श्रीलंका टापु (सुनसरी) – सुनसरी बराहक्षेत्र नगरपालिका ६ श्रीलंका टापुका विनोद मण्डल स्थानीय सरकारबाट पाउने सुविधा पाउन नसकेको बताउँछन्। नगरबासी भएर पनि नगरको सुविधा अन्य वडाको तुलनामा पाउन नसकेको उनको गुनासो छ। सामान्य सुविधाबाट पनि वञ्चित हुनु परेको मण्डलको भनाई छ। मण्डलका अनुसार टापुबासीले बिजुलीको प्रयोग गर्न थालेको एक वर्ष भयो। एक वर्ष अघिसम्म विद्युतको पनि सुविधा आफूहरुले पाउन नसकेका उनको गुनासो छ। मण्डलले नगरको सुविधा २५ प्रतिशत मात्रै श्रीलंका टापुमा आईपुग्ने बताए। उनले भने, '७५ प्रतिशत सुविधा उतै रहन्छ, २५ प्रतिशत मात्र आइपुग्छ।’ विकटताको कारण आफूहरुले नगरबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनले बताए।
बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्वर वडाको केही भूभाग श्रीलंका टापुमा पर्दछ। जुन क्षेत्र सप्तकोशी नदीदेखि पर पर्दछ। सो क्षेत्रमा करिब १५ सय घर परिवारको बसोबास छ। करिब ७ हजार जनसंख्याको बसोबास रहेको सो क्षेत्रका बासिन्दा स्थानीय सरकारबाट पाउने सुविधाबाट बञ्चितमा परेको स्थानीय श्याम कार्कीले बताए। उनले भने,‘ उदयपुर न सुनसरीको बासिन्दा जस्तो हुँदा समस्या भयो।’
'हामीहरु बसेदेखि नजिक उदयपुर पर्छ तर हामी सुनसरीका बासिन्दा भएकाले उसले पनि हेर्दैन। वर्षौंदेखि बसोबास रहेको स्थान छाडेर हिँड्न सकिएन,' उनले भने। पटक–पटक नगरको एउटा वडा यतै राखिदिन आग्रह गर्दा पनि सुनुवाई नभएको कार्कीको भनाई छ।
निर्वाचनका समयमा नेताहरु आउने गरे पनि त्यसपछि खासै मुख देख्न नपाएको स्थानीय मुन्ना साहले बताए। चुनावको बेला श्रीलंका टापुबासीलाई सम्झिए पनि पछि गाउँ नआउने गरेको उनले बताए। आफ्नो क्षेत्रबाट निर्वाचित प्रतिनिधि प्रदेश र संघको मन्त्री भए पनि आफ्ना समस्या जस्ताको त्यस्तै रहेको उनले बताए। चुनावको समयमा टापुबासीले क्षतिपूर्ती पाउने आश्वासन पाइन्छ, त्यसपछि त्यतिकै हराएर जाने गरेको साहले गुनासो गरे। आफ्नो जमिन सप्तकोशी नदीभित्र परे पनि मालपोत तिरिरहेको उनले बताए। साहले भने, '१२ विगाहा जमिनको मालपोत तिरिरहेको छु, लालपुर्जाको फोटोकपि देउभन्दा पनि सरकारले दिएन।’ सप्तकोशी नदीले ०४० सालमा आफ्नो घर बगाएको उनले सुनाए।
रामचरण चन्द्रवंशी टापु क्षेत्रमा बसोबास गर्न थालेको ४० वर्ष भयो। चार दशकदेखि टापु क्षेत्रमा बाढी र वन्यजन्तुको त्रासकाबीच बस्नुपरेको उनले बताए। उनले भने, 'आम्दानीको श्रोत धेरै छैन, गाँउ छाडेर बाहिर जान सकिएन।’ बलौटे जमिनमा दु:ख गरेर खेती लगाए पनि वन्यजन्तुले खाइदिने गरेको उनले गुनासो गरे। वन्यजन्तु नियन्त्रणका लागि पटक–पटक सम्बन्धित निकायमा भने पनि सुनुवाई नभएको उनले बताए। जंगली हात्तीको आक्रमबाट नै पछिल्लो २–३ वर्ष भित्रमा पाँच जनाको मृत्यु भएको चन्द्रवंशीले बताए।
