काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पुष्पकमल दहाल प्रचण्ड र केपी शर्मा ओलीलाई प्रतिक्रियावादी दलालको संज्ञा दिएका छन्।
माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा महासचिव वैद्यले प्रचण्ड र ओलीलाई प्रतिक्रियावादका दलालको संज्ञा दिएका हुन्। उनले कम्युनिष्ट पार्टीको स्थापना भएयता थुप्रै संघर्षहरु भए पनि सुरुमा भएका क्रान्तिकारीहरु पछि गएर बिग्रिएको बताए। उनले यस्ता घटनाहरुको व्याख्या नगरी अघि बढ्न नसकिने भन्दै अहिले नेपालमा सच्चा कम्युनिष्ट को हो भन्ने प्रश्न खडा भएको बताए।
महासचिव वैद्यले दक्षिणपन्थीको नेतृत्व गर्नेहरुले नै अहिलेको ठूलो खतरा दक्षिणपन्थी अवसरवाद भनिरहेको पनि टिप्पणी गरे। उनले अहिले प्रचण्ड आफूलाई क्रान्तिकारी भनिरहेको भन्दै प्रचण्डले माओवाद पहिले नै छोडिसकेको दाबी गरे।
महासचिव वैद्यले माक्सवाद, लेनिनवाद, माओवाद मात्र भनेर नहुने भन्दै त्यसले भनेअनुसारको राजनीतिक कार्यदिशा बनाउनु पर्नेमा जोड दिए।