काठमाडौं- प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश १ र लुम्बिनी प्रदेशले जित निकालेको छन्।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार दिउँसो सम्पन्न खेलमा प्रदेश १ ले बागमती प्रदेशमाथि ५५ रनको शानदार जित निकालेको हो।
टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफमा बागमतीले २० ओभरमा ५० रन मात्र जोड्न सक्यो।
प्रदेश १ का अप्सरी बेगमले ५१ रन बनाइन भने स्मृति कटुवालले २० रन जोडिन्। सबनम राईले पनि १५ रनको योगदान दिइन्।
यता बागमतीका अस्मिना कर्मचार्य र खुसी ढंगोलले समान २-२ विकेट गिराए।
जवाफी ब्याटिङमा सुमन खतिवडाले २१ रन जोडिन्। प्रदेश १ की कप्तान रुविना, ज्योति दनुवार र अलिसा खडियाले समान १–१ विकेट लिए।
यस्तै, आइतबार बिहान नै भएको अर्को खेलमा भने लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हराएको छ। टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर १७ रन बनायो। जहाँ लुम्बिनीकी सुस्मिता भुषालले दुई र नेरी थापाले एक विकेट लिइन्।
यता, लुम्बिनीले कुनै विकेट नगुमाई खेल जित्यो। जहाँ लक्ष्मी चौधरीले १२ रन बनाइन भने नेरी थापाले पाँच रन जोडे।