धनगढी- कैलालीमा प्रथम राष्ट्रिय सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ। गोदावरी नगरपालिका–८ जोनापुरमा रहेको ग्रीनल्यान्ड पार्क विकास समितिको आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो।
पुस १७ देखि २० गतेसम्म हुने प्रतियोगितामा ४० वर्ष उमेर पूरा भएका खेलाडीले मात्र सहभागी हुन पाउनेछन्। काठमाडौं, बुटवल, नेपालगंज, महेन्द्रनगर र कैलालीका ८ टिम सहभागी हुने प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख, द्वितीयलाई ५० हजार रुपैयाँ नगद, ट्रफि तथा मेडलले पुरस्कृत गरिने आयोजक समति अध्यक्ष गोपालप्रसाद चौधरीले बताए।
प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, सर्वाधिक गोलकर्तालाई जनही रु ५/५ हजार नगद र ट्रफी तथा हरेक खेलका म्यान अफ द म्याचलाई दुई हजार रुपैयाँ दिइने अध्यक्ष चौधरीले बताए।
'ईन्ट्री फि १० हजार तोकेका छौँ। टाढाबाट आएका खेलाडीलाई खाना र बस्नको व्यवस्था गर्छौँ। तर, नजिकका खेलाडीलाई त्यो व्यवस्था गर्दैनौं,' अध्यक्ष चौधरीले भने, 'हामीले नयाँ सोचका साथ ४० वर्ष उमेर कटेका राष्ट्रिय खेलाडीलाई फुटवलको माध्यमबाट सुदूरपश्चिम ल्याउने प्रयासका साथ यो प्रतियोगिता आयोजना गर्न लागेका हौँ।'