धनगढी- सन् १९७० को दशकमा भारतमा कुख्यात डाँकुको परिचय बनाएका थिए, पञ्चम सिंहले । सयौंको हत्या र हजारौं डकैती अभियोगमा उनलाई अदालतले फाँसीको सजाय नै सुनायो । संयोगवस बाँच्न सफल भएका उनी अहिले समाज बदल्ने अभियानमा जुटेका छन् । अर्थात्, राजयोगी बनेका छन् ।
जतिबेला उनी डाँकु थिए, सरकारले सिंहलाई पक्राउ गरेर जिउँदै या मारेर ल्याउनेलाई दुई करोड रुपैयाँ इनाम दिने घोषणा नै गरेको थियो । अपराधी जीवनबाट शान्तिको मार्गमा आएयता उनी आध्यात्मिक प्रवचन दिँदै हिँडेका छन् ।
हाल नेपालमा प्रवचन दिँदै हिँडेका उनले भारतका २७ राज्यका एक लाखभन्दा बढी विद्यालय तथा दुई लाख बढी गाउँमा अध्यात्मको माध्यमबाट मिल्ने सुख, शान्तिबारे सन्देश दिइसकेका छन् । उमेरले एक शताब्दि पूरा गर्न लाग्दा उनी निरोगी छन् र अरूलाई निरोगी रहने तरिका सिकाइरहेका छन् ।
आफूले डाकु छँदा गरेका काम र त्यसपछिका दिनमा बटुलेको अनुभव बाँड्दै उनी शान्ति, सहयोग, अध्यात्मिक सन्देश फैलाउँदै हिँडिरहेका छन् । हालै धनगढीमा पनि उनले प्रवचन दिए । त्यसक्रममा आफूलाई पूर्वकुख्यात डाँकुका रूपमा चिनाउन छुटाएनन् । ४७ वर्षदेखि ध्यानमा तल्लीन उनलाई आफ्नो परिचय खुलाउने आत्मबल दिएको छ ।
यसरी बने डाँकु
भारत मध्यप्रदेशस्थित सिंहपुराको भीँडमा जन्मिएका उनले कक्षा ४ सम्मको अध्ययन गरे । खेती किसानी गरेरै परिवार पालिरहेका उनी सानैदेखि अन्यायविरोधी र देवीप्रति आस्था राख्ने स्वभावका थिए । सन् १९५८ मा गाउँमा पञ्चायतको चुनाव हुने भयो । चुनावअघि दुई पार्टीका कार्यकर्ताबीच निकै झगडा हुन्थ्यो । त्यही झगडामा अर्को समूहले पञ्चम सिंहलाई निर्घात कुटपिट गर्यो ।
करिब २० दिन अस्पतालमा बसेर घर फर्किएपछि पनि उनलाई सताउन छाडिएन । त्यसबाट उनको मनमा बदलाको भावना पैदा भयो । आफूलाई कुटपिट गर्ने समूहका ६ जनालाई गोली हानेर हत्या गरे र डाँकु बन्न जंगलतिर लागे ।
आफ्नो समूह विस्तार गर्दै गए । 'मैले डाँकु बन्नुको मुख्य उद्देश्य नै गाउँमा अन्याय अत्याचार गर्नेहरूलाई सफाया गर्नु थियो,' उनी भन्छन्, 'रोइकराइ गर्ने बच्चालाई शान्त पार्नदेखि गलत काम गर्ने सबैलाई ठीक पार्न मेरो नाम मात्र उच्चारण गरे मात्र पुग्थ्यो ।'
१४ वर्षसम्म डाँकु जीवन बिताएर भारतका उत्तरप्रदेश, मध्यप्रदेश र राजस्थानका २५ जिल्ला उनको समूहको कब्जामा नै रहे । गाउँमा उनको समानान्तर सरकार नै थियो । समाजमा हुने सबैखाले अन्याय/अत्याचारविरुद्ध उनको समूहले सफाया अभियान नै चलायो ।
