काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले यो वर्ष पनि नेपालले एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्न फाइट गर्ने बताएकी छन्।
नेपालले सेन्ट्र जोनमा खेल्नुपूर्व उनले नेपाली टिमको लक्ष्य उपाधि रक्षा गर्ने बताएकी हुन्। ‘छोटो समय भए पनि तयारी राम्रो नै मान्नुपर्छ। हामीले पछिल्लो संस्करणमा जस्तै राम्रो टिम बनाउने प्रयास गरेका छौं। पछिल्लो सिजन पनि हामी च्याम्पियन नभएको हो। त्यो उपाधि रक्षा गर्ने हाम्रो लक्ष्य छ,’ उनले भनिन्।
सन् २०१९ मा बंगलादेशमै नेपाली महिला टिमले उपाधि जितेको थियो। तर यो वर्ष केही गाह्रो हुनसक्ने अरुणा बताउँछिन्। ‘पछिल्लो सिजन केही सजिलो थियो। टिम थोरै थिए। तर यो वर्ष छ टिम सहभागी हुँदैछन्। एउटा श्रीलंका बलियो छ र हामीले कहिले पनि नखेलेको टिम उज्ज्वेकिस्तानसँग पनि खेल्दैछौं,’ उनले भनिन्।
नेपाल अहिले साबिक विजेताका हिसाबले प्रतियोगितामा सहभागी बन्दैछ। त्यसले कति दबाब थपिएला त? जवाफमा अरुणा भन्छिन्, ‘ दबाब छैन। दबाब लिनु भन्दा आफूलाई प्रेरणा दिनु राम्रो हुन्छ। त्यसैले दबाब लिएको छैन। पहिला जितेको अहिले जित्नैपर्छ भन्दा पनि पहिलेको भन्दा राम्रो प्रदर्शन गर्ने हो। अहिले टिममा चार जना नयाँ खेलाडी थपिएका छन्। पहिलेका खेलाडी भन्दा पनि राम्रो प्रदर्शन गर्न सक्ने क्षमता भएका नयाँ खेलाडी छन्।’