काठमाडौं– एसीसी यू १९ एसिया कप खेल्न अहिले नेपाली राष्ट्रिय यू १९ पुरुष क्रिकेट टिम युनाइटेड अरब इमिरेट्स (यूएई) छ।
गएको सोमबार यूएई पुगेको नेपाली टिमले आज बुधबार पहिलो दिनको अभ्यास गरेको क्यानले जनाएको छ।
नेपालले अब डिसेम्बर २३ बाट ३१ सम्म यूएईमा समूह चरणका तीन खेल खेल्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन्। यो टिम समूह बीमा रहेको छ। समूह एमा भारत, पाकिस्तानसहित अफगानिस्तान र यूएई रहेका छन्। दुवै टिमका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन्।
टोलीको कप्तानमा देव खनाल छन् भने उपकप्तानमा शेर मल्ल छन्। टोलीमा विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल, प्रकाश जैसी गुलशन झा, आदिल अन्सारी, वसिर अहमद र अर्जुन साउद छन्। यस्तै दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी र दुर्गेश गुप्ता छानिएको क्यानले जनाएको छ। टिम व्यवस्थापकमा धर्मराज गिरी र प्रशिक्षकमा वसन्त साही छन्।
नेपाली टिम सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ यूएई प्रस्थान गरेको हो। अब नेपालले पुस ७ गते बंगलादेशसँग खेल्नेछ भने पुस १० गते श्रीलंकासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा नेपालले कुवेतको सामना गर्नेछ।