पैसा कमाउने उद्देश्यले नभई अन्याय/अत्याचारविरुद्धमा लड्न डाँकु बनेकाले आफू बाँचेको उनको भनाइ छ । डाकु छँदा संकलित रकमले थुपै्र विद्यालय र मठमन्दिर निर्माण गराए ।
अन्याय/अत्याचार गर्नेलाई एक पटक चेतावनी दिने र नमानेमा दोस्रो पटक सीधै सफाया गर्ने उनको नीति थियो । 'महिलामाथि हुने अन्याय र अत्याचार त देखि सहन्नथें,' उनी भन्छन्, 'महिला भनेकै आमा हुन्, यदि कुनै आमामाथि अन्याय भएको कुरा सुन्नेबित्तिकै सीधै सफाया गरिन्थ्यो ।'
पञ्चम समूहको जुन प्रदेशमा पकड थियो, त्यहाँ उनीहरूले चाहेभन्दा बाहेक कसैले उम्मेदवारी दिने आँट गर्दैनथे । उनको समूहले जसलाई चाह्यो, त्यही व्यक्ति राज्यसभा सांसद र विधायक बन्थे । १४ वर्षसम्मको डाँकागिरिमा महिला र बालबालिकामाथि आक्रमण गरेनन् ।
एक पटक १० वर्षे बालकको भने अन्जानमा गोली लागेर हत्या भयो । त्यस घटनाले पञ्चमलाई अझै आत्मग्लानी भइरहेको छ । त्यही क्रममा एक पटक प्रहरीका एसपीले पञ्चमकी बहिनीलाई 'तिम्रो दाजुलाई खोजेर ल्याऊ' भन्दै नियन्त्रणमा लिएर ब्यारेकमा राखे । कुख्यात डाँकाका लागि प्रहरीको ब्यारेकमा छिर्न र बहिनीलाई रिहा गर्न सक्ने सम्भावना थिएन ।
पञ्चमले बहिनीलाई प्रहरीको ब्यारेकबाट निकाल्ने जुक्ति निकाले । प्रहरीले नै चढ्नेजस्तो तीन वटा गाडीमा साइरन जडान गरे । प्रहरीको जस्तै कपडा र हातहतियार तयार पारे । बहिनी राखिएको थानामा बस्ने हाकिमभन्दा माथिल्लो तहको हाकिम बनेर उनी आफ्ना लडाकुहरू सहित सीधै थानाभित्र पसे । सबैले उनलाई हाकिम आए सोचेर सलामी दिए ।
त्यहाँका हाकिमलाई उनले भने, 'त्यो बहिनीलाई म आफैं कारवाही गर्छु ।' प्रहरीले उनकी बहिनी उनकै जिम्मा लगाए । तर, थानेदारलाई पनि सँगै गाडीमा राखेर निस्किए । ती थानेदारको हत्या गरे ।
उनले आफ्नो समूहमा निकै अनुशासन कायम गरेका थिए । अनाहकमा कसैलाई दुःख नदिने र अन्याय/अत्याचार गर्नेबाहेक अन्य मानिसलाई नछुने उनको नीति थियो । एक दिन आफ्नै समूहका एक सदस्यले महिलामाथि दुव्र्यवहार गरेको पुष्टि भयो । पञ्चमले ती सदस्यलाई आफैंले गोली हानेर हत्या गरे ।
सोही अवधिमा खोलिएको एक विद्यालयमा नपढ्ने विद्यार्थीलाई छुट्टै कोठामा लगेर २४ घण्टासम्म थुन्ने नियम लगाए । त्यही भएर नपढ्ने र रोइकराइ गर्ने बालबालिकालाई पढ्न र चुप लगाउन सबै मानिसले पञ्चम आयो भनेर तर्साउने गर्थे ।
भेष बदलेरै प्रहरीको पञ्जाबाट बहिनीलाई निकाल्न सफल भएका पञ्चम डाँकु अवधिमा भेष बदलेरै सुरक्षाकर्मीबाट जोगिने गर्थे । 'हामीलाई भारतीयभन्दा पनि नेपाली प्रहरीसँग सारै डर हुन्थ्यो,' गोर्खा सैनिकबारे उनले भने, 'कहिले जंगलमा गोरु चराउने गोठालो भएर त कहिले खेतबारीमा काम गर्ने किसान भएर ज्यान जोगाइयो ।'
