मंगलबार, असार ३०, २०८३

कांग्रेस छाडेर गच्छदार 'कम्युनिस्ट' बन्लान् त ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय राजनीतिमा चार दशक र सत्ताको राजनीतिमा तीन दशकदेखि सधैं चर्चा र प्रभावकारी भूमिकामा देखिएका पात्र हुन्, विजयकुमार गच्छदार ।

सुनसरीको दुहबी-२ भलुवा स्थायी घर भएका गच्छदार कांग्रेस परित्याग गर्ने धम्की दिएर फेरि एक पटक चर्चामा आएका छन् । जबकि, उनी कांग्रेस संसदीय दलको उपनेता छन् । र, एक दशकपछि मातृ पार्टीमा फर्किएको नौ महिना मात्र बितेको छ । 

प्रजातन्त्र पुनःस्थापनापछि बारम्बार सत्तामा रहेका गच्छदारको राजनीतिक उदय कांग्रेसबाटै भएको हो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निवाससँग निकटतामा ०२९ सालमा पुगेका उनले जुझारु र कोइराला परिवारका सदस्यको विश्वासिलो पात्रको पहिचान बनाएका थिए ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालालगायतको संगतबाट ०३० सालमा भारत निर्वासनमा गएका उनी कोइराला परिवारका सदस्यकै रूपमा थिए । ०३६ सालमा कांग्रेसका अधिकांस नेतामाथि लगाइएको मुद्दा फिर्ता गर्दै तत्कालीन पञ्चायती व्यवस्थाले आममाफी दिएपछि गच्छदार नेपाल फर्किएका थिए ।

लडाकु स्वभावका गच्छदार विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा अनेरास्ववियू र नेविसंघको झडपमा परेर घाइते भए । झडपमा परेर तत्कालीन नेकपा मालेको भातृ संस्था अनेरास्ववियू (एकताका पाँचौं) का नेता फणिन्द्र तिम्सिनाको गोली हानी हत्या गरियो ।

तिम्सिनाको हत्या गच्छदारले गरेको आरोपमा उनलाई विद्यार्थीहरूले मरणासन्न हुने गरी कुटपिट गरी सडक किनारामा फालेका थिए । त्यस घटनामा उनले एउटा आँखा नै गुमाउनुपर्यो । अहिले पनि उनको एउटा आँखाको दृष्टि छैन । तिम्सिना हत्याको आरोपमा गच्छदार करिब चार वर्ष जेल पनि बसे ।

मृत्युको मुखमा पुगेर बाँचेका गच्छदार जेल परेपछि कांग्रेस र कोइराला परिवारका सदस्यको दयाको पात्र मात्र बनेनन्, परिवारकै एक सदस्यको रूपमा उनलाई व्यवहार गरियो र राजनीतिक पहिचान  पनि बनाए । 

२०४६ सालको जनआन्दोलनसँगै बहुदलीय व्यवस्था आएपछि कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाको सान्निध्यमा रहेका उनी कोइराला ०४८ सालमा प्रधानमन्त्री भएसँगै एकाएक शक्तिशाली बने । कोइरालाको क्याबिनेटमा सञ्चार राज्यमन्त्री बनेका थिए । त्यसयता मन्त्री र उपप्रधानमन्त्रीसम्मको हैसियतमा उनी निरन्तरजस्तो देखिए । 

तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईप्रति असहिष्णु व्यवहार र वाणी निकाल्ने गच्छदारको सहकार्य कालान्तरसम्म टिक्न सकेन । गिरिजाप्रसादकै रोजाइमा ०५२ सालमा प्रधानमन्त्री  बनाइएका शेरबहादुर देउवासँगको सान्निध्यताले गच्छदारको कोइराला परिवारसँगको सम्बन्ध टाढिँदै गयो । 
 

तीन दशकको सत्ता यात्रामा विजयकुमार गच्छदार १२ पटक मन्त्री बनिसकेका छन् । अहिले कांग्रेस छाड्ने धम्की सत्ताबाहिर रहनुको छटपटीको उपज त होइन ?


