलो चिसो काठमाडौं सुन्धारामा रूमलिँदै थियो । तर, रमेशकुमार श्रेष्ठ त्यसको परवाह नगरी पर्खिरहेका थिए, एउटा निश्चित समय ।

त्यो साँझ व्यस्त सुन्धारा परिवेश मान्छेहरूको चाप पातलिँदै थियो । पातलो कुहिरोको चिसो छलेर मान्छेहरू घर फर्किने तयारीमा थिए । उनी भने हातमा 'ग्रिनेड' लिएर न्युरोड जाने तयारीमा थिए ।

आठ जनाको समूहमा हिँडेको टोली राजधानीका विभिन्न स्थानमा फैलिएको थियो । उनीसँग भने दुई जना थिए, जो गोरखाकै थिए । उनीहरू न्युरोडको एक प्रहरी कार्यालयमा बम हान्ने योजनाअनुसार हिँडेका थिए । उनी सम्झन्छन्, 'ग्रिनेड लिएर हामी प्रहरीलाई उडाउन हिँडेका थियौं तर मेरै हात उड्यो ।'

देशमा माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा पुगेको थियो । त्यतिबेलै बलिउड नायक ऋतिक रोशनले नेपालविरोधी अभिव्यक्ति दिएको अफवाह फैलियो । र, नेपालीको देश प्रेम सडकमा छताछुल्ल भयो । 

पुस ०५७ मा देशभर ऋतिकको पुत्ला दहन र आन्दोलन चर्कियो । सिनेमा हलहरूमा टाँगिएका भारतीय सिनेमाका पोस्टर च्यात्ने र जलाउने अभियान नै चलाए, आन्दोलनकारीले । टेलिभिजन सेवा प्रदायकलाई भारतीय च्यानल बन्द गराउन चर्को दबाब परिरहेको थियो । 

'त्यही आन्दोलनको फाइदा लिने योजना पार्टी ब्युरो इन्चार्जले हामीलाई जानकारी दिए,' उनी भन्छन् ।

ग्रिनेड बोकेको मान्छे

त्यसबेला देशमा संकटकाल लागिसकेको थिएन । माओवादीको जनमुक्ति सेनाले प्रहरीमाथि आक्रमणलाई व्यापक बनाएको थियो । हालका गृहमन्त्री रामबहादुर थापा 'बादल' माओवादीको उपत्यका ब्युरो इन्चार्ज थिए । 

त्यही बेला रमेश स्पेसल टास्क फोर्सको तालिम लिएर राजधानी छिरेका थिए । उनी भन्छन्, 'ऋतिक रोशनविरुद्धको आन्दोलनलाई युद्धको पक्षमा पार्नुपर्छ भन्ने पार्टीको योजना बन्यो र त्यही सिलसिलालाई पछ्याउँदै प्रहरीलाई आक्रमण गर्न हिँडेका थियौं ।'

त्यतिखेर क्षेत्रीय ब्युरोको योजनामा उनी हिँडेका थिए । 'फिल्ड'ले कहाँ हान्ने हो, सोहीअनुसार योजना बन्थ्यो । उपयुक्त 'लोकेसन'को 'टार्गेट' रहन्थ्यो । योजना केन्द्रबाट बनेर क्षेत्रीय ब्युरोमा आइपुग्थ्यो । र, क्षेत्रीय इन्चार्जहरूले उनको समूहका कमान्डरलाई लगाएका थिए । उक्त समूहमा हातमा ग्रिनेड बोक्ने उनी थिए । प्रहरी कार्यालयमा ग्रिनेड फाल्ने मौका पर्खिरहेका थिए ।

उनले बोकेकैजस्तो बमबाट ०५३ सालमा माओवादीले रामेछापमा प्रहरी चौकीलाई निशाना बनाएको थियो । त्यस घटनामा तीन जनाको ज्यान गएको थियो । 'ऋतिक रोशनविरुद्ध चर्केको आन्दोलनलाई विद्रोहमा परिणत गर्नुपर्छ भन्ने पार्टीको रणनीतिले मलाई त्यो अवसर जुरेको थियो,' उनी भन्छन् । 



यसरी परे दुर्घटनामा

न्युरोड जाँदै गर्दा उनले बोकेको ग्रिनेड एक्कासी च्याँ च्याँ करायो । उनको हातको इलेक्ट्रोनिक डिभाइसको पिन थुतिइसकेको रहेछ । उनैले थाहा पाएनन्, पिन थुतिएको । 

