काठमाडौं– सोमबार दिउँसो सहिद स्मारक ए डिभिजन लिगको पाँचौं चरण सकियो। मंसिर तीन गतेबाट सुरु भएको लिगको पाँचौं संस्करण सकिँदा लिगको रेलिगेसनदेखि शीर्षस्थानमा पुग्ने होडमा धेरै परिवर्तन देखिए।
लिगको पहिलो चरण सकिँदा च्यासल युथ क्लब तालिकाको पुछारमा थियो। फेरि पाँचौं चरण सकिँदा च्यासल रेलिगेसन क्षेत्रभित्र पुगेको छ। तर यसबीच सम्झनलायक दुई कुरा भए। लिगको दोस्रो चरणदेखि चौथो चरणसम्म लगातार जावलाखेल युथ क्लब र एपीएफ क्लब रेलिगेसन क्षेत्रमा थिए। पहिलो तीन खेलमा लगातार हार बेहोरेका दुवै क्लबले चौथो खेलमा बराबरी गर्दै पाँचौं खेलमा आएर जित निकाले।
पाँचौं चरणमा यी दुई क्लबले जित निकाल्दा फ्रेन्ड्स क्लब एपीएफको सिकार भएको थियो भने जावलाखेलले च्यासललाई हरायो। त्यसैले दुवै क्लबले रेलिगेसन जोन छोडेका छन्। यससँगै फ्रेन्ड्स क्लब पहिलो पटक रेलिगेसनमा पुग्यो। अहिले रेलिगेसनमा भएका दुई टिम (च्यासल र फ्रेन्ड्स) को क्रमशः चार र दुई अंक छ।
त्यसो तर रेलिगेसनबाट बच्न कसरत गरिरहेका जावलाखेल र एपीएफको पनि समान ४–४ अंक रहेको छ। लिगबीच हिमालयन शेर्पा क्लब पनि पहिलो पटक रेलिगेसन जोनमा पुगेको थियो तर उसले ब्रिगेड बोइज क्लबविरुद्ध आइतबार जित निकाल्यो। त्यो जितका कारण शेर्पा अहिले पाँच अंक बनाएर लिगको आठौं स्थानमा पुगेको छ।
यसबीच सम्झनलायक दुई कुरा भए। लिगको दोस्रो चरणदेखि चौथो चरणसम्म लगातार जावलाखेल युथ क्लब र एपीएफ क्लब रेलिगेसन क्षेत्रमा थिए। पहिलो तीन खेलमा लगातार हार बेहोरेका दुवै क्लबले चौथो खेलमा बराबरी गर्दै पाँचौं खेलमा आएर जित निकाले।
रेलिगेसन क्षेत्र छोडेर आएको शेर्पासँग अंक बराबरी गर्ने क्लबमा बिबिसी र नेपाल पुलिस पनि छन्। उनीहरुको समान ५–५ अंक छ। हिमालयन शेर्पाको प्रशिक्षकको भनाइ मान्ने हो भने अब क्लब माथि जाने दाउमा छ। ‘हामीले बलिया मानिएका क्लबसँग खेलिसकेका छौं। त्यसैले लिगमा अबको हाम्रो यात्रा केहि सहज हुनेछ। लिगमा खराब सुरुआत भए पनि अन्त्य सुन्दर हुन्छ, राम्रो सुरुआत गरेर पनि खराब अन्त्य हुनसक्छ,’ उनले आफू सुखद् अन्त्य गर्ने दाउमा रहेको बताउँदै भने।
यता जावलाखेलका प्रशिक्षक किशोर कुमार केसी पनि रेलिगेसनका लागि नभएर मध्य स्थानका लागि नै फाइट गर्ने बताउँछन्। फ्रेन्ड्स क्लब भने जसरी भए पनि रेलिगेसनबाट जोगिने दाउमा छ। दुई क्लब रेलिगेसनमा पर्ने सिजनको नियमका कारण अहिले पुछारतिर रहेका क्बहरुलाई दबाब पनि थपिएको छ।
शीर्षमा उस्तै भिडन्त
