काठमाडौं– माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी महाधिवेशनमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। दाहालले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
यसअघि दाहालले आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकमा प्रतिवेदन प्रवेश गराएका थिए। त्यसको विस्तृत विवरण सोमबार बन्दसत्रमा प्रस्तुत गरेका हुन्। राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ।
दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ। त्यसमा ‘अन्तर्राष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ। ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ पनि प्रतिवेदनमा गरिएको छ। राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ। चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा छ।
पाँचौं बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ। छैटौं बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ।
सातौं बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रस्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन्।
अध्यक्ष दाहालले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन्। नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास पनि दाहालको प्रतिवेदनमा छ।
सुरुमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो। सम्मेलनमा एक हजार ७०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता छ। बन्दसत्रमा नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्। बन्दसत्रमा राजनीतिक प्रतिवेदन र विधान पेस भइसकेपछि छलफलका लागि २५ वटा समूह बनाउने तयारी गरिएको छ।
माओवादी केन्द्रले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ। अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
समूहगत छलफलका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानका सबै हल, पार्टी केन्द्रीय कार्यालयमा रहने गरी व्यवस्थापन गरिएको छ।
माओवादी केन्द्रले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि सात सदस्यीय अध्यक्ष मण्डल चयन गरेको छ। अध्यक्ष मण्डलको चयनसँगै बन्दसत्रको कार्यक्रम सुरु भएको माओवादीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
उनका अनुसार केही थप प्रतिनिधिका बारेमा निर्णय गर्नुपरेकाले बन्दसत्र सञ्चालनमा केहीबेर ढिलाइ भएको थियो। सुरुमा एक हजार ६३१ जना प्रतिनिधि रहने भनिएकामा त्यो बढेर एक हजार ७०० बराबर पुगेको छ। स्थायी समितिको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो।
अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, रुपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी छन्। अध्यक्ष दाहाल र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ। समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ। त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले आवश्यक काम सुरु गरिसकेको छ।