त्यो साँझ एकदम जाडो थियो । मुटु कमाउने जाडोमा पनि पार्टीप्रति बफादार उनी आज्ञा पालनामा प्रतिबद्ध थिए । 'हातमा बम पड्किसकेको मैले अरू मान्छे भागेपछि मात्र थाहा पाएँ,' उनी भन्छन् ।

उनले बोकेको बममा ६० ग्राम जिलेटिन राखिएको थियो । त्यतिबेला जिलेटिन राखेर घरेलु प्रविधिबाट बम बनाउँथे, माओवादीले । 

उनले बोकेको बम विष्फोट भएपछि भागदौड मच्चियो । उनले लगाएको ज्याकेट लत्रक्क भयो । अँध्यारोमा उनले आफैंलाई हेरेनन् । साथमा रहेका उनका साथी विष्णु कार्की एकदमै आत्तिए । उनी भने कत्ति पनि पिरोलिएनन् । 

घटनास्थलबाट छिटोभन्दा छिटो तर्किनुपथ्र्यो । उनी त्यहाँबाट भोटेबहाल पुगे । त्यहाँ एउटा बाइक रोकियो । उनी त्यसमा चढ्नेबित्तिकै बाइक हुइँकियो ।

उनका साथी विष्णुले हात हेरे तर देखेनन् । एक सामान्य अस्पतालमा सामान्य ड्रेसिङ गरिएको थियो । विष्णुलाई उनले हात बाँकी छ कि छैन भनेर सोधेकासमेत रहेछन् । विष्णुले निराश हुँदै हात नरहेको बताए । उनले भने विष्णुको निराशालाई हटाउन हाँस्दै भनेछन्, 'छैन भने ठीकै छ ।' 

अस्पतालमा १६ दिन

'म १६ दिनसम्म बीएनबी हस्पिटलमा बसें,' उनी भन्छन् । त्यसो भन्दै खिस्स हाँसेर हातको चुरोट ओठमा च्यापे । साह्रै हँसिला रमेशको ओठमा मुस्कान झुण्डिएझैं लाग्दै थियो । कुनै पीरले उनलाई छोएझैं लागेन । 

हातको नाडीभन्दा तलको भाग बमले उडाएको थियो । एक्सरे हेरेपछि मात्र उनले हात चुँडिएको थाहा पाए । उनले कुराकानीका क्रममा चुरोटको ठुटोजस्तो हात देखाए । एकछिन चराहरूको चिरबिर मात्रै सुनियो । 

माओवादी कार्यकर्ता भएकाले उनको उपचार गर्न चिकित्सकहरू पनि डराएका थिए । तै पनि, उनको राम्रै उपचार भयो । उनी दुर्घटना परेको प्रहरी रिपोर्ट अनिवार्य थियो । तर, उनको हकमा प्रहरीको रिपोर्ट खोजिएन । 

'अपरेसन थिएटर'मा लैजाँदा प्रहरीले खोजतलास नगरेको होइन । अपरेसन सकेपछि क्याबिनमा लगियो । त्यहाँ उपचार अवधिभर कोही आएनन् । उनी सम्झन्छन्, 'डिस्चार्जको दिन थियो, क्याबिनको पर्दा फेर्ने बहानामा प्रहरी आउला भन्ने शंकाले म निस्किएँ ।'

उनी निस्किएपछि प्रहरीले छापा मारेछ । र, उनलाई कुर्न बसेकाहरू भागेछन् । प्रहरीले डाक्टरहरूलाई डर पनि देखाएछन् । तर, उनी सकुशल निस्किए । 

समय फेरियो । उनको दैनिकी पनि फेरियो । हात गुमाएसँगै उनको जीवनले नयाँ मोड लियो । तर, पुराना घाउ उस्तै चहराइरहे । कसैलाई घाउ चहरायो भन्दै उनले गुहार मागेनन् । 



निःशुल्क उपचार

अस्पतालमा बस्दा उनले कुनै तनाव लिएनन् । उनी भन्छन्, 'उन्मुक्तिको लागि लडेका थियौं । अरूलाई लडाउन खोज्दा आफू पनि लड्न सकिन्छ भन्ने पाठ सिकें ।' 

त्यस दुर्घटनामा दुई जना शहीद भए, दुई जना बेपत्ता भए । बाँचेका पाँच जना पनि सीतापाइलामा बनाउँदै गरेको बम पड्केर सकिए ।