यो सिजन त्रिभुवन आर्मी क्लबका लागि केही पिडादायी रह्यो। आर्मीको पहिलो रोजाइका फरवार्ड नवयुग श्रेष्ठ घाइते भएपछि सुदिललाई पनि चोटले सताएको छ। त्यसैले उसले जगजित श्रेष्ठलाई क्लबमा अनुबन्ध गरेको छ।
तर पाँचौं चरणसम्म पुग्दा आर्मीले तीन खेलमा त बराबरी मात्र गरिरहेको छ। उसले पुलिस र मछिन्द्रसँग तर बराबरी गर्यो नै, लामो समय एउटै टिममा खेलिरहेका आर्मीका खेलाडीले यो सिजन मात्र बनेको नयाँ क्लब सातदोबाटोसँग पनि बराबरी गर्यो।
‘पछिल्लो चार वर्षमा आर्मीको टिमको प्रदर्शन हेर्ने हो भने आजको खेल नै उसको सबैभन्दा कमजोर खेल देखिन्थ्यो,’ गएको शुक्रबार आर्मीसँग १–१ गोल बराबरीपछि सातदोबाटोका प्रशिक्षक मेघराज केसीले भने, ‘आर्मी बलियोे टिम हो। मैले उसलाई अन्य टिमसँग तुलना गरेको होइन। आर्मीसँगै तुलना गर्दा ऊ आज (शुक्रबार) पछिल्लो चार वर्षयताकै कमजोर देखियो।’
यद्यपि अपराजित आर्मी ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ। अहिले उपाधि भिडन्तमा रहेका टिम पनि आर्मी, मछिन्द्र र मनाङ नै हुन्। मछिन्द्रका लागि पनि पाँचाै चरण सम्झनलायक रहेन।
उसले लिगमा चौथो स्थानको संकटा क्लबसँग बराबरी खेल्यो। अहिलेसम्म अपराजित क्लबमा शीर्ष तीन क्लबबाहेक संकटा मात्र हो। यो वर्ष लिगमा डेब्यु गरेका विष्णु गुरुङले संकटालाई मछिन्द्रसँग हार्न दिएनन्। फलतः उपाधि दावेदार मछिन्द्र बराबरीमा रोकिँदा उसलाई दुई अंक घाटा लाग्यो।
त्यो अहिलेको अंकतालिकामै देखिन्छ। चौथो चरणमा शीर्षस्थानमा १० अंकको बराबरी गरेका मछिन्द्र र मनाङमध्ये मनाङले १३ अंक बनाएको छ भने मछिन्द्रको ११ अंक मात्र छ। त्यसैले अहिले उपाधि दावेदारमा यि दुई क्बले स्पर्धा गरिरहेका छन्।
यता मनाङले पाँचौं चरणमा पहिलो पटक घरेलु मैदानमा फुटबल खेल्यो। यो पटक सहिद स्मारक लिग नै इतिहासमै पहिलो पटक काठमाडौं बाहिर गयो। त्यो ऐतिहासिक खेल खेल्ने अवसर मनाङ र नेपाल पुलिस क्लबले पाए।
पोखराका घरेलु दर्शकमाझ मनाङले पुलिसमाथि ३–१ गोलको जित निकाल्यो। त्यसैले शीर्षस्थानमा पुगेको मनाङको अहिले मनोबल उच्च छ। छैटौं चरणको खेल खेल्न मनाङ काठमाडौं फर्किँदैछ।
अब मनाङले दोस्रो स्थानको मछिन्द्रसँग खेल्दैछ। उपाधि कसले जित्ला? प्रश्नको प्रारम्भिक अनुमान त्यो खेलबाट पनि लगाउन सकिने छ। यता सातौं चरणसम्मको विजेताले आउँदो सिजनको एएफसी कप खेल्ने अवसर पाउँछ। एएफसी कप खेल्नका लागि पनि अहिले शीर्षस्थानमा पर्न यी दुई क्लबबीच निकै पेचिलो प्रतिस्पर्धा छ।
शीर्ष ५ गोलकर्ता
अजयी मार्टिन्स– चार गोल
आशिष लामा– तीन गोल
निरज बस्नेत– तीन गोल
सुनिल बल– तीन गोल
सुमन लामा– तीन गोल
पाँचौं चरण सकिएपछिको अंकतालिकाः