काठमाडौं– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि डाकिएको छ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीले अन्य दलका नेताहरूलाई पनि उद्घाटन सत्रमा सहभागी हुनु निमन्त्रणा दिएको हो। महाधिवेशन आइतबार १ बजे उद्घाटन हुने भनिए पनि २ घण्६ा पछि सारिएको छ।
प्रवक्ता कृष्णबहादुर महराले महाधिवेशनमा रूपान्तरणसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरिएको जानकारी दिए। उनले भने, ‘पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई बोलाउने योजना थिएन। तर महाधिवेशन भएपछि अन्य दललाई निम्तो गरिएको छ।’
महराका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ।
माओवादी स्थायी कमिटीको शनिबार बसेको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। यसअघि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भन्दै आएको थियो। स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्छ। यसका लागि माओवादीको केन्द्रीय कमिटी बैठक जारी छ।
महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ। यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ। मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ।
महाधिवेशनले पार्टीको समग्र नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकल्प देखिएको छैन। हाल माओवादीको केन्द्रीय समिति १७९ सदस्यीय छ। महाधिवेशनमा २९९ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरिने जनाइएको छ। यसमा दलितको प्रतिनिधित्व ४५ जनाको हुनेछ। मुस्लिम १५, महिला ६७, युवा ४८ र अन्य खुला १२४ जना सदस्य रहने व्यवस्था गरिएको छ।