उपचार गर्दा कति लाग्यो भन्ने रमेशले तत्काल थाहा पाएनन् । ०६१ सालमा जेल पर्दा उनको हात देखेर प्रहरीले खुबै केरकार गरे । त्यो उनको पाँचौं पटकको जेल यात्रा थियो । उनले नढाँटी सबै बेलिविस्तार लगाइदिए । उनको हिम्मत देखेर केरकार गर्ने प्रहरी पनि छक्क परे । 

२०६२/०६३ को परिवर्तनपछि जेलबाट निस्किएर उनी आफ्नो कागजात लिन अस्पताल पुगे । विनयराज गिरी कार्यकारी अधिकृत थिए । उनले औषधीको खर्च सोधे । एक लाख ६५ हजार रहेछ । ५० प्रतिशत 'डिस्काउन्ट' गरिदिए । उनले सोधेका रहेछन्, 'कसैले तिर्‍यो ?' अधिकृतले पर्दैन भनेछन् । उनी खिस्स हाँसेर कागजात बोकेर अस्पतालबाट बाहिरिए । 

पाँचौं जेल यात्रा

माओवादी बनेपछि ४ भदौ ०५३ मा जीवनमै पहिलोपटक जेल परेका थिए, रमेश । तत्काल रिट हालेर उनी छुटे । ०५३ सालकै अन्तिमतिर फेरि जेल परे । जेल जानु र आन्दोलनमा लाग्नु उस्तै भयो । फेरि छुटे । ०५४ सालको स्थानीय चुनावमा फेरि जेल परे । यतिखेर पनि सजिलै छुटे । तर, मजदुरको कार्यक्रममा उनी जेल परे । 

२०५४ सालको घटनामा जेल पर्दा भने उनी मृत्युबाट फर्किए । उनी मारिने अवस्था थियो । उनी आफैंले बनाएका केही बमसहित उनी पक्राउ परेका थिए । त्यो समय उनी कोटेश्वरतिर बस्थे । 

त्यही समयमा उनीसँग पक्राउ परेकाहरूमध्ये मिलन नेपाली सधैंलाई बेपत्ता पारिए । दिनेश शर्माकी श्रीमती पनि बेपत्ता नै भइन् । यमप्रसाद गौतमकी 'स्टाफ' पनि बेपत्ता भइन् । 

उनी भन्छन्, 'त्यतिखेर ठूलो भाग्यले बाँचे, शायद वामदेव गौतम गृहमन्त्री भएर हो कि !' 

उनी ती दिनका सहकर्मी साथीहरूलाई याद गर्छन्, '०५४ मा पक्रेका मबाहेक कोही छैनन् । शायद ९० प्रतिशत सेनाले मार्‍यो । र, १० प्रतिशत प्रहरीले मार्‍यो ।' 

द्वन्द्व पीडितजस्तो लाग्दैन उनलाई । उनी भन्छन्, 'हिजो जे गरें, त्यसप्रति कुनै पश्चात छैन । तर, नेताहरूले गर्ने व्यवहारको कारणले बेला-बेलामा पीडितजस्तो लाग्छ ।'

हिजो युद्धकालमा नेताको चाकरी गर्ने प्रशस्त थिए । उनको बुझाइमा अहिले स्वतन्त्र समयमा झन् चाकरीबाजहरू अग्रपंक्तिमा रहेको देख्छन् । 

'कि पैसा पेल्नेहरू अग्रस्थानमा छन् कि चाकरी गर्नेहरू,' उनी आक्रोश पोख्छन्, 'व्यक्तिगत अन्तरविरोधले युद्धमा जान्छन् । र, मलाई पनि अन्तरविरोधले नै बढी प्रेरित गर्‍यो, त्यसैले जेल यात्रा भइरह्यो ।'

युद्ध जितेर टिकाउन सकिन्छ कि सकिन्न भन्ने लागेको थियो । 'तर, सकिएन,' उनी भन्छन्, 'यसको विष्लेषण ०५२ सालमै गर्न सकेको भए म युद्धमा सहभागी नै हुने थिइनँ । ०६२ सालमा मात्र थाहा पाएँ । १० वर्षको लगानीपछि मात्र मैले क्रान्ति चिनें ।'

 

उनले गाडी चलाए । गाडी आफैंले 'ड्राइभ' गर्थे । पाखुराभन्दा मुनिको सहारामा उनले गियर बदल्थे र अर्को हातले स्टेरिङ घुमाउँथे । उनले गाडी चलाएको देखेर साथीहरू छक्क पर्छन् । दृढ आत्मविश्वासले कहिल्यै उनको साथ छाडेन । 


एकै हातले गाडी

हात गुमाए पनि उनी आफ्नो काम आफैं गर्छन् । सशस्त्र विद्रोहमा कतिले ज्यान गुमाए । नेताहरूको रवैयाबाट उनी निराश छन् । द्वन्द्वपीडितहरू निराशाबाट गुज्रिरहेका छन् । कतिले पार्टीलाई दिएको योगदानको कुरा सुनाउँदै रुन्छन् । तर, उनले कहिल्यै आफूलाई त्यस किसिमबाट गुजारेनन् । उनी भन्छन्, 'केही न केही गरिराख्ने भएकाले मलाई पीरले सताएन । चिन्ताले डसेन । बरु, आफूजस्तै द्वन्द्व पीडितका लागि सहयोग गर्न कस्सिएँ ।'

द्वन्द्वपीडितलाई सहयोग गर्ने भनेर उनले ०७० सालमा द्वन्द्व सरोकार नामक संस्था स्थापना परे । भित्री मनमा केही सहयोग गर्न सकिन्छ भन्ने लागेर जमर्को गरेका थिए । उनी भन्छन्, 'तर, माओवादी भनेर युरोपेली संघसंस्थाले सहयोग गरेनन् । नेताहरूले पनि सहयोग गरेनन् ।' 

व्यक्तिगत २० लाख खर्च गरे । बालुवामा पानी खन्याएझैं परिणाम झेले । त्यो संस्था छाडेर उनले ०६५ सालदेखि पानी तताउने सोलारको कारोबार थाले । टिम नभएपछि उनले त्यो काम पनि बन्द गरे । विस्तारै ढुंगामाटोको निर्माणतिर हातेमालो गर्न थाले । 

अहिले काठमाडौंको दहचोकमा उक्त परियोजना सञ्चालनमा छ । अहिले आफ्नो सेयरलाई बिक्री गरिदिए । 

यही यात्रामा उनले गाडी चलाए । गाडी आफैंले 'ड्राइभ' गर्थे । पाखुराभन्दा मुनिको सहारामा उनले गियर बदल्थे र अर्को हातले स्टेरिङ घुमाउँथे । उनले गाडी चलाएको देखेर साथीहरू छक्क पर्छन् । दृढ आत्मविश्वासले कहिल्यै उनको साथ छाडेन । 

लाइसेन्स बनाउन उनी यातायात कार्यालय पनि पुगे । उनका मित्र इन्जिनियरले उनको 'ड्राइभिङ' देखेर सिफारिस गरेका थिए । त्यही सिफारिस लिएर यातायात कार्यालय पुगे । 

'यस्तो अपांगले गाडी चलाउँछ । यसलाई कसले लाइसेन्स दिन्छ' भन्दै अधिकृतले सिफारिस कागज च्यातिदिए । उनी भन्छन्, 'अधिकृतले लाइसेन्स नदिएपनि मैले ६ वर्षसम्म गाडी चलाएँ ।' 

आत्मविश्वासकै कारण उनले कहिल्यै झमेला झेल्नु परेन । हाँसेर बोल्ने उनको स्वभावले उनलाई ट्राफिक प्रहरीले शंका गरेनन् । त्यसैले उनले काठमाडौं, पोखरा, जनकपुर, गोरखा आउने-जाने गरिरहे ।

उनी गोरखामा कृषि फर्म खोल्दै छन् । दुई सय रोपनी भाडामा लिएर माछापालन र अदुवा खेती गरेका छन् । अहिले उनी यसैका लागि गोरखातिर रुमल्लिइरहेका छन् । उनी भन्छन्, 'युद्ध जितेर मात्रै हुँदैन । टिकाउन पनि सक्नुपर्छ । कसै न कसैको सहारा लिनुपथ्र्यो । त्यस्तै सहारा दैनिक कामसँग लिइरहेको छु।'

खेत जोतिरहन्छन् । हातले भर पाउँदैन र पनि कोदालीका बिँड समाएर खनिरहेका हुन्छन् । तरकारी बारी सम्याउँदै गरेका रमेश द्वन्द्वपीडित हुन् । तर, आफूलाई पीडित भनिरहन रुचाउँदैनन् । पसिना पुछ्दै भन्छन्, 'समयले बनाएको पीडित थियौं, त्यसैमा द्वन्द्व थपिदिए ।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।