काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट १० जनालाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई सभापति देउवाले मनोनयन गरेको काग्रेस कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
मनोनित हुने १० सदस्यमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का छन्। यस्तै उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई पनि देउवाले केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन्।
आफ्नै गुट व्यवस्थापन गर्न नसकेपछि चुनावी प्रक्रियाबाट बाहिरिएका पौडेलले गत महाधिवेशनमा मतदान प्रक्रियालाई समेत बहिष्कार गरेका थिए। सिंह र निधि पहिलो चरणको सभापतिको निर्वाचनमा देउवाविरुद्ध नै चुनावी मैदानमा थिए। गच्छदार उपसभापतिमा २ मतले पराजित नेता हुन्। यस्तै सिटौलाले पहिलो चरणभन्दा पहिलेदेखि नै देउवालाई दोहोर्याउनका लागि वातावरण बनाउन पहल गरेका थिए।
यसैगरी परराष्ट्रमन्त्री रहेका खड्काले भने उपसभापतिमा इच्छाप्रकट गरेपनि पछि उनी केन्द्रीय सदस्यका लागि पनि चुनाव लडेका थिएनन्। उता सुजाता भने उपसभापतिमा पराजित भएकी नेतृ हुन्।