कोइराला परिवारमा गिरिजाप्रसादकी भाउजू नोना र छोरी सुजाताको प्रभाव बढ्दै गएको गच्छदारलाई मन परेन । कोइराला परिवारको सदस्यको हैसियतमा पुल्पुल्याइएका गच्छदार ०४८ सालमा सञ्चार राज्यमन्त्री हुँदै एकै वर्षमा मन्त्री बनेका थिए । देउवाको मन्त्रिमण्डलमा निर्माण तथा यातायात मन्त्री भएका गच्छदार देउवाकै सहकर्मी बन्न पुगे । 

देउवा नेतृत्वको त्रिशंकु सरकार ढलेपछि केही समय एमालेको समर्थनमा तत्कालीन राप्रपा नेता लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भए । लगत्तै कांग्रेसको समर्थनमा फुटेको राप्रपाका नेता सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा सरकारमा पुग्न उनै गच्छदारले एउटा नयाँ फर्मूला अपनाएर कोइरालालाई दबाब दिए । 

त्यतिबेला कोइराला निकट प्रभावशाली केन्द्रीय सदस्यहरू मानिन्थे, अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छदार । उनीहरूलाई 'सर्टकर्ट'मा 'एकेजीबी' भन्ने गरिएको थियो । उक्त समूहको सहमतिबिना सरकारमा मन्त्री पठाउन नपाइने शर्त गच्छदारले अगाडि सारे । 

यही दबाब समूहमार्फत् गच्छदार सूर्यबहादुर थापा र गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा ०५४ र ०५५ सालमा मन्त्री भए । ०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा फेरि मन्त्री भएका गच्छदार सोही वर्षदेखि गिरिजाप्रसादविरुद्धमा उभिए । चैत ०५६ मा कोइराला नेतृत्वको नयाँ मन्त्रिमण्डलमा उनी नपर्नुको कारण पनि त्यही थियो ।

त्यसपछि कोइराला पुत्री सुजाताको प्रभाव कोइराला परिवारमा बढेको बताउँदै अलग भए, औपचारिक रूपमै । सार्वजनिक रूपमै उनले आफ्नो प्रभाव र हैसियत गिरिजाप्रसादलाई देखाइदिने घोषणा नै गरे । 

२०५३ सालको नवौं महाधिवेशनमा कोइराला गुटबाटै पूर्वाञ्चल विकास क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए उनी । ०५७ सालको १० औं महाधिवेशनसम्म आइपुग्दा भने देउवा गुटबाट निर्वाचित हुने १६ केन्द्रीय सदस्यमध्ये गच्छदार एक थिए । 

२०५७ सालभरि सत्तामा जान नपाएका गच्छदार कोइरालाविरुद्ध औपचारिक रूपमै लागे । र, ०५८ सालमा भएको संसदीय दलको निर्वाचनमा सुशील कोइरालाविरुद्ध उम्मेदवारी दिएका देउवालाई जिताउन सफल भए । देउवा नेतृत्वको मन्त्रिमण्डलमा गच्छदारले फेरि रोजेर निर्माण तथा यातायात मन्त्रालय नै लिए ।

२०५९ सालमा संसद भंग भएपछि देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिक गठन गर्न उनको मुख्य भूमिका देखियो । त्यसअघि गिरिजाप्रसादले सभापतित्व गरेको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिलाई भजनमण्डली, ढोके र पालेको चंगुलमा फसेको भनेर आरोप लगाउँदै विष बमन गरे । 

देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकमा सह-महामन्त्रीको भूमिका पाए । तर, देउवालाई 'असक्षम' बताउँदै राजा ज्ञानेन्द्रले पदच्युत गरेसँगै उनको निकटता तत्कालीन दरबारतिर देखियो । राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदमको खुलेर विरोध गर्नुको साटो उनी मौन बसे । 

शाही सत्ताले कांग्रेस प्रजातान्त्रिकका सभापति देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहलाई मेलम्ची खानेपानी योजनाको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा जेल हाल्यो । उपसभापति चिरञ्जीवी वाग्ले र खुमबहादुर खड्कालाई पनि भ्रष्टाचारको अभियोगमा जेल हालियो । 

पार्टीका साराका सारा नेता जेल परे पनि गच्छदार भने बचे । उनीमाथि अख्तियारले छानविन नगरेको भने होइन । एकपछि अर्को गरी पदाधिकारी जेल परेपछि गच्छदार कांग्रेस प्रजातान्त्रिकको महामन्त्री  बने ।

