काठमाडौं– यू–१९ महिला साफ च्याम्पियनसिपको उपाधि लक्ष्यका साथ बंगलादेश गएको नेपाली टिम भारतसँग पराजित हुँदै समूह चरणबाटै घर फर्किएको छ। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा आइतबार दिउँसो सम्पन्न खेलमा नेपालले भारतसँग १–० गोलको हार बेहोर्यो। त्यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिने निश्चित थियो।
तर थोरै आशा भने बचेको थियो। हराएको अवस्थामा नेपाल प्रतियोगिताबाट बाहिरिन सक्ने सम्भावना बन्यो। अन्ततः नेपाल बंगलादेशको नतिजामा भर पर्नुपर्ने भयो। तर आइतबार साँझ श्रीलंकाले बंगलादेशलाई १२–० ले हराएपछि फाइनलमा पुग्ने नेपालको झिनो आशा समाप्त हुन पुग्यो।
यता अन्तिम खेलमा जित निकाल्दै भारत पहिलो पटक यू १९ साफको फाइनलमा पुगेको छ। सन् २०१८ मा भुटानमा सम्पन्न पछिल्लो संस्करणमा नेपालले फाइनलमा स्थान बनाएको थियो। त्यो फाइनलमा नेपालले बंगलादेसँग हार बेहोरेको थियो।
भुटानको चाङिलम्थाङ रंगशालामा सम्पन्न त्यो फाइनलमा नेपालले २–१ गोलको हार बेहोरेको थियो। भारतले तेस्रो स्थान हासिल गरेको थियो।
यस्तो रह्यो नेपालको खेल
पहिलो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गरेको थियो। दुवै तर्फबाट निकै सशक्त प्रहार भएका थिए। तर गोल हुन सकेन। यससँगै नेपाल र बंगलादेशले गोलरहित बराबरी गर्दै १–१ अंक बाँडे।
पहिलो खेल राम्रो गर्न नसकेको नेपालले दोस्रो खेलमा भने निकै सानदार जित निकाल्यो। त्यो खेल थियो श्रीलंकासँग। कमजोर टिम श्रीलंकाको पोस्टमा नेपाली टिमले आधा दर्जन गोल गर्यो।
नेपालका लागि रश्मी घिसिङ र विता राना मगरले दुई–दुई गोल गरेका थिए। त्यस्तै, मेनुका आले मगर र रजनी थोकरले १–१ गोल गरेर नेपाललाई सानदार जित दिलाए।
‘हामीले टिम छनोट गर्न र तयारी गर्न २० दिनको समय पाएका थियौं। तर त्यसबीचको तयारीले पनि हामी आत्मविश्वासी देखिएका छौं,’ श्रीलंकालाई हराएपछि नेपाली टिमका प्रशिक्षक हरिओम श्रेष्ठले भनेका थिए।
नेपालले तेस्रो खेल भुटानसँग खेल्यो र ४–० गोलको जित निकाल्यो। त्यही खेलपछि त नेपाल फाइनल नजिक पुगेको हो। भुटानविरुद्ध नेपाललाई जित दिलाउन मेनुकाले दुई गोल गरिन् भने कुसुम खतिवडा र रजनीले समान १–१ गोल गरे।
‘भुटानलाई जिते पनि हामी फाइनल पुग्ने वा नपुग्ने भन्ने निर्णय नेपाल र भारतको खेलले गर्नेछ,’ भुटानलाई हराएपछि प्रशिक्षक श्रेष्ठले भनेका थिए।
त्यो जितसँगै ७ अंक र १० गोलअन्तरका साथ नेपाल प्रतियोगिताको अंक तालिकामा शीर्षस्थानमा रह्यो। समान ७ अंक बनाएको बंगलादेश दोस्रो स्थानमा रह्यो। त्यसपछि फाइनल पुग्नका लागि नेपालले भारतसँग खेल्यो।
तर नेपालले जित निकाल्न सकेन। लामो समय बराबरीमा चलेको खेलको ६८ औं मिनेटमा नेपालले गोल बेहोर्यो। अमिशा बस्लाले दिएको पासमा प्रियंका देवी नरोरेमले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। यो गोल नै खेलको निर्णायक रह्यो। र, भारतले १–० गोलको जित निकाल्यो।
खेल सकिएपछि नेपाली टोलीका प्रशिक्षक हरिओम श्रेष्ठले भने, ‘हामीलाई बराबरी मात्र चाहिएको थियो तर हाम्रो खेल योजना अट्याकिङ फुटबल खेल्ने थियो। पहिलो हाफ योजनाअनुसार नै भयो तर दोस्रो हाफ किन भएन, थाहा भएन। खेलाडीहरूले आफैं रक्षा गर्न थाले र यसले हामीलाई महँगो मूल्य चुकायो। साथै, बेन्चमा हाम्रा तीन पहिलो रोजाइका खेलाडीहरू थिए।’
नेपाली खेलाडीकाे प्रदर्शन
मेनुकाले देशका लागि सर्वाधिक गोल गरिन्। उनले प्रतियोगितामा तीन गोल गरिन्। त्यस्तै नेपालका लागि दुई गोल गर्नेमा रश्मी घिसिङ, रजनी थोकर र सविता रना मगर रहे। कुसुम खतिवडाले एक गोल गरिन्।
समूह चरणका सबै खेल सकिएपछि १० अंक बनाएको बंगलादेश शीर्षस्थानमा छ भने ९ अंक बनाएको भारत प्रतियोगिताको दोस्रो स्थानमा छ। तेस्रो स्थानको नेपालले सात अंकमा नै चित्त बुझाएको छ।
प्रतियोगिताको अंकविहीन रहने टिम श्रीलंका मात्र रह्यो भने भुटानले तीन अंक जोड्यो। भुटानले नेपाल, बंगलादेश र भारतसँग हार बेहोर्दा श्रीलंकाविरुद्ध ५–० गोलको जित निकाल्यो।