काठमाडौं- प्रतिनिधि सभाको आज बस्ने तय भएको बैठक स्थगित भएको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
माओवादी महाधिवेशनको अन्तिम दिन आज नेतृत्व चयन प्रक्रिया अघि बढ्दै छ। सबै नेता महाधिवेशनमा केन्द्रित हुने भएकाले बैठक स्थगित गरिदिन आग्रह गरिएको माओवादी एक नेताले बताए।
आजको संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/७८ प्रस्तुत गर्ने कार्यसूची थियो। संसद् बैठक बस्नुअघि बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ।
एमालेले नवौँ अधिवेशनदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।आफूले कारबाही गरेका एमालेका तत्कालीन सांसद माधव नेपालसहितका १४ जनालाई संसद्बाट निष्कासन नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो। १४ सांसदलाई निष्कासन नगरेसम्म वा सभामुखले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान छ।