काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ४१औं खेलमा त्रिभुवन आर्मी क्बलले थ्रिस्टार क्लबसँग गोलरहित बराबरी खेलेको छ। योसँगै थ्रीस्टार र आर्मीका चार-चार बराबरी पुगेका हुन्।
थ्रिस्टारले चार खेलमा लगातार बराबरी गरेको छ भने पाँच खेलमा जितविहीन छ। उसले पहिलो खेलमा च्यासल क्लबविरुद्ध ३–० गोलको जित निकालेपछि उसले जित निकाल्न सकेको छैन। थ्रीस्टारले सातदोबाटोसँग हार बेहोरेपछिका सबै खेलमा उसको बराबरी छ।
फ्रेन्ड्स, एपीएफ र एनआरटीसँग बराबरी गरेको हो। यता आर्मीले लिगमा चार बराबरी गरेको छ भने दुई खेलमा जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा ३ हजार ७०० दर्शकमाझ दुवै टिमले गोल गर्न सकेनन्।
बराबरी गरेसँगै दुवै टिमले समान १-१ अंक बाँडेको छ। यो बराबरीपछि आर्मीले ६ खेलमा १० अंक बनाएको छ भने थ्रिस्टारले ५ खेलबाट सात अंक बनाएको छ।
‘अब होम्रो एएफसी कप छनोट खेल्ने सम्भावना सकिएको छ। तर अझैपनि हामी उपाधिका लागि भने फाइट गर्छौं। लिगमा अहिले छ खेल मात्र सकिएका छन्। अघि रहेका टिमले पनि सबैमा जित नै निकाल्छन् भन्न सकिँदैन। त्यसैले हाम्रो लक्ष्य उपाधि हो,’ आजको खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने।
दुवै टिमबाट आक्रमक रुपमा सुरु भएको खेलमा थ्रिस्टार र आर्मीले सुरुआतमै राम्रा अवसरहरु बनाएको थियो। तर उसले सदुपयोग गर्न सकेन।
‘हामीले धेरै अवसरहरु त बनायौँ तर फरवार्डले गोल गर्न सकेनन्। हामी फरवार्डको खोजीमा छौं। सकेसम्म विदेशी नै ल्याउने भन्ने हो। तर भनेजस्तो फरवार्ड पाएको छैन। तर सातौं चरणका खेलसम्ममा आउँछन् होला,’ थ्रिस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले भने।
१७औं मिनेटमा रितिक कुमार थापाले गरेको प्रहारलाई विमल पाण्डेले ब्लक गरेका थिए। लगत्तै शेम मार्टिनले पेनाल्टी बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार भने पोस्टको नजिकैबाट बाहिरिएको थियो।
आर्मीका सन्तोष तामाङले खेलको २३औं मिनेटमा पेनाल्टी बस्क्सको कुनाबाट गरेको प्रहार गोलपिरको हातमा पुगेर रोकिएको थियो। रितिक कुमार थापाबाट पाएको बलमा आयुष घलानको प्रहार पनि गोलकिपरसम्म पुगेर रोकिएको थियो।
खेलको ३५औं मिनेटमा हेमन्त थापा मगरले जगजित श्रेष्ठलाई गोललाइन छेउमा लडाएपछि आर्मील फ्रि किक पाएको थियो। सन्तोषले फ्रि किक प्रहार गरेका थिए। सो फ्रि किकबाट पाएको बललाई युद्ध शाहीले हेडरमार्फत् गरेको प्रहार पोस्टको बारमा लागेर फर्किएको थियो। फर्किएको बललाई टंक बस्नेतले प्रहार गरे पनि बल पोस्टको नजिकैबाट बाहिर गयो।
आर्मीले पहिलो हाफको इन्ज्युरी समयमा गोलको अर्को सुनौला अवसर गुमायो। दिनेश हेन्जनले पोस्टनजिकैबाट प्रहार गर्न नसकि क्रस गरेपछि थ्रिस्टारका खेलाडीले क्लियर गर्न खोजेका थिए।
तर त्यसपछि र्कनरबाट आएको बललाई जगजितले पोस्टतर्फ प्रहार गरे पनि फ्रेमबाट बाहिरिएको थियो।
खेलको ८२ औं मिनेटमा आर्मीले अर्को अवसर गुमायो। इन्ज्युरी समयमा थ्रिस्टारका फरवार्ड विजय भुजेलले प्रहार गरेको बल विकेश कुथुको हातमा पुगेर रोकियो।