काठमाडौं- बुधबार राति काठमाडौं उपत्यका र आसपासका जिल्लामा बाढी र डुबानको चपेटा चल्दै गर्दा नेपालसँग सीमा जोडिएका भारतीय राज्यहरू विहार र उत्तरप्रदेशमा पनि मनसुनी प्रभाव चर्को थियो ।
त्यसको १० दिनअघि अर्थात् १ जुलाईमै विहार र उत्तरप्रदेशका शहरी इलाकाहरू पटना, बहराइच, लखनऊ, गोरखपुर, मुजफ्फरपुर, पूर्णियालगायत डुबानको चपेटामा परिसकेका थिए । त्यसको अर्थ न्यूनचापीय रेखा माथितिर सर्दै आउँदा बुधबार मात्र काठमाडौं उपत्यकामा भारी वर्षा भयो ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक ऋषिराम शर्माका अनुसार भारतका उत्तरप्रदेश र विहारको आकाशमा अहिले 'लो प्रेसर' छ । 'हाई प्रेसर' इलाकाबाट आउने मनसुन 'लो प्रेसर जोन'मा प्रवेश गरेपछि वर्षाका रूपमा खस्छ । 'त्यही लो प्रेसरले नेपाललाई पनि छोयो,' महानिर्देशक शर्मा भन्छन्, 'त्यही कारण मौसमी गतिविधि बढेको हो ।'
प्राविधिक भाषामा बादल बोकेर तल-माथि गरिरहने मनसुनी गतिविधिलाई 'ट्रफ लाइन' अर्थात् न्यून चापीय रेखा भनिन्छ । 'लो प्रेसर जोन' सिर्जना हुँदा मनसुनी गतिविधि बढ्छ ।
न्यून चापीय रेखा तल-माथि भइरहन्छ । उक्त रेखा माथितिर बढेर हिमालयको 'फुटहिल'सम्म आइपुग्छ । त्यहाँसम्म आइपुग्दा नेपालमा सक्रिय मनसुन हुन्छ । र, अलिकति तल गयो भने नेपालमा मनसुन निश्क्रिय हुन्छ । विभागका महानिर्देशक शर्माका अनुसार त्यो चक्र मनसुन अवधिभरि नै चलिरहन्छ ।
नेपालमा ८ जुनदेखि मनसुन प्रवेश गरिसकेको छ । मनसुनका बेला पनि दिनदिनै पानी नपर्नुको कारण न्यून चापीय रेखा तल-माथि भइरहनु हो । अर्थात्, न्यून चापीय रेखा माथि आउँदा नेपालमा पानी पर्छ । सुख्खा या पानी नपरेको बेला त्यो रेखा तल झरेको हुन्छ ।
'हाई प्रेसर सधैं एकै ठाउँमा रहँदैन, परिवर्तन भइरहन्छ,' शर्मा भन्छन् । उनका अनुसार जमिनमा प्रशस्त मात्रामा आद्र्रता (मोस्चर) उत्पन्न हुन्छ । त्यही आद्र्रता आकाशमा पुग्ने, चिसो बादलमा मिसिने र पहाडमा ठोक्किएर खस्ने प्रक्रिया नै वर्षात् हो ।
नेपालमा आउने मनसुनको 'हाई प्रेसर' अरेबियन सागर र बंगालको खाडी दुवै हुन् । नेपाली आकाशमै बन्ने बादल तिनमा जोडिने एउटा 'फ्याक्टर' हो । वर्षात्ले ठूलो क्षेत्र कभर गर्नुको कारण स्थानीय बादल तथा बंगालको खाडी र अरेबियन सागरबाट उत्पन्न हुने 'हाई प्रेसर' यहाँको 'लो प्रेसर'मा मिसिएर खस्नु हो ।
अरेबियन सागरबाट बंगालको खाडी हुँदै मनसुन भारतीय आकाशमार्फत् नेपालसम्म आइपुग्छ । नेपाल र भारतमा आउने मनसुन समग्र रूपमा हेर्दा अरेबियन सागरबाटै आउने हो । अरेबियन सागर र बंगालको खाडी दुवैबाट मनसुन प्रवेश गर्ने तथा स्थानीय बादलसँग ठक्कर खाएर मुसलधारे वर्षा हुने गर्छ ।
अरेबियन सागर र बंगालको खाडीबाट एकसाथ मनसुन नेपाली आकाशमा प्रवेश गर्दा सानो इलाकामा एकसाथ ठूलो वर्षात् हुने 'ट्रेन्ड' ।
गत वर्ष तराई क्षेत्रमा व्यापक डुबान हुनुको कारण अरेबियन सागर र बंगालको खाडी दुवैतिरबाट एकसाथ मनसुन नेपाली आकाशमा प्रवेश गर्नु थियो । यस पटक पनि पोहोरजस्तै मनसुनी प्रवेश हुने सम्भावनालाई नजरअन्दाज गर्न सकिँदैन । 'हामी भरखरै मनसुनको शुरुवाती अवस्थामा छौं । जुलाई र अगस्ट धेरै वर्षात् हुने महिना हुन्,' महानिर्देशक शर्मा भन्छन् ।
मुसलधारे वर्षात्लाई प्राविधिक भाषामा 'क्लाउड ब्रस्ट' भनिन्छ । त्यस्तो अवस्थामा एकै ठाउँमा ठूलो परिमाणमा पानी पर्छ । त्यसले ठूलो इलाका कभर गर्दैन तर जति इलाकामा वर्षा हुन्छ, ठूलो घनत्वका साथ पानी पर्छ । र, प्राकृतिक विपत्ति निम्त्याउँछ ।
टर्कीमा ८ जुलाईमा भएको वर्षा त्यस्तै घनत्वको थियो । सडकमा रोकिएका कार बगाउने मात्र होइन, दौडिरहेको रेल नै 'डिरेल' हुनेसम्मका घटना उक्त वर्षाका कारण भएका थिए ।
सामान्य वर्षात् हुँदा जमिनमा खसेको पानी माटोमा सोसिन्छ । ठूलो वर्षा हुँदा त्यसरी माटोमा सोसिने सम्भावना हुँदैन र बगेरै जान्छ । त्यसरी बगेको पानीले निकास खोज्ने क्रममा बबण्डर मच्चाउँछ ।
नेपालको ट्रोपोग्राफीअनुसार बंगालको खाडी र अरेबियन सागरबाट अलग-अलग ढंगले प्रवेश भएको मनसुन आपसमा ठक्कर खाँदा या मर्ज हुँदा एकै ठाउँमा छोटो समयमा धेरै पानी पर्छ । र, त्यसले प्राकृतिक विनाशको रूप लिन्छ ।
पोहोर मनसुन अवधिभर जति पानी पर्यो, यस वर्ष पनि त्यति नै वर्षा हुने विभागको आकलन छ । तर, कुन दिन कति पानी पर्छ भनेर अहिले नै ठोकुवा गर्न नसकिने महानिर्देशक शर्माको भनाइ छ ।
२०७४ साउन अन्तिम साता देशव्यापी भएको भारी वर्षात्मा ठूलो जनधनको क्षती भएको थियो । देशभर गरी ३३ जनाभन्दा बढीको हताहती भएको थियो । चुरे दक्षिणका अधिकांश भाग डुबानमा परेका थिए । त्यही शृंखला यस वर्ष पनि जोडिने सम्भावनालाई नकार्न नसकिने शर्माको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४