देउवा जेल परेपछि शाही सत्ताको विरोधमा गच्छदारको आवाज मलिन भएपछि देउवासमेत गच्छदारप्रति टेढिए । कांग्रेस प्रजातान्त्रिकको महामन्त्री भएको व्यक्तिले पार्टीको ११ औं महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा चित्त बुझाउनुपर्‍यो । 

२०६२/०६३ को जनआन्दोलनमा गच्छदार क्रियाशील भएनन् । उनको भूमिका शंकास्पद पनि भयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनलाई देउवाले आफ्नो पार्टीबाट सिफारिस पनि गरेनन् । आन्दोलन सफल नभए गच्छदार शाही सरकारमा जानसमेत तयार भएको उनी निकटकाहरू बताउँछन् ।
 
कांग्रेस छाड्ने छटपटीको अन्तर्य भने बेग्लै छ । प्रधानमन्त्री ओली सम्पत्ति शुद्धीकरणको छानविनलाई गम्भीरतापूर्वक अगाडि बढाउने तयारीमा छन् । र, गच्छदार पनि अहिले पूर्वएमाले नेताहरूसँग लहसिन थालेको देखिएको छ ।

२०६३ सालमा पुनःस्थापित प्रतिनिधिसभाको संसदीय दलको नेतामा कांग्रेस प्रजातान्त्रिकका सभापति देउवाविरुद्ध उम्मेदवारी दिएर गच्छदारले १३ मत ल्याए । सोही प्रतिस्पर्धाबाट देउवासँगको हार्दिकतापूर्ण सम्बन्धमा 'ब्रेक' लाग्यो । गच्छदारले सिफारिस गरेका अधिकांशलाई ०६४ सालको संविधानसभाको निर्वाचनमा देउवाले टिकट दिएनन् । गच्छदारले मात्र टिकट पाए, सुनसरीबाट । संसदीय दलको निर्वाचनमा आफूलाई मत दिने कैलालीका रामजनम चौधरी, बर्दियाका मंगलप्रसाद थारू, नवलपरासीका दुर्योधन चौधरी, महोत्तरीका शरत्सिंह भण्डारीले टिकट पाएनन् ।

कांग्रेसले टिकट वितरण गरेकै दिन गच्छदार र भण्डारी मिलेर कांग्रेस छाडेको घोषणा गरे । फागुनमा कांग्रेस छाडेका गच्छदार, भण्डारी र चौधरीले भोलिपल्टै मधेशी जनअधिकार फोरमबाट संसदीय निर्वाचन क्षेत्रमा उम्मेदवारको टिकट पाए ।

फोरमबाट गच्छदार, भण्डारी, चौधरीलगायतले चुनाव जिते । २ भदौ ०६५ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा गच्छदार, भण्डारी दुवै मन्त्री बने । प्रचण्डको सरकार वैशाख ०६५ मा ढल्यो । फोरम अध्यक्ष उपेन्द्र यादवले माधवकुमार नेपाल नेतृत्वको सरकारलाई सहयोग नगर्ने निर्णय सुनाए । 

त्यसपछि फोरम प्रवेश गरेको डेढ वर्षमै गच्छदारले २८ सांसद लिएर मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गरे । आफैं संसदीय दलको नेता बने र नेपाल नेतृत्वको सरकारमा गृह मन्त्रालयसहित उपप्रधानमन्त्री बन्ने अवसर पाए । 

पहिलो संविधानसभा भंग हुँदै गर्दा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि उनी मन्त्री थिए । दोस्रो संविधानसभा निर्वाचनपछि गठित सुशील कोइरालाको सरकारमा पनि उनी मन्त्री नै रहे । र, त्यसपछि बनेको केपी ओली सरकार मात्र होइन, प्रचण्ड र देउवा सरकारमा पनि उनी निरन्तर मन्त्री रहे । हालसम्म उनी १२ औं पटक मन्त्री बनिसकेका छन् । 

कांग्रेस छाड्ने छटपटीको अन्तर्य भने बेग्लै छ । प्रधानमन्त्री ओली सम्पत्ति शुद्धीकरणको छानविनलाई गम्भीरतापूर्वक अगाडि बढाउने तयारीमा छन् । र, गच्छदार पनि अहिले पूर्वएमाले नेताहरूसँग लहसिन थालेको देखिएको छ । कांग्रेस छाडेर आफ्नो दलबलसहित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्छन् त गच्छदार ? अलि अनपत्यारिलो लाग्ने यो घटनाक्रम हेर्न भने केही समय पर्खिनैपर्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।