यसरी छुट्यो डाँकागिरि
उनी सानैदेखि देवीप्रति आस्था राख्ने गर्थे । डाँकु अवधिमा पनि उनले हरेक बिहान देवीको पूजा आराधना गर्थे । र, देवीसँग प्रार्थना गर्थे, नम्बर-१ डाँकु बनौं ।
डाँकु जीवन छाडेपछि उनलाई वास्तवमा देवी-देवता छन् कि छैनन् भनेर विचार गर्ने सोच आयो रे । देवीको प्रत्यक्ष दर्शन नपाएसम्म खाना त के पानी पनि नपिउने प्रतिज्ञा गरे ।
अन्न, पानी केही नखाई बसेको दुई दिनसम्म पनि देवीको दर्शन पाएनन् । त्यसपछि उनको मनमा देवीप्रति रिस पैदा भयो । त्यसपछि सबै मठमन्दिर भत्काउने र भक्ति गर्न बसेकाहरू सबैलाई छप्काउने विचार गरे ।
उनको मनमा नकारात्मक भावना पैदा भएको केही समयपछि आफूलाई सेता बस्त्रमा देवीले दर्शन दिएको उनको दाबी छ । र, तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई पनि तिनै देवीले आफूसँग वार्ता गर्न अह्राएको उनको दाबी छ ।
'देवीको आदेश पाएको दोस्रो दिनमै इन्दिरा गान्धीले लोकनायक जयप्रकाश नारायणलाई वार्तामा आउनु भन्ने खबर पठाइन्,' उनको भनाइ छ । डाँकागिरि छाडेर शान्तिमा आउनका लागि उनले सरकारसमक्ष आठ वटा माग राखे । खुला जेल हुनुपर्ने, आफ्नो समूहका पाँच सय ५६ जनाका सन्तानलाई पठनपाठनको जिम्मा राज्यले लिनुपर्ने, प्रतिपरिवार ३० बिघा जग्गा दिनुपर्ने, आफूहरू माथि लागेका मुद्दा फिर्ता लिनुपर्नेलगायत माग थिए उनका ।
सरकारले ती सबै माग सम्बोधन गर्न सहमति दियो । र, उनीसहित पाँच सय ५६ जनाले आत्मसमर्पण गरे ।
कसरी बने राजयोगी ?
आत्मसमर्पणपछि उनीहरूलाई सरकारले खुला जेलमा राख्यो । उनीमाथि तोकिएको मृत्युदण्डको सजाय पनि राष्ट्रपतिले फिर्ता लिए । जेलमा बसेको पाँच वर्षपछि इन्दिरा गान्धीले पञ्चमलगायत समूहका सबैलाई परिवर्तन गर्न ब्रम्हकुमारी ईश्वरी विश्वविद्यालयलाई जिम्मा लगाइदिइन् ।
तीन वर्ष लामो प्रशिक्षणबाट जीवन नै परिवर्तन गरेपछि आजीवन कारावासको सजाय तोकिएका पञ्चमलाई सरकारले आठ वर्षमै जेलमुक्त गर्यो । एक कुख्यात डाँकु अध्यात्मको माध्यमबाट तीन वर्षमै राजयोगी बन्न पुगे । फलफूलबाहेक खान केही नखाने उनी अहिले विद्यालय, जेल र समुदायमा उत्प्रेरणा जगाउन तल्लीन छन् । जब मान्छेले मनमा शान्ति लिन सक्छ, तब मात्र सबै कुरा सम्भव हुने उनको भनाइ छ । ज्ञान र अध्यात्मले मात्र मान्छेमा हर कुरा परिवर्तन सम्भव भएको उनको बुझाइ छ ।