काठमाडौं- नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन उद्घाटन कार्यक्रममा केही समय ढिलो गरी पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादीका नेताहरूले स्वागत गरे। स्वागत ग्रहण गर्दै अघि बढिरहेका देउवालाई मञ्चमा ऊर्जामन्त्रीसमेत रहेकी माओवादी नेतृ पम्फा भुसालले स्वागत गरिन्।
यसपछि देउवाका लागि राखिएको आसनतर्फ अघि बढेका देउवालाई माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वागत गरेका थिए। देउवालाई पुष्प गुच्छा दिएर प्रचण्डले स्वागत गरेका थिए।
मञ्चमा अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू माला पहिरिएर बसेका थिए। प्रधानमन्त्री देउवालाई पनि माला पहिराइयो।
मलाई लगाइदिने बित्तिकै प्रधानमन्त्री देउवाले हतारहतार मालालाई आफूअघिको टेबलमा राख्न खोजे। यही क्रममा अध्यक्ष प्रचण्डसँग केही कुराकानी गरे। यसपछि देउवाले पुनः आफै माला लगाए। कार्यक्रम अघि बढिरहेको थियो।