काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भरोसा छात्रवृत्ति अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताएका हुन्। उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनैबाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान शुरु गरेको बताए।
महामन्त्री थापाले बालबालिकाहरुमा समाजले पनि केही गर्छ भनेर भरोसा ल्याउनका लागि र समस्यामा परेका बालबालिकाहरुका उचित शिक्षा दिनको लागि अभियानले काम गर्ने बताए।
महामन्त्री थापाले भने, ‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ। जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ। आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ। बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ। सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ। कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो। समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान शुरु गरिएको हो। पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ। नेपालीहरुले आफैँ मिलेर पनि यस्ते अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो।’
भरोसा छात्रवृत्ति अभियान ७ वटै प्रदेशका २–२ वटा जिल्लामा शुरु हुनेछ। उक्त जिल्लाहरुमा कोरोनाको कारण आमाबुबा गुमाएका विद्यार्थीहरुको शिक्षाका लागि सहयोग गर्ने र आवश्यक्ताको आधारमा डिसहोमको नेटवर्कबाट छात्रावृत्ति रकम उपलब्ध उपलब्ध गराउने बताए।