पोखरा- माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकीले उम्मेदवार प्रस्ताव गरेको छ। कमिटीले ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो। तीन जना उम्मेदवारका लागि ९ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले गण्डकीले जानकारी दिएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि २० गते नै मनोनयन दर्ता गराउनुपर्ने भएपछि दलहरुलाई उम्मेदवार टुंग्याउने चटारो सुरु भएको छ।
बाग्लुङका गोविन्दबहादुर नेपाली, गोरखाका कृष्ण नेपाली र मनाङकी शान्तिमाया परियारलाई दलित क्लस्टरमा सिफारिस गरिएको छ। मीनाकुमारी गुरुङ, सम्झना देवकोटा र लीला थारुलाई महिला क्लस्टरमा सिफारिस गरिएको छ। खुलाका लागि पुण्यप्रसाद पौडेल, दिलबहादुर थापा र प्रेम गुरुङ सिफारिस भएका छन्।
उता नेपाली कांग्रेस गण्डकी प्रदेशले पनि उम्मेदवारको नाम सिफारिस गर्ने तयारी गरिरहेको छ। राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दल कांग्रेस, माओवादी, नेकपा एस र समाजवादी जनता पार्टीले गठबन्धन गर्ने तयारी गरेका छन्।