श्रीलंका टापुवासीलाई शिक्षा र स्वास्थ्यको पनि उत्तिकै समस्या छ। आधारभूत तहका दुई विद्यालय र एक निजी विद्यालय टापु क्षेत्रमा छ। कक्षा ८ भन्दा माथिल्लो कक्षाका लागि उदयपुर नभए चक्रघट्टीमै बसेर पढ्नु पर्ने बाध्यता रहेको जनता आधारभुत विद्यालयका कर्मचारी सन्तोषकुमार चन्द्रवंशीले बताए। उदयपुरमा पढ्न चाहनेहरुले पनि वर्षाका समयमा विद्यालय जान नसक्ने उनले बताए। उनका अनुसार बाढी र डुबानका कारण तीन महिना विद्यालय जान सक्ने अवस्था हुँदैन। चक्रघट्टी गएर पढ्नका लागि डेरा गरेर बस्ने अवस्था नभएको चन्द्रवंशीको भनाई छ। कक्षा ८ पुरा गरेपछि धेरैजसो विद्यार्थीले अध्ययनलाई टुङ्ग्याउनुपर्ने अवस्था रहेको उनले सुनाए। टापु क्षेत्रमा मावि तहको पठन पाठनका लागि पहल भएपनि कुनैप्रगति नभएको चन्द्रवंशीको भनाई छ।
निर्वाचनका समयमा नेताहरु आउने गरे पनि त्यसपछि खासै मुख देख्न नपाएको स्थानीय मुन्ना साहले बताए। चुनावको बेला श्रीलंका टापुबासीलाई सम्झिए पनि पछि गाउँ नआउने गरेको उनले बताए।
श्रीलंका टापुबासीले स्वास्थ्य सेवा सहजै पाउने अवस्था नभएको सामुदायिक स्वास्थ्य इकाईका इन्चार्ज पाण्डव चन्द्रवंशीले बताए। टापु क्षेत्रमा सामान्य बाहेकको उपचारका लागि उदयपुर नभए चक्रघट्टी नै पुग्नुपर्ने अवस्था रहेको उनले बताए। हिउँदको समयमा गाडी, मोटरसाईकल चल्ने भएपनि बर्षायाममा विरामीलाई अस्पताल सम्म पुर्याउन मुस्किल हुने उनले बताए। उनले भने, 'एम्बुलेन्स चल्दैन, नाउबाट वारिपारि गर्दा एक दिन नै लाग्छ।’
आपतकालिन अवस्थाका बिरामीलाई बचाउनै समस्या हुने गरेको उनको भनाई छ। बिस सेवन गरेका, सर्पले डसेका व्यक्तिहरु अस्पताल नपुगी घरमै मृत्यु हुने अवस्था रहेको चन्द्रवंशीले बताए। उनले पछिल्लो पाँच वर्षमा गर्भवती, बिस सेवन गरेका र सर्पले डसेका ५ जनाको मृत्यु भएको बताए। बालबालिकालाई दिनुपर्ने नियमित खोप सञ्चालनमा पनि समस्या हुने गरेको उनले बताए। चन्द्रवंशीले भने,‘ स्वास्थ्य एकाईमा फ्रिज छैन, खोप भण्डारण गर्न नै सकिँदैन।’
सप्तकोशी नदीले २०२२ देखि २०४२ सम्मको बाढीले कटान गरेर साबिक महेन्द्रनगर र प्रकाशपुर गाविसको केही भूभागलाई सप्तकोशी पारि बनाइ दियो। राज्यको पुनर्संरचना गर्ने क्रममा महेन्द्रनगर र प्रकाशपुरलाई गाभेर बराह क्षेत्र नगरपालिका बनाइयो। १५ सय घर परिवार रहेको श्रीलंका टापुमा अहिले बराहक्षेत्रका ६ र ९ नम्वर वडाको केही क्षेत्र पर्दछ। दुबै वडालाई गाभेर एउटा वडा बनाउने नगरको अवधारणा रहेको नगर प्रमुख निलम खनालले बताए।
आगामी नगर परिषद्को बैठकमा यसबारे निर्णय लिईने खनालले बताए। सामान्य कागजात बनाउनका लागि एकदिन लगाएर आउनुपर्ने बाध्यतालाई मध्यनजर गरि टापु क्षेत्रमै वडा कार्यालय राख्ने योजना रहेको खनालको भनाई छ।