पाँचथर- भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको छ।
केही दिनअघि हल्का वर्षा भएपछि शुक्रवार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रहरुमा हिमपात भएको हो। प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए पनि यस वर्ष पुस महिनाको सुरुआतमै हिमपात भएको हो।
पाँचथरमा पर्ने तिम्बु पोखरी, पहाडेमेगू, फलेके, मेजर, चिवाभञ्ज्याङ, लामपोखरी, तोरीफूले, फालोट, तीनसीमाना, चारराते लगायत उच्च पहाडी क्षेत्रहरु हिँउले ढाकिएका छन्। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरु विन्दू चिवाभञ्ज्याङ क्षेत्र हिँउले ढाकिनुका साथै करीब दुई किलोमिटर तलसम्म सडकमा हिउँ जमेको छ।
याङवरक–२ का सन्तप्रसाद बेघाकाअनुसार दुई वर्षअघि मङ्सिर महिनाको अन्त्यमासमेत हिउँ परेको थियो। यसपालि सामान्य वर्षापछि हिउँ पर्न थालेको बेघाले बताए। 'हिउँ धेरै दिन चाहिँ रहँदैन्। तर यसपालि चाँडै हिमपात सुरु भयो,' बेघाले भने, 'हिमपातपछि चिसो अत्यधिक बढेको छ।' हिमपात भएका क्षेत्रहरुमा चौंरी तथा भेंडा गोठहरु छन्। तर चिसो बढ्ने भएपछि गत कात्तिकबाटै गोठहरु गाउँ बस्तीको नजिक सारिएका छन्। 'गाउँको छेउमा सारिए पनि चिसोको प्रभाव पर्ने नै भयो,' बेघाले भने।
हिमपातपछि सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको दैनिकी कष्टकर बनेको छ। पाँचथरमा याङवरक गाउँपालिकामा चिवाभञ्ज्याङ र लामपोखरी तथा फालेलुङ गाउँपालिकामा तीनसीमाना फालोट र चाररातेमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) राखिएका छन्।
बीओपीहरु हिउँले ढाक्दा सुरक्षाकर्मीहरुको दैनिकी कष्टकर बनेको हो। नेपालसँग सीमा जोडिएको भारतको सिक्किम क्षेत्रमासमेत हिमपात भएको छ। पाँचथरमा भारतसँग सीमा जोडिएको ४५ किलोमिटर भू–भाग पर्दछ। उच्च पहाडमा पर्ने सीमा क्षेत्रमा वर्षेनिजस्तो हिमपात हुने गरेको छ। - न्युज कारखाना