काठमाडौं– नेकपा माओवादी (केन्द्र)को आठौं महाधिवेशन काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ। राष्ट्रिय सम्मेलनबाट रातारात महाधिवेशनमा परिणत भएको यो महाधिवेशनले नयाँ नेतृत्वसहित पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछ।
माओवादी विधानअनुसार महाधिवेशनले केन्द्रीय कमिटी बनाउँछ भने केन्द्रीय कमिटीले पदाधिकारीको टुंगो लगाउँछ। बिहान ११ बजे सुरु हुने भनिएको बन्दसत्र केही ढिलो गरी सुरु भएको छ। बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ। अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन छन्।
वर्षौंदेखि टीके प्रथा चल्दै आएको माओवादीमा यसपटक पनि नेतृत्व चयनमा प्रतिस्पर्धा हुने देखिएको छैन। पुष्पकमल दाहाल प्रचण्ड नै निर्विकल्प अध्यक्ष देखिएका छन्। शान्ति प्रक्रियामा आएको १५ वर्षको बीचमा अहिलेसम्म एक पटक (२०६९ माघ २० देखि २६ गतेसम्म हेटौंडामा) मात्रै माओवादीको महाधिवेशन गराएका अध्यक्ष प्रचण्डले यस्तै सम्मेलनहरुबाट आफ्नो नेतृत्वलाई अनुमोदन गराउँदै आएका छन्। यसपटक पनि प्रचण्डको त्यही तयारी छ।
माओवादी केन्द्रको नेतृत्वमा ३० वर्षदेखि नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन्। २०४८ सालमा नेकपा एकता केन्द्रको महामन्त्री बनेका प्रचण्ड २०५१ सालमा माओवादी नाम राखेयता सधैं अध्यक्ष छन्। माओवादी पार्टी पछिल्ला ३० वर्ष मूलतः टीके प्रथामा नै चलेको छ। प्रचण्डले जसलाई जुन पदमा चाहन्छन्, त्यही पद स्वीकार्दै आएका छन् नेताले।
यद्यपि, यसपटकको महाधिवेशन सुरु हुनु केही दिनअघि प्रचण्डले एक कार्यक्रममा नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको बताएर राजनीतिक व्यंग्य गरे। उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा निकै उडाइयो पनि। अध्यक्ष प्रचण्डले आफ्नो चाहना पार्टी नेतृत्व छाड्ने हुँदाहुँदै पनि बस्नुपरिरहेको टिप्पणी गरेका थिए। ‘व्यक्तिगत रुपले भन्नुहुन्छ भने त मलाई अब रिटायर्ड भएर संस्मरण लेख्न पो राम्रो छ। तर मैले अहिले जुन दस्तावेज बनाउँदै छु, मलाई विश्वास छ राष्ट्रिय सम्मेलनले त्यसमा गर्व गर्नेछ र नेतृत्वप्रति गर्व गर्नेछ,’ उनले भनेका थिए। उनको यो अभिव्यक्ति र नेतृत्वमा कसैको दाबी नरहेपछि उनी पुनः निर्वाचित हुने निश्चित भइहाल्यो। तर, पदाधिकारीमा भने सर्वसम्मत गर्न गाह्रो देखिएको छ।
वर्षौंदेखि टीके प्रथा चल्दै आएको माओवादीमा यसपटक पनि नेतृत्व चयनमा प्रतिस्पर्धा हुने देखिएको छैन। पुष्पकमल दाहाल प्रचण्ड नै निर्विकल्प अध्यक्ष देखिएका छन्।
माओवादीले हालैमात्र विधान संशोधन गरेर बहुपद प्रणालीमा जाने निर्णय गरेको छ। पार्टी बहुपद प्रणालीमा जाने भएसँगै उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवका लागि नेताहरुको दौडधुप छ। विशेषगरी महासचिवमा पेचिलो प्रतिस्पर्धा छ। पार्टीमा अध्यक्षको उत्तराधिकारीका रुपमा समेत चिनिने महासचिवका लागि प्रतिस्पर्धा हुने नै भयो।
महासचिवका लागि जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल र गिरिराजमणि पोखरेलले आकांक्षा राखेका छन्।अर्थमन्त्रीसमेत रहेका शर्मा महासचिवका लागि अध्यक्ष प्रचण्डसँगको तीव्र लबिङमा छन् भने पुन उपचारका लागि विदेशमा छन्। गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी अहिले चीनमा छन्। त्यसमा पनि बढी सम्भावना शर्मा र पुनको छ।
पुनले जनयुद्धदेखि पार्टीलाई हरेक कठिन मोडमा बलियो साथ दिएको र अध्यक्षलाई दर्बिलो भरोसा भएर काम गरेकाले आफूले महासचिव पद पाउनुपर्ने दाबी गरेका छन्। पार्टी वरीयतामा पनि शर्माभन्दा अगाडि छन् पुन। अध्यक्ष प्रचण्ड भने वर्षमानलाई उपाध्यक्षमा सेटल गरेर शर्मालाई महासचिव बनाउने मनस्थितिमा रहेको बताइएको छ। एक नेताले भने, 'अध्यक्ष त प्रचण्ड आफैँ निर्विकल्प हुनुहुन्छ नै तर उहाँलाई महासचिव टुंगो लगाउन सजिलो छैन।'
माओवादी केन्द्रले विधान संशोधन गरेर १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको व्यवस्था गरेको छ। यसले गर्दा नेताहरुको व्यवस्थापन सहज हुनेछ। माओवादीमा पुन र शर्माभन्दा वरिष्ठ धेरै नेता छन्। तिनलाई ७ उपाध्यक्षमा अटाउने योजना प्रचण्डको छ।
एक जना रहने वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निर्विवादजस्तै छन्। उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेल लगायतको सम्भावना रहेको बताइएको छ।
उपमहासचिवमा देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, गणेश साहलगायतको सम्भावना छ। सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना रहेको माओवादीका एक नेताले दाबी गरेका छन्। पदाधिकारीमा १५ जना रहन्छन्।