काठमाडौं– नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचनको कार्यतालिका पुनः संशोधन भएको छ।
संशोधित कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताको समय आइतबार अपराह्न ४ देखि ६ बजेसम्म तोकिएको छ। मनोनयनपत्र दर्ताको सूची साँझ ६ः३० बजे प्रकाशन गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।
साँझ ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजे उम्मेदवारको नामावली पुनः प्रकाशनको समय तोकिएको छ।
सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल गरिरहेको माओवादी केन्द्रले आज तेस्रो पटक निर्वाचन तालिका संशोधन गरेको हो। नयाँ तालिकाअनुसार मतदान भने भोलि सोमबार बिहान ८ बजेदेखि तोकिएको छ।
माओवादी केन्द्रले यसअघि हिजो शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा तालिका संशोधन गरेर आज दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको थियो।