काठमाडौं- पछिल्लो समय जारी विश्वकपमा विश्व फुटबलका स्टार बनेका छन् क्रोएशियाका कप्तान लुका मोड्रिक। ६ वर्षका हुँदा मोडरिकका प्यारा हजुरबुबालाई आतंकवादीले गोली हानी मारेका थिए। डिसेम्बर १९९१, बाल्कन युद्धको समय ह्रिंसक सर्बियन मुलुकका आतंककारीहरुले मोड्रिकको गाउँमा महला गरे। त्यसक्रममा पाँच स्थानीयहरुसँगै आतंककारीहरुले मोड्रिकका हजुरबुबाको पनि हत्या गरिदिए।
हजुरबुबाको हत्यापछि मोड्रिकको परिवार जादिर शहरमा अवस्थित एक होटलमा शरणार्थीको रुपमा रहन थाल्यो। त्यसछि युद्धग्रस्त आफ्नै मुलुकमा शरणार्थीको जीवन बिताउनु परेको थियो। बिजुली र पानीको अभावका बीच मोड्रिक र उनकी बहिनी जस्मिनाले बाल्यकाल बिताए। अभाव र विषम परिस्थितिका बाबजुद पनि मोडरिकको फुटबलसँगको साइनो छुट्न सकेन। युद्धग्रस्त जीवनबाट छुटकरा पाउने सपना साँच्दै उनी होटलको कार पार्किङ एरियामा पन्चर बललाई लात्ताले हिर्काउदै फुटबल प्रशिक्षण गर्थे।
परिवार र जीवनमा जस्तो घटना भए पनि उनी मानसिक रुपमा बलिया थिए। त्यही कारण मोड्रिकले करिअरमा सफलता हात पार्दै गए। विश्वकपको अन्तिम १६ मा डेनमार्कविरुद्धको खेलमा मोड्रिकको प्रदर्शन त्यसको एउटा प्रमाण हो। पेनाल्टी चुकेपनि उनले हिम्मत हारेनन्। पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा पुनः निर्णायक पेनाल्टी परिणत गर्दै उनले टोलीलाई क्वार्टरफाइनलमा पुर्याए । फुटबल प्रशिक्षणका लागि उनी विभिन्न प्रशिक्षककहाँ पुग्थे।
दश वर्षका मोड्रिक शारीरिक रुपमा कमजोर र लजालु देखिने भएकाले धेरैले फुटबलमा फिट नहुने प्रतिक्रिया दिन्थे। राम्रो पौष्टिक आहार नपाएका र कैयन दिन भोकै बिताउनु परेकाले उनको शरीर कमजोर देखिन्थ्यो। जादरमा हुर्कदै गर्दा स्थानिय क्लबहरुमा उनले वाहीवाही बटुलेका थिए। जादरमा हुर्कदै गर्दा स्थानिय क्लबहरुमा उनले वाहीवाही बटुलेका थिए।
परिवारको सहयोगमा स्थानीय जादर क्लबमा उनी प्रशिक्षणका लागि गए। त्यहाँ उनले क्लबका मुख्य प्रशिक्षक तोमिस्लाभ बासिकबाट प्रशिक्षणको मौका पाए । तिनै तोमिस्लाभलाई मोड्रिकले आफ्नो ‘स्पोर्टिङ फादर’ मान्दै आएका छन। मोड्रिकको मेहनत र प्रतिभा चिन्दै तोमास्लाभले उनलाई १६ वर्षको उमेरमा क्रोएशियाको सफलमध्येको एक क्लब डिनामो जाग्रिबमा प्रशिक्षणको व्यवस्था मिलाईदिए। एकवर्षको प्रशिक्षणपछि मोड्रिक यूरोपको दक्षिणी–पूर्वी देश बोसनिया एन्ड हार्जिगोभिनाको उच्च डिभिजन क्लब ज्रिनजिस्की मोस्टारसँग ऋणमा आवद्ध भए।

आफ्नो प्रतिभाशाली खेल कौशल प्रस्तुत गर्दै मोड्रिकले त्यही सिजनमा त्यहाँको ‘प्रिमियर लिग प्लेयर अफ द इअरको अवार्ड’ जिते। अर्कोवर्ष उनी क्रोएशिया फर्के र उच्च डिभिजनको क्लब इन्टर जापेरिसिकसँग अनुबन्धित भए। एक सिजन त्यहाँबाट खेल्दै उनले टोलीलाई क्रोएशिन पहिलो डिभिजनको लिगको उपविजेता बनाए। साथै आफूले पनि क्रोएशियन ‘फुटबल होप अफ द एअर २००४’ अवार्ड जिते।
सन् २००५ मा १० वर्षे सम्झौता गर्दै उनी पुनः डिनामो जाग्रिब फर्के। यो उनको पहिलो व्यवसायिक सम्झौता थियो। उक्त सम्झौताबाट आएको पैसाले उनले जादरमा आफ्नो परिवारका लागि एउटा फ्ल्याट किने । त्यसपछि उनको परिवार शरणार्थी जीवन त्याग्दै त्यही फ्ल्याटमा सर्यो । पहिलो सिजनमै डिनामोको पहिलो रोजाईको टोलीमा पर्न सफल उनले ३१ खेलबाट ७ गोल गर्दै क्लबलाई राष्ट्रिय च्याम्पियन बनाउन सघाउ पुर्याए।
सन् २००६-००७ को सिजनमा पनि डिनामाले पुनः लिग जित्यो। त्यसवर्ष उनले वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते। चार वर्ष डिनामोमा बिताएका उनले ३१ गोल आफै गरे भने २९ गोलमा सहायकको भूमिका निर्वाह गरे। उनकै उत्कृष्ट प्रदर्शनमा २००७-०८ को सिजनमा डिनामोले क्रोएशियन कपको उपाधि जित्दा दोस्रो स्थानको क्लब भन्दा २८ अंकको अग्रता हासिल गरेको थियो।
एकपछि अर्को सिजनमा डिनामोमा उत्कृष्ट प्रदर्शन गर्दै गएपछि मोड्रिकलाई विभिन्न ठूला यूरोपियन क्लबहरुबाट प्रस्ताव आउन थाल्यो। बार्सिलोना, आर्सनल, चेल्सी, टोट्नह्याम हट्सपुर लगायतको प्रस्ताव उनीकहाँ पुगेको थियो। तर, मोड्रिक भने २००८ मा १६.५ पाउन्डमा ६ वर्षका लागि टोटनह्याममा आवद्ध भए।
२००८ मा इङ्लिस क्लब टोट्नह्याम हट्सपरसँग सम्झौता हुनुअघि उनले आफ्नो बाल्यकालको संघर्षका बारेमा केही बोलेका थिएनन्। तर, सम्झौताको दिन भने उनले आफ्नो त्रासपूर्ण बाल्यकालको पर्दा उघारे। ‘जब युद्ध सुरु भयो, हामी शरणार्थी बन्यौँ, त्यो समय साँच्चिकै कष्टपूर्ण थियो’ मोड्रिकले भनेका थिए, ‘म ६ वर्षको थिएँ, ती दिनहरु अझैपनि मेरा आँखामा घुमिरहन्छन् । ती त्यस्ता दिन थिए, जसलाई कसैले पनि सम्झन चाहँदैन।’
मोड्रिकबाट विस्थापित भएपछि मोड्रिक आएर बसेको शहर, जादर ‘हामीले एक होटलमा वर्षौसम्म शरणार्थी जीवन बितायौ’ उनले सम्झिए, ‘हामीले आर्थिक उपार्जनको लागि निकै संघर्ष गर्नुपरेको थियो। तर, म सधै फुटबललाई माया गर्थे । म मेरो पहिलो खुट्टाको प्याडलाई अझै सम्झन्छु, जसमा ब्राजिलका रोनाल्डोको तस्वीर थियो, म त्यसलाई खुब सम्हालेर प्रयोग गर्थे।’
टोट्नह्याम हट्सपुरमा उनी उत्कृष्ट खेलाडी कहलिए। टोट्नह्यामबाट १ सय २७ खेल खेल्दै चार सिजन बिताएपछि २०१२ मा उनी पाँच वर्षे सम्झौतामा ला लिगा क्लब रियल म्याड्रिड पुगे। म्याड्रिडले उनलाई ३० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो।
सम्झौता भएको दुई दिन पश्चात् नै उनले बार्सिलोनाविरुद्ध म्याड्रिडबाट डेब्यू गरेका थिए। रियल म्याड्रिडबाट मोड्रिकले चारवटा च्याम्पियन्स लिगको ट्रफी जिते। खेल जितेपछि क्लबसँग आवद्ध भएको ३६ घन्टामै उनले पहिलो ट्रफी उठाउन पाए । म्याड्रिडबाट उनले चार च्याम्पियन्स लिग, तीन क्लब विश्वकपसँगै ला लिगा र कोपा डेल रेको उपाधि पनि जितिसकेका छन्।
(एजेन्सिको सहयोगमा)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४