काठमाडौं- नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अव टेलिकमले आइएमईसँग प्रतिस्पर्धा गर्नेछ।
आइएमई दुई खेलमा हार बेहोर्दै उपाधिको होडबाट बाहिरिएको छ। टेलिकमले नेपाल विद्युत प्राधिकरण र नेपाल राष्ट्र बैंकमाथि जित निकाल्दै सेमीमा स्थान पक्का गरेको हो।
काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको च्याम्पियनसिपको पहिलो दिन राष्ट्र बैंकलाई ३–० ले हराएको टेलिकमका नेपाल नम्बर एक खेलाडी रत्नजितले राष्ट्र बैंकका नम्बर दुई दिपेश धामीलाई २१–१५, २२–२४, २१–१७ ले पराजित गरे।
यस्तै टेलिकमकी सीमा राजवंशीले राष्ट्र बैंककी अमिता गिरीलाई २१–११, १२–२१, २१–१८ ले पराजित गरे। यस्तै टेलिकमका सुरेन्द्र सिंह कार्की र राजेन्द्र श्रेष्ठको जोडीले राष्ट्र बैंकका रिषीकेश भट्ट र डिला राम सवेदीलाई २१–१४, २१–१४ ले जित निकाले।
यस्तै टेलिकमले विद्युतलाई ३–२ ले पराजित गर्ने क्रममा रत्नजितले विद्युतका दीपक बोहरालाई २१–९, २१–११ले पराजित गरे। दोस्रो खेलमा विद्युतकी शोभा गौचनले टेलिकमकी सीमा राजवंशीलाई २३–२१, २४–२२ ले पराजित गर्दै खेललाई एक एकको बराबरीमा ल्याइन्।
यस्तै तेस्रो खेलमा टेलिकमका शोभाकर भण्डारी र सुरेन्द्र सिंह कार्कीको जोडीले विद्युतका टेकबहादुर बुढा र रत्न श्रेष्ठको जोडीमाथि २१–१५, २१–१७ को जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए। यस्तै चौथो खेलमा विद्युतका शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले टेलिकमका जे.टि. गुड्डी कार्की र सीमा राजवंशीको जोडीलाई २१–१५, २४–२२ ले पराजित गर्दै पुन खेललाई २–२ को बराबरीमा पुर्याए। यस्तै अन्तिम तथा निर्णायक खेलमा टेलिकमका कृष्ण शर्मा र रत्नजितको जोडीले दीपक बोहरा र राजु महर्जनको जोडीमाथि २१–१९, २१–१० को जित निकाल्दै ३–२ का साथ टेलिकमलाई सेमिफाइनमा स्थान पक्का बनाए।
यस्तै अर्को सेमिफाइनल प्रवेश गर्ने टोलीमा सिल्क ग्रुप रहेको छ। सिल्कले कुमारी बैंक, कान्तिपुर र आयल निगम तिनै टिमलाई जित्दै सेमीमा स्थान पक्का गरेको हो। च्याम्पियनसिपको पहिलो दिन आयल निगममाथि ३–१ को जित निकालेर जितको सुरुवात गरेको सिल्कले दोस्रो दिनको पहिलो खेलमा कान्तिपुर पब्लिकेशनलाई ३–२ ले पराजित गर्यो।
कान्तिपुरका साजन कृष्ण ताम्रकारले सिल्कका विकास श्रेष्ठमाथि २१–१८, २१–१८ को समान अन्तरले पराजित गर्दै १–० को जित निकाले। यस्तै दोस्रो खेलमा सिल्ककी अनुमाया राईले कान्तिपुरकी सम्झना शर्मा माथि २१–९, २१–१३ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याए। यसैगरी कान्तिपुरका प्रकाश बादु र ब्रिदेन सुब्बाको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई १४–२१, २२–२०, २२–२० ले पराजित गर्दै पुनः कान्तिपुरलाई २–१ को अग्रता दिलाए।
२–१ ले पछि परेको अवस्थामा सिल्कले खेललाई आफ्नो पक्षमा ल्याउने क्रममा महिला युगल तर्फ अनुमाया राई र ताशी शेर्पाको जोडीले रिमा गिरी र सम्झना शर्माको जोडीमाथि २१–४, २१–८ को जित निकाल्दै खेललाई २–२ को अवस्थामा पुर्याए। अन्तिम तथा निर्णायक खेलमा रमेश शेर्पा र विकास श्रेष्ठको जोडीले ब्रिदेन सुब्बा र साजन कृष्ण ताम्राकारको जोडीलाई २१–१४, २१–१० ले पराजित गर्दै ३–२ का साथ जित निकाले। यसैगरी सिल्कले अन्तिम खेलमा कुमारी बैंकलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।
सिल्कले कुमारी बैंक माथि ३–१ को जित निकालेको हो। सिल्कका विकास श्रेष्ठले कुमारीका सुदीप सेढाईलाई २१–१५, २१–१० ले पराजित गरे। दोस्रो खेलमा अनुमाया राईले कुमारीकी सुनयना मुखियालाई २१–१०, २१–१६ ले हराइन्। तेस्रो खेलमा कुमारीका विक्रम निरौला र नीरज राईको जोडीले सिल्कका सुवास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१७, १०–२१, २१–१७ ले पराजित गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। चौथो खेलमा सिल्क ग्रुपको अनुमाया राई र ताशी शेर्पाको जोडीले ११–२ को अग्रता लिएको अवस्थामा कुमारी बैंककी सुनयना मुखियाको घुडामो चोट आएका कारण खेललाई त्याग्न बाध्य भए पश्चात् सिल्कले खेल जित्दै सेमीमा स्थान पक्का गरेको हो।