जनकपुरधाम- भारतको उत्तर प्रदेश राज्यस्थित काशी (बनारस) विश्वभर हिन्दूको आस्थाको केन्द्र हो। विश्वनाथ दर्शनका लागि कम्तीमा एकपटक काशी पुग्ने धोको हरेक हिन्दूको हुन्छ। गंगास्नानको धार्मिक महत्त्व छँदै छ। काशी कुनै बेला नेपालका लागि विद्याको केन्द्र नै थियो।
बनारस त्यो भूमि हो जहाँबाट विश्वेश्वरप्रसाद कोइरालाले राजनीतिक दीक्षा पाएका थिए। राणा शासनबाट मुक्ति दिलाउने प्रेरणा उनलाई त्यहींबाट प्राप्त भएको मानिन्छ। माओवादीको १० वर्षे सशस्त्र संघर्षमा पनि कैयौं नेताहरुको आश्रयस्थल थियो काशी। यसैले काशीसँगको साइनो राजनीतिक र सांस्कृतिक रूपमा पुरानो छ।
धार्मिक यात्राका क्रममा काशी जानेले गंगास्नान गरी विश्वनाथको दर्शन गर्छन्। गंगाको तीरमा अनेकौं घाट छन्। तीमध्ये एउटा घाट हो- ललिता घाट। हुन त काशी क्षेत्रमा नेपालको झल्को दिने अन्य केही संरचना पनि छन् तर ललिता घाट पुगेपछि धेरैलाई नेपालको पाशुपत क्षेत्र पुगेको अनुभूति हुन्छ। कारण, ललिता घाटस्थित महादेव मन्दिर पशुपतिनाथकै शैलीको छ। अर्को कुरा घाट क्षेत्र नेपालकै स्वामित्वमा छ।
दशाश्वमेध घाट र मणिकर्णिका घाटको बीचमा रहेको ललिता घाटलाई नेपाली घाट र राजराजेश्वरी पनि भनिन्छ। यस घाटमा साम्राजेश्वरी पशुपतिनाथ महादेव मन्दिर, ललिता गौरी मन्दिर, गंगा केशव मन्दिर छन्। घाट निर्माण नेपालका तत्कालीन राजा रणबहादुर शाहले गराउन लगाएका थिए। रणबहादुर शाहले संन्यास लिएपछि काशीस्थित गंगा घाटमै केही वर्ष साधना गरेको इतिहासमा उल्लेख छ।
केही वर्षको साधनापछि उनैले सन् १८०० देखि १८०४ सम्म घाट निर्माणका साथै मन्दिर निर्माण कार्य सुरु गर्न लगाएका थिए। यद्यपि मन्दिर निर्माण हुँदाहुँदै उनको मृत्यु भएको थियो। त्यसपछि तत्कालीन राजा राजेन्द्रले घाटमा मन्दिर र धर्मशाला निर्माण कार्य गराएका थिए।
मन्दिर निर्माणका लागि नेपालबाटै काठ तथा कालिगढ लगिएको थियो। मन्दिरको छेउमै धर्मशाला निर्माण गरिएको छ जसले नेपाली संस्कृतिको झल्को दिन्छ। काठले बनेको बार्दली र झ्याल नेपाली शैलीकै छन्। नेपालले ती मन्दिरको जीर्णोद्धार सन् १९४३ मा गरेको थियो।
मन्दिर तथा घाटको स्वामित्वका लागि विवाद भएपछि ‘काशी नरेश’ विभूतिनारायण सिंहले नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वामित्व ग्रहण गर्नका लागि पत्र लेखेका थिए। त्यसपछि घाटका साथै मन्दिरको रेखदेख नेपालको पुरातत्त्व विभागले गर्दै आएको छ।
विभागको अगुवाइमा पाँचपाँच वर्षमा घाट संरक्षण समिति चयन हुन्छ। अहिले संरक्षण समिति अध्यक्षमा ओमकारनन्द गिरी छन्। त्यहाँको धर्मशालामा नेपालकै १८ जना वृद्धा बस्दै आएका छन्। ती आमाका लागि खाना र वासको व्यवस्थापन समितिले नै गर्छ।
नेपालको स्वामित्वमा रहेको घाटका कैयौं मन्दिर तथा जग्गा कब्जामा परे पनि नेपाल सरकारले चासो नदेखाएकोमा पूजारी तथा संरक्षक रोहितकुमार ढकाल चिन्तित छन्।
‘पुरातत्त्व विभागले नेपाली घाटको केही मन्दिर तथा घाटका जग्गाको संरक्षण गरे पनि बाँकी भूभागको समेत संरक्षणका लागि भारत सरकारसँग समन्वय गर्नु आवश्यक छ,’ ढकाल भन्छन्।
घाटको मथिल्लो तला नेपाल सरकारको स्वामित्वमा रहे पनि भुइँतला भारतकै स्वामित्वमा छ। त्यसको पनि स्वामित्वका सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ।
भारतीय सरकारले विश्वनाथ करिडोर निर्माणअन्तर्गत ललिता घाटका लागि अर्बौं बजेट छुट्याएको ढकाल बताउँछन्। उनी भन्छन्, ‘भारत सरकारले ललिता घाटको सौन्दर्यका लागि ठूलै राशि खर्च गरिरहेको छ। यसले ललिता घाटमा आउने पर्यटकको संख्यामा पक्कै वृद्धि पनि हुनेछ।’