काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नतिजा सार्वजनिक भएलगत्तै पुस ११ गते नयाँ दिल्ली प्रस्थान गरेकी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले राजनीतिक भेटघाट थालेकी छन्।
प्रधानमन्त्री देउवाले सम्पादन गर्न कार्यहरुमा हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएकी आरजुको आइतबार भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी हुन्।
भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेले आरजुसँगको भेटवार्तापछि ट्विटमार्फत भनेका छन्, 'व्यक्तिगत भ्रमणमा नयाँ दिल्ली भ्रमणमा रहेकी डा. आरजु देउवा राणासँग मेरो सौहार्दपूर्ण भेटवार्ता भयो।’
प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीअघि दिल्ली पुगेकी आरजुले गरेको राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। प्रधानमन्त्री देउवाको यही पुस २५ गते देखि २७ सम्म भारत भ्रमण गर्ने कार्यक्रम छ।
भाइ भूषण राणाको स्वास्थ्य उपचारको गर्न पुस ११ गते दिल्ली गएकी भनिएको आरजुले भाइको उपचार सकिएलगतै राजनीतिक भेटवार्ता थालेकी हुन्।
प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यमा हुन लागेको 'भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा सहभागिताका लागि जाने भएका छन्। नेपाल सरकारले देउवाको भारत भ्रमणको गृहकार्य गरिरहेको बेला भ्रमणको तयारीस्वरुप नै आरजुले राजनीतिक भेटघाट गरिरहेको जनाइएको छ।
प्रधानमन्त्रीको भ्रमण अघि कि परराष्ट्रमन्त्री वा प्रधानमन्त्री निकट व्यक्तिलाई सम्बन्धित मुलुकमा पूर्व तयारीका लागि पठाउने चलन छ। आरजुले दिल्लीमा थालेको राजनीतिक भेटवार्तालाई पनि भ्रमणकै पूर्वतयारीको रुपमा हेरिएको छ।
Today, I had a very coordial meeting with Dr Arzoo Rana Deuba , who is currently on a personal visit to New Delhi. @NepaliCongress pic.twitter.com/FfSbK6yRJT
— Dr Vijay Chauthaiwale (@vijai63) January